
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमातहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेस गर्न निर्देशन दिएकी छिन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष ०७९ र ८० को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन निर्देशन दिएकी हुन्।
हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आमसञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी छ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय छन्।
आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रूपमा पेस गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘मेरो कार्यसम्पादन भनेकै तपाईंहरूका क्षेत्र र निकायहरूबाट हुने हो, त्यसैले मन्त्रालयमातहतका सबै क्षेत्र र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेस गर्न आग्रह गर्दछु।’
गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत पुग्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री शर्माले आफैँले बनाएका योजनाहरू किन कार्यान्वयन हुँदैनन् भन्दै प्रश्न गरिन्। मन्त्री शर्माले हरेक निकायले आफूले गरेका कामलाई दस्ताबेजीकरण पनि निर्देशनसमेत दिइन्।