लमजुङमा एक वर्षमा १४ वटा जबर्जस्ती करणीसम्बन्धी घटना दर्ता भए भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा जबर्जस्ती करणीसम्बन्धी सातवटा र जबर्जस्ती करणीसम्बन्धी अन्य सातवटा मुद्दा दर्ता भएका हुन् । सोबाहेक जिल्लामा चारवटा मुद्दा बाल यौन दुर्व्यवहारसम्बन्धी छन् ।
जिल्लामा आर्थिक वर्ष ०७८/७९ को एक वर्षको अवधिमा २० वटा जबर्जस्ती करणी र तीनवटा जबर्जस्ती करणी उद्योगसम्बन्धी घटना भएका थिए । आर्थिक वर्ष ०७७/७८ मा जबर्जस्ती करणीसम्बन्धी १६ वटा र जबर्जस्ती करणी उद्योगसम्बन्धी चारवटा मुद्दा परेका थिए ।
लमजुङ प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा १० वटा जबर्जस्ती करणीका घटना दर्ता भएका थिए भने नौवटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा भएका जबर्जस्ती करणीका घटनामा अधिकांश पीडित २० वर्षभन्दा कम उमेर समूहका बालिका रहेका छन् ।
बढ्दो बेरोजगार, छाडा संस्कृति, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना बढ्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ ।