मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Thursday, 19 December, 2024
२o८o श्रावण २६ शुक्रबार १o:३१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु परिवर्तन : एक लाख वर्षयताकै उच्च गर्मी

पृथ्वीको दक्षिणी ध्रुवमाथि ओजन तहमा प्रत्येक वर्ष बढिरहेको छिद्र अन्टार्कटिकाभन्दा पनि ठूलो आकारको छ, यसको असर विश्वको तापक्रममा पर्ने देखिन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार १o:३१:oo

३ जुलाई २०२३ मा विश्वको औसत तापक्रम १६.९ डिग्री सेल्सियस थियो । यो अहिलेसम्मकै गर्मी दिन थियो । जुलाई ३ पछि लगातार तीन दिनसम्म यो रेकर्ड भंग हुँदै गयो । जुलाई ६ मा विश्वको औसत तापक्रम १७.०८ डिग्री सेल्सियस रहेको बताइयो । जुलाई ६ तारिखको दिन अहिलेसम्मकै गर्मी बन्यो । वैज्ञानिकले जुलाईलाई पछिल्लो एक लाख २० हजार वर्षकै सर्वाधिक गर्मी महिना भएको बताएका छन् । 

औसत तापक्रम के हो ? :  एउटै समयमा विश्वको कुनै ठाउँमा गर्मी त कुनै ठाउँमा निकै चिसो हुन्छ । यस्तो वेला विश्वको तापक्रमको औसत नै त्यतिवेलाको औसत तापक्रम हुन्छ । जुलाई महिनामा सामान्यतया विश्वको औसत तापक्रम १६ डिग्री सेल्सियस हुन्छ । 

यो वर्ष जुलाईका सुरुवाती २३ दिनमा औसत तापक्रम १६.९५ डिग्री सेल्सियस रह्यो, जुन गत वर्षको जुलाईभन्दा करिब १.१५ डिग्री सेल्सियस धेरै हो । यसरी बढ्दो तापक्रमको सबभन्दा बढी असर अमेरिका, युरोप, चीन र अफ्रिकामा देखिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनले बढ्दो तापक्रम मानव अस्तित्वमाथि खतरा रहेको बताएका छन् । उनले गर्मीबाट प्रभावित फिनिक्स एरिजोन, सन एन्टोनियो र टेक्सासका मेयरहरूसँग भर्चुअल संवाद गर्दै आपत्कालीन बैठकसमेत गरेका थिए । यसैगरी, चीनको राजधानी बेइजिङमा लगातार चार हप्तासम्म तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । यस्तो समयमा वृद्धवृद्धालाई घरभित्रै बस्न र बच्चासँग बाहिर नखेल्न भनिएको छ ।भूमध्यसागरीय क्षेत्रका कैयौँ देश जस्तै, अल्बानिया, अल्जेरिया, अन्डोरालगायतका जंगलमा भीषण आगलागी भएको छ । उक्त आगलागी नियन्त्रणमा लिन निकै संघर्ष गर्नुपरेको स्थिति छ ।

जलवायु परिवर्तनका प्रभाव :  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका अनुसार अहिले विश्वमा गर्मी बढेको मात्रै छैन, बरु उम्लिरहेको छ । विश्वको तापक्रम पछिल्लो डेढ सय वर्षमा १ डिग्री सेल्सियस बढेको छ । तर, यो शताब्दीको अन्त्यसम्म ३ देखि ५ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ । त्यसमाथि पृथ्वीको दक्षिणी ध्रुवमाथि ओजन तहमा प्रत्येक वर्ष बढिरहेको छिद्र अन्टार्कटिकाभन्दा पनि ठूलो आकारको बनेको छ । यसको असर विश्वको तापक्रममा पर्ने देखिन्छ ।युरोपको क्लाइमेट चेन्ज सर्भिसका निर्देशकको भनाइ छ– जलवायु परिवर्तनका कारण विश्वभरि सन् १८०० पछि १.२ डिग्री सेल्सियससम्म औसत तापक्रम बढेको छ । यसले गर्दा मौसमको प्याटर्न परिवर्तन भइरहेको छ । 

अलनिनो इफेक्टले तातेको पृथ्वी :  जुन ८ तारिखमा भारतको केरलामा पहिलो मनसुनी वर्षा भयो । सोही दिन अमेरिकी एजेन्सी नेसनल ओसनिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)ले प्रशान्त महासागरमा अलनिनो आएको जानकारी दियो । यो एउटा प्राकृतिक रूपमा उत्पन्न हुने जलवायु प्याटर्न हो, जो मध्य र पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम बढ्दा हुन्छ । जब अलनिनो आउँछ, भारतसहित एसियाका कैयौँ देशमा मनसुन कमजोर हुन्छ र पृथ्वीमा गर्मी हुन्छ । यसैगरी, समुद्री तापक्रम पनि बढ्छ । यसरी पृथ्वी र समुद्री तापक्रम बढ्दा विश्वको औसत तापक्रमसमेत बढ्न जान्छ ।

धुलो र सल्फरको समुद्री पानीमा असर : समुद्री पानी तात्नुमा पृथ्वीको गर्मी मुख्य कारण हो । समुद्री सतहमा धुलो र जहाजको इन्धनबाट निस्कने सल्फर जम्दा पानी कम तातो हुन्छ । जसले गर्दा गर्मी महिनाको सूर्यको किरण प्रतिबिम्बित हुन्छ । अमेरिकी तापक्रम निरीक्षण विभागका वैज्ञानिक रोबर्ट रोहडेका अनुसार अमेरिका र दक्षिणी युरोपमा यसपालि पातलो हावाका कारण सहारा मरुभूमिबाट धुलो कम आयो । यही कारण समुद्र गत वर्षको भन्दा बढी तातो हुन पुग्यो । यसैकारण सन् २०२० मा सामुद्रिक जहाजमा कैयौँ प्रकारका प्रतिबन्ध लगाइएको थियो । यसको उद्देश्य विषालु सल्फरबाट समुद्री पानीलाई बचाउनु थियो । यद्यपि, सल्फरको कमीले सूर्यको किरण प्रतिबिम्बित भएर फर्किन सकेन । जसले गर्दा समुद्री पानीसँगसँगै विश्वकै तापक्रम वृद्धि भयो । 

एन्टिसाइक्लोन पनि कारक :  अमेरिकास्थित क्लाइमेट साइन्स युनिभर्सिटीका प्रोफेसर रिचर्ड एलनका अनुसार यो वर्ष समुद्री पानी अत्यधिक तातिएको छ, जसले गर्दा मौसमको प्याटर्नमा परिवर्तन देखिएको छ । विश्वका कैयौँ स्थानमा खडेरी र ‘हिट–वेब’को स्थिति बनेको छ । तातो हावाले चिसो हावालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि गर्मी बढेको बताइन्छ ।

गत वर्ष समुद्रको जलस्तरमा ०.२७ सेन्टिमिटर वृद्धि भयो । सन् १९९३ पछि अहिलेसम्म ९.१ सेन्टिमिटर वृद्धि भइसकेको छ । आर्कटिक र अन्टार्कटिकामा बर्फ पग्ली नै रहेको छ । सन् १९९१ देखि २०२० बीच अन्टार्कटिका द्विपमा झन्डै ६ लाख ६० हजार माइल बर्फ पग्लिसकेको छ । 

सन् २०२२ मा लगातार छैटौँपटक समुद्र अत्यधिक तात्यो । सन् १७५० पछि पहिलोपटक समुद्रमा अत्यधिक एसिडको मात्रा भेटियो । यस बखत समुद्रमा २६ प्रतिशत एसिडको मात्रा बढेको बताइन्छ । यसरी बढ्दो एसिडले जलमा आश्रित जीवन र तिनीहरूको जीवनचक्र खतरामा पर्नेछ । पछिल्ला केही वर्षमा गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुँदै जान थालेको छ । पूरै युरोप र एसियामा उच्च तापक्रमको लहर चलेको छ । कैयौँ देश खडेरीको चपेटामा आएका छन् भने पाकिस्तान, दक्षिण अफ्रिकालगायतका देशमा बाढीले आतंक फैलाएको छ । 

सन् २०२१/०२२ को तुलनामा यो वर्ष हैजा र पहेँलो ज्वरोका बिरामी पनि बढेका छन् । अफ्रिका र एसियाका केही भागमा चरम मौसम, खडेरी र बाढीले बालीनाली नष्ट भएको छ । यसले महँगीसमेत बढाउने निश्चित छ । मौसमविद् कास्र्टन हाउस्टिनका अनुसार अलनिनो बलियो हुँदै जाँदा विश्वमा गर्मी झनै बढ्दै जानेछ । यो जुलाई महिना एक लाख २० हजार वर्षकै सबैभन्दा गर्मी महिना भएको छ ।