१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:११:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कैलालीका ८ सय ९९ बाढीपीडित परिवारको सडकमा वास

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:११:oo

बाढीबाट कैलालीको भजनी नगरपालिकाका आठ सय ९९ परिवार विस्थापित भएका छन् । तीन दिनदेखिको वर्षाले कान्द्रा, काँढा, पथरैया र मोहना नदीमा आएको बाढीले दुई हजार तीन सय ६७ परिवार प्रभावित हुँदा आठ सय ९९ परिवार विस्थापित भएर हुलाकी राजमार्ग, विद्यालय र सेफ हाउसमा पुगेका छन् । 

भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीका अनुसार दुई हजार चार सय स्थानीय विस्थापित भएका हुन् । वडा नम्बर ५ का १५ घर बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको भजनी नगरपालिकाले जनाएको छ । 

‘प्रभावित र विस्थापितको संख्या ठूलो छ, सबै बस्तीमा पुग्न सकिने अवस्था छैन,’ प्रवक्ता चौधरीले भने, ‘बाढीले अरू वडा पनि प्रभावित छन् । तर ३ र ८ का सबैजसो बस्ती डुबानमा परेका छन् ।’

सोनाफाँटा, काँढाढिक, कृष्णनगर र जनकपुर वडा नम्बर ८ का पाँच सय ९०, धुसी, बर्दवाफाँटा, धुसी, नयाँबस्ती र पडरिया वडा नम्बर ३ का तीन सय ८०, लाबोझी वडा नम्बर ५ का २५, वडा नम्बर २ का तीन र वडा नम्बर ६ का एक परिवार विस्थापित भएका छन् । वडा नम्बर ८ सोनाफाँटाका वडासदस्यसमेत रहेका लाल्तु डगौरा तीनजनाको परिवारसहित बुधबार बिहानदेखि हुलाकी सडकमा त्रिपाल टाँगेर बसेका छन् । पथरैया नदीको बाढी घरभित्र पसेपछि सडकमा पुगेका डगौराले भने, ‘घरभित्र घुँडासम्म पानी छ, अन्नपात पनि भिज्यो, ज्यान जोगाउन सडकमा आएका हौँ ।’

सोनाफाँटाकै दरबारीलाल चौधरी पनि चारजनाको परिवार र वस्तुभाउसहित हुलाकी सडकमा त्रिपाल टाँगेर बसेका छन् । पथरैया नदीको बाढीले बुधबार बिहानैबाट घर डुबानमा परेको उनले बताए । डगौरा र चौधरीजस्तै बाढीले घर डुबानमा परेपछि सोनाफाँटाका मात्र ६०–७० परिवार विस्थापित भएर हुलाकी सडक, विद्यालय र पथरैया सिँचाइको ड्याममा बसेका छन् ।

भजनी– ८ खैराका ६ परिवार विस्थापित भएर भजनी–जोशीपुर सडकखण्डमा बसिरहेका वडासदस्य कृष्णकुमारी चौधरीले बताइन् । त्यस्तै, वडा नम्बर २ पल्टुपुरका ६ परिवार स्थानीय राष्ट्रिय माविमा आश्रय लिएर बसेका वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए । काँडा नदीको बाढी पसेपछि पल्टुपुर गाउँ डुबानमा परेको हो । ‘बाढी बढ्दै गए पूरै गाउँ विस्थापित हुने जोखिम छ,’ उनले भने ।

दैलेखी टोलबाट पथरैया नदीको बाढी बस्ती बसेपछि कालिका टोल पनि डुबानमा परेको स्थानीय मीनबहादुर थापाले बताए । विस्थापित केही परिवार गाउँमा डुबान नभएको घरमा आश्रय लिएर बसेका र केही सडकमा गएका उनले बताए । 

सशस्त्र प्रहरीले साढे दुई सय परिवारको उद्धार गर्‍यो 
सशस्त्र प्रहरीले सोनाफाँटा, पडरिया, धुसी, जनकपुरलगायत बस्तीका साढे दुई सय परिवारलाई ढुंगाको सहायताले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । त्यसमध्ये कान्द्रा नदीको बाढी गाउँ पसेपछि विस्थापित पडरियाका ७० परिवार छन् ।

सशस्त्र प्रहरीको गुलरियाघाट बिओपीका असइ पुस्कर जोशीका अनुसार विस्थापित हुनेमा धेरैजसो बालबालिका, वृद्धवृद्धा, गर्भवती र अशक्त छन् । ‘बाढीले गाउँ डुबानमा परेपछि कतिपय आफैँ सडकमा गए, केहीलाई हामीले डुंगाबाट हुलाकी सडकमा पुर्‍यायौँ,’ जोशीले भने । सशस्त्र प्रहरीले बाढीपीडितको उद्धारका लागि चारवटा डुंगा चलाएको छ । 

तर, प्रशासन भन्छ– दुई सय परिवार विस्थापित
स्थानीय प्रशासनले भने बाढीबाट भजनीका साढे दुई सय परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक दिएको छ । बाढी प्रभावित क्षेत्रको निरीक्षणसमेत गरेका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नगरपालिकासँग विस्थापितको यकिन विवरण माग गरिएको र करिब दुई सय परिवारले घर छोडेको बताए । 

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताए । बाढीबाट भजनीबाहेक टीकापुर नगरपालिकामा एक सय ६१ परिवार, जानकी गाउँपालिकामा साढे दुई सय परिवार, जोशीपुर गाउँपालिकामा एक सय ८० परिवार र कैलारी गाउँपालिकामा एक सय ५५ परिवार प्रभावित भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

तस्बिर साैजन्य : खेम पाण्डे

ad
ad