१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काकाकुल नरैनापुर : न धान रोपाइँ न पिउने पानी

खडेरीले रोपेको धान खेत चिरा पर्न थाल्याे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:५o:oo

बर्खा सकिनै लाग्दासमेत पानी नपरेपछि तराई क्षेत्रका अधिकांश स्थानमा किसानले धान रोप्न पाएका छैनन्। बाँकेको नरैनापुर गाउँपालिकामा बोरिङको सहायताले थोरै धान रोपाइँ भए पनि अधिकांश खेत बाँझै छन्।

बोरिङ सञ्चालनमा आएपछि चापाकलहरू सुकेको नरैनापुर– ४ दौलतपुरका रामनिवास बाहुनले बताए। चापाकल सुकेकाले पिउने पानीसमेत नपाएको उनले गुनासो गरे। ‘चापाकलबाट पानी नै आउँदैन। लुगा धुन र नुहाउनका लागि त परको कुरा, धित मरुन्जेल पिउनसमेत पाइँदैन,’ उनले भने।

सिँचाइका लागि जडान भएका डिप बोरिङले पनि पानी नदिएको बताए। लामो खडेरीले जताततैको चापाकल र बोरिङ सुकेका छन्। वडाका अधिकांश चापाकल सुकेको नरैनापुर गाउँपालिका वडा नंं. ४ का सचिव जयप्रकाश पाठकले बताए। ‘पानी नपाएर अधिकांश किसानले धान रोप्न पाएका छैनन्। बोरिङको सहायतामा रोपेको धान पनि पानी नपाएर सुक्न थालेका छन्,’ उनले भने, ‘चापाकल सुकेपछि वडामा पिउने पानीको पनि हाहाकार छ।’

पानी नपरेका कारण विगत एक महिनादेखि चापाकलमा पानी नआएको नरैनापुर– ४ खोदवाका छविलाल यादवले बताए। उनले बोरिङ सञ्चालनमा आएपछि चापाकल सुकेको बताए। ‘धान रोप्ने पानीको समस्या त छँदै छ, पिउने पानीको समेत हाहाकार छ,’ उनले भने, ‘पिउने पानीको समस्या भएको ठाउँमा धान रोपाइँ हुने कुरै भएन। गत वर्षजस्तै यस वर्ष पनि धान रोपाइँ हुने छाँट छैन।’

पानी नपरेका कारण यस वर्ष आधी क्षेत्रमा मात्रै धान रोपाइँ भएको नरैनापुर– ५ सर्वराजपुरका सहजराम चौहानले बताए। उनले लामो खडेरीले सिँचाइका लागि गाडिएका बोरिङ सुकेको बताए। ‘चापाकल र बोरिङबाट अलिअलि पानी आउँछ। लामो खडेरीले जमिन पूरै सुकेको छ। सानो पानीले जमिन भिज्न समय लाग्छ,’ उनले भने, ‘एकजनाले धान रोप्ने, अर्कोले नरोप्ने, त्यो पनि मिल्दैन। यस वर्ष पनि धान रोपाइँ हुन्न जस्तो छ।’

धान रोपाइँ नभएपछि बिउ राखेका ब्याड पनि सुकेका छन्। कतिपय किसानले धाने रोप्ने माया मारिसकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरका रामगोपाल तमौलीले बताए। ब्याड घामले सुकेकाले रोपाइँ गर्न सम्भव नभएको उनको भनाइ छ। ‘ब्याड सुकिसक्यो। धान रोप्ने समय घर्की सक्यो। अव धान रोप्नुको कुनै अर्थ छैन,’ उनले भने।

नरैनापुरमा अहिलेसम्म ३० प्रतिशत धान रोपाइँ भएको कृषि शाखा प्रमुख सदन भण्डारीले बताए। सिँचाइ सुविधा नभएकाले किसानले धान रोपाइँ गर्न नसकेका उनले बताए। नरैनापुर गाउँपालिका वडा नं. ५ को मटेहिया र वडा नं. ६ गंगापुरको राप्ती नदी आसपासका किसानले धान रोपाइँ गरे पनि अन्य वडामा धान रोपाइँ हुन नसकेको उनले बताए। ‘पानी नपाउँदा ब्याड सुक्न थालेका छन्। रोपेको धान खेत पनि चिरा परेका छन्,’ उनले भने।

उनका अनुसार सिँचाइका लागि डिप बोरिङ गाडे पनि तीसमेत सुकेका छन्। ‘गत वर्षको खडेरीपछि सिँचाइका लागि डिप बोरिङ गाडेका थियौँ, तर ती बोरिङले पनि पानी दिएका छैनन्,’ भण्डारीले भने।

उनले यसवर्ष पनि नरैनापुरमा धान उत्पादन घट्ने बताए। ‘अहिलेसम्म ९० प्रतिशत धान रोपाइँ हुनुपर्ने हो, तर अहिलेसम्मा जम्मा ३० प्रतिशत मात्र भएको छ। यसले धान उत्पादन घट्ने निश्चित छ,’ उनले भने।

ad
ad