वडाध्यक्षकै अगाडि पोलमा बाँधेर कुटपिट

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण
वडाध्यक्षकै अगाडि पोलमा बाँधेर कुटपिट

प्रिन्सलाई पोलमा बाँधेर पिट्दै गर्दा हेरिरहेका वडाध्यक्ष अब्दुल ताहिर (रातो घेरामा)

रौतहट सदरमुकाम गौरमा एक युवकलाई जनप्रतिनिधिकै उपस्थितिमा बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । गौर नगरपालिका– ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई आइतबार अपराह्न ४ बजेतिर केही स्थानीयले कुटपिट गरेको भिडियो ‘भाइरल’ बनेको छ । जसमा गौर– ३ का वडाध्यक्ष अब्दुल ताहिर रमिते बनेका देखिन्छन् । 

प्रिन्सका दाजु अलियास अन्सारीका अनुसार आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ देखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको थियो । उनीहरूले प्रिन्सलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटपिट गरेको उनले बताए । ‘भाइलाई बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही हुनुपर्छ,’ अलियासले भने । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार कुटपिटको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिइएको छ । ‘पीडितको घाउ जाँच प्रक्रिया अघि बढाइसकेका छौँ,’ घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

स्थानीयका अनुसार गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा गाउँका स्थानीय सोनु अन्सारीसँग प्रिन्सको विवाद भएको थियो । घटना भएको दिन आफूहरू सबै परिवार वीरगन्ज गएको मौका छोपेर उनीहरूले भाइलाई कुटपिट गरेको अलियासले बताए । प्रिन्सको आइतबार गौर अस्पतालमा उपचार भएको छ । घटनाबारे वडाध्यक्ष ताहिरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो ।

प्रिन्सका दाजु अलियास अन्सारी भन्छन्–भाइलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटे
आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ बजेदेखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर भाइलाई निर्घात कुटपिट गरेछन् । ती व्यक्तिले भाइलाई कुटेको भिडियो नै सार्वजनिक भइसकेको छ, संलग्नहरू स्पष्टै देखिसकेका छन् । उनीहरूले भाइलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्ती प्रहार गरेका छन् । निर्घात कुटपिट भइरहँदा वडाध्यक्ष अगाडि बसेर हेरिरहेका छन् । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गर्छु ।

See More On

सुझावित समाचार