Skip This
नेपाल-भारत सीमा, ‘द्वन्द्वकाल’काे झल्को
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण १५ सोमबार १५:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल-भारत सीमा, ‘द्वन्द्वकाल’काे झल्को

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १५:५१:oo

नेपालगन्ज उपमहानगरपालिका– ९ बाँके गाउँका रामनरेश कुर्मी १० साउन, ०८० को दिउँसो आमाको उपचारका लागि लखनउ जाँदै थिए। 

उनलाई लखनउ पुग्न हतार थियो। उपचार गर्दै आएका चिकित्सकले दिएको समयमा आमालाई पुर्‍याउनुपर्ने थियो उनलाई। तर, उनलाई भारत छिर्न सजिलो थिएन। 

नेपाल–भारत सीमा रुपैडिहास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेक प्वाइन्टमा सर्वसाधारणको लामो लाइन थियो। उनी लामो लाइन छिचोल्दै चेकजाँच गरिरहेका एसएसबी जवानसमक्ष पुगे। एसएसबीले परिचयपत्र मागे। तर, उनीसँग परिचयपत्र थिएन । परिचयपत्र नभएकै कारण उनी फर्किन बाध्य भए। 

यसरी फर्काइएका कुर्मी एक्ला होइनन्। उनीजस्ता धेरै सर्वसाधारण नेपाल–भारत सीमानाका रुपैडिहाबाट फर्काइन्छन्। ‘परिचयपत्र अनिवार्य चाहिन्छ भन्ने थाहा भएन। परिचयपत्र नभएकै कारण भारत प्रवेश गर्न दिइएन,’ उनले नयाँ पत्रिकासँग भने। 

पाकिस्तानी नागरिक नेपाल हुँदै भारत छिरेको सूचनाको आधारमा भारतले नेपाल–भारत सीमानाकामा कडाइ गरेको छ। किनमेल, औषधाेपचार र इष्टमित्र भेटघाटका लागि भारत जाने व्यक्तिको परिचय खुल्ने कागजात हेरेर मात्र जान दिइन्छ। ‘अवैध व्यक्तिको घुसपैठ हुन नदिन नाकामा कडाइ गरेको छ। परिचय खुल्ने कागजात भएका व्यक्तिलाई मात्र भारत प्रवेश गर्न दिइएको छ,’ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले भने।

उनले कागजातकै कारण उपचारबाट वञ्चित भएकालाई प्रहरीले समन्वय गरेर पठाउने गरेको बताए । ‘आफ्नो देशमा जान दिने–नदिने सम्बन्धित देशको अधिकार हो। परिचयपत्रकै कारण कुनै व्यक्ति उपचारबाट वञ्चित हुने अवस्था सिर्जना भयो भने भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर जाने व्यवस्था मिलाउँछौँ,’ उनले भने।

भारतीय सीमा सुरक्षा बलले किनमेल र उपचारका लागि भारत जाने व्यक्तिको शरीरसमेत चेकजाँच गर्दै आएको छ। 

‘झोला खोलेर हेर्ने त सामान्य भइहाल्यो। यस्तो कार्य हाम्रो देशका सुरक्षाकर्मीले पनि गर्छन् र गर्नु पनि पर्छ, तर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शरीरसमेत छामछुम पार्छन्। केरकार पारेर मात्र प्रवेश गर्न दिन्छन्,’ राप्तीसोनारी गाउँपालिका– ६ मोहनपुरका हिमाल चौधरीले भने। 

परिचयपत्र हेर्ने र शरीर चेकजाँच गरेर मात्र प्रवेश गर्न दिएपछि एसएसबी चेक प्वाइन्टमा सर्वसाधारणको लामो लाइन लाग्ने गरेको छ। यसले नेपालमा माओवादी द्वन्द्वकालकाे झल्को दिने गरेको नेपालगन्ज उपमहानगरपालिका- २० का श्यामकृष्ण यादवले बताए।

एसएसबीले मोटरसाइकलपछाडि बसेका व्यक्तिलाई ओरालेर पैदल हिँड्न लगाउने  गरेको बताउँदै उनले गालीगलौजसमेत गर्ने गरेको बताए।

‘साइकल, मोटरसाइकल र पैदलयात्रीको लाइन फरक–फरक हुन्छ। छिस्स यताउति गर्नेबित्तिकै हप्कीदप्की खानुपर्छ,’ उनले भने, ‘माओवादी द्वन्द्वका वेला चेक प्वाइन्टमा खटिएका सुरक्षाकर्मीले भन्दा बढ्ता चेकजाँच गरेर मात्र जान दिन्छन्। यसले द्वन्द्वकालकाे झल्को दिन्छ।’