
पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेलसहित कार्यकर्तालाई कारबाही गरिएको छ।
सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि माेसाे दलेर दुर्व्यवहार गरेको आरोपमा नेविसंघ केन्द्रीय समितिले मोरङ अध्यक्ष सरोज पोखरेलसहित केही कार्यकर्तालाई कारबाही गरेको हो।
गत जेठ अन्तिम साता नेविसंघ मोरङ अध्यक्ष पोखरेलको नेतृत्वमा गएको विद्यार्थीको समूहले आफूहरूले सुधारका लागि अगाडि सारेका मागहरू पूरा गर्न बेवास्ता गरेको भन्दै अध्यक्ष दाहालको क्वार्टरमै गएर अनुहारमा मोसो छर्केर दुर्व्यवहार गरेका थिए।
उक्त घटनाको तत्कालै नेविसंघ केन्द्रीय समितिले भर्त्सना गर्दै घटनाको छानबिन गरेको थियो। छानबिन समितिको प्रतिवेदनपछि मोरङ अध्यक्ष पोखरेलसहित मोसो दल्न गएका कार्यकतालाई नेविसंघ केन्द्रीय समितिले कारबाही गरेको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।
१५ साउनमा विज्ञप्ति जारी गर्दै केन्द्रीय अध्यक्ष शेर्पाले मागहरू जायज भए पनि मोसो दल्नु नेविसंघको आदर्श र मूल्यमान्यताविपरीत भएकाले घटनामा संलग्नहरूलाई क्षमा दिन नसकिने बताए।
केन्द्रीय अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत भनेका छन्, ‘छानबिनपछि स्पष्टीकरणको मौका दिएर घटनामा संलग्न रहेका केहीलाई निलम्बन गरिएको छ। केहीलाई नसिहत दिइएको छ। संघको नाममा विधि र पद्धतिविपरीत कार्य गर्ने छुट कसैलाई छैन।’
कांग्रेसको पछिल्लो समय काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले मोसो दल्ने, तालाबन्दीलगायतका अराजक कार्य गर्ने जोकोहीलाई पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो।