१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Friday, 09 May, 2025
नवराज पनेरू डडेल्धुरा
२o८o श्रावण १४ आइतबार o६:१६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ तर, एकजना पनि छैनन् विशेषज्ञ

Read Time : > 2 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार o६:१६:oo

उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष भयो, तर उपक्षेत्रीय अस्पताल छँदाको दरबन्दी पनि झन्डै आधा खाली

सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा रहेको भनिएको एक मात्र अस्पताल हो, डडेल्धुरा अस्पताल । तर, २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको यो अस्पतालमा विशेषज्ञ चिकित्सक भने एकजना पनि छैनन् । 

संघीय सरकारमातहत सञ्चालनमा रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ५ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरेको थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो अस्पतालमा स्तरोन्नति गरिएको थियो । तर, अहिले सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता छ । 

अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त भन्छन्–
उतिवेला उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि नै १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । तर, त्यसवेला स्वीकृत दरबन्दीअनुसार पनि एकजना ११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेका छन् । दरबन्दीमा नवौँ र १०औँ तहका एकजना पनि चिकित्सक कार्यरत छैनन् ।

‘छोरीलाई ज्वरो आएपछि डडेल्धुरा अस्पताल लगेकी थिएँ, तर त्यहाँका स्वास्थ्यकर्मीले ज्वरोसमेत निको पार्न सकेनन् । अन्ततः धनगढी रेफर गरिदिए,’ डडेल्धुरा अमरगढीकी निर्मला जोशीले भनिन् । 

उस्तै पीडा छ, बैतडीका रमेश चन्दको । ‘श्रीमतीलाई प्रसूति सेवाका लागि डडेल्धुरा अस्पताल पुर्‍याएँ, तर अस्पतालमा न प्रसूति रोग विशेषज्ञ रहेछन्, न बालरोग विशेषज्ञ नै । जोखिमपूर्ण अवस्था देखेपछि धनगढी लगेँ,’ उनले भने । 

विशिष्ट विशेषज्ञ अस्पताल पाँच सय शय्याको हुनुपर्छ । तर, यो अस्पतालमा एक सय शय्या पनि मुस्किलले सञ्चालन भइरहेको छ । प्रदेशको सबैभन्दा ठूलो अस्पताल भए पनि धनगढी प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको बताउँछन्, अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त । उनका अनुसार विशिष्ट विशेषज्ञ अस्पतालको हैसियत पाउँदा पनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालअनुसार पनि छैन । 

‘उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । त्यसअनुसार पनि एकजना ११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेका छन् । दरबन्दीमा नवौँ र १०औँ तहका एकजना पनि चिकित्सक कार्यरत छैनन्,’ सूचना अधिकारी पन्तले भने । १०९ मध्ये ४७ पद रिक्त छन् । 

अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टले स्वीकृत दरबन्दीअनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘सुरुमा यहाँ चिकित्सक ल्याउनै मुस्किल छ, ल्याइसकेपछि टिकाउन झन् समस्या छ,’ उनले भने, ‘सेवा प्रभावकारी बनाउन सबैभन्दा पहिले प्रत्येक विभागमा तीन चिकित्सक आवश्यक पर्छन्, तर एकजना चिकित्सक टिकाउन पनि मुस्किल छ ।’ 

१५ कार्यालय सहयोगीको दरबन्दीमा भने ४२ कार्यरत
एकजना पनि विशेषज्ञ चिकित्सक नभएको अस्पताल तल्ला तहका कर्मचारीको भने भर्तीकेन्द्र बनेको छ । अस्पतालमा कार्यालय सहयोगीको स्वीकृत दरबन्दी १५ जनाको छ । तर, ४२ जना कार्यालय सहयोगी कार्यरत छन् । ३३ जना करार, सातजना विकास समिति, एकजना ज्यालादारी र एकजना स्थायी गरी ४२ जना कार्यालय सहयोगी कार्यरत रहेको अस्पताल प्रशासनले जनायो । ‘एकजना पनि विशेषज्ञ चिकित्सक ल्याउन नसक्ने अस्पतालले १५ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालय सहयोगीमा ४२ जनालाई भर्ना गरेको छ,’ डडेल्धुराका नागरिक अगुवा टंक अवस्थीले भने, ‘दलका कार्यकर्ता धमाधम भर्ना गरिएका छन् ।’

पाँच सय शय्याका लागि प्रस्ताव 
०१८ देखि विभिन्न नामले सेवा प्रवाह गर्दै आएको डडेल्धुरा अस्पताल अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट सुरुवात गरेका थिए । सो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । ०४५ मा टिम अस्पतालका नाममा २५ शय्यामार्फत स्वास्थ्य सेवा प्रवाह भयो । ०५१ मा ५० शय्यामा स्तरोन्नति भयो । ०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएकोमा ५ फागुन ०७५ मा विशिष्ट विशेषज्ञ सेवासहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो । 

अस्पतालले ओ एन्ड एम सर्भे गर्दै पाँच सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको छ । ‘हामीले ओ एन्ड एम सर्भे गरेर स्वास्थ्य मन्त्रालयलाई पठाएका थियौँ,’ अस्पतालका निमित्त मेसु डा. भट्टले भने, ‘मन्त्रालयले विभिन्न चरणमा छलफल गरेर स्वीकृत गर्दै अर्थ मन्त्रालय पठाएको छ । त्यहाँबाट अगाडि बढेको छैन ।’ 

उक्त प्रस्ताव पारित भए ४० विभाग र ४० एकाईका पाँच सय शय्या सञ्चालन हुनेछन् । अस्पतालमा १२औँ तहका निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दी हुनेछ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सेवा सुधारका लागि विकास समिति लागिपरेको बताए । ‘यहाँ भएका विशेषज्ञ चिकित्सक स्वास्थ्य मन्त्रालयले सरुवा गरेर अन्यत्र लैजाने तर यहाँ कसैलाई पनि नपठाउने गर्दा समस्या भएको हो,’ उनले भने ।

ज्वरोसमेत निको पार्न नसकेपछि बिरामीहरू धनगढी रेफर : ‘छोरीलाई ज्वरो आएपछि डडेल्धुरा अस्पताल लगेकी थिएँ, तर त्यहाँका स्वास्थ्यकर्मीले ज्वरोसमेत निको पार्न सकेनन् । अन्ततः धनगढी रेफर गरिदिए,’ डडेल्धुरा अमरगढीकी निर्मला जोशीले भनिन् । उस्तै पीडा छ, बैतडीका रमेश चन्दको । ‘श्रीमतीलाई प्रसूति सेवाका लागि डडेल्धुरा अस्पताल पुर्‍याएँ, तर अस्पतालमा न प्रसूति रोग विशेषज्ञ रहेछन्, न बालरोग विशेषज्ञ नै । जोखिमपूर्ण अवस्था देखेपछि धनगढी लगेँ,’ उनले भने ।