१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
जैविक तटबन्ध बनाउन नदी किनारमा काठ राख्दै भजनी नगरपालिका ४ र ९ का स्थानीय । स्थानीय बासिन्दाले काठ, बाँस, झारपात र बोरामा बालुवा भरेर जैविक तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् ।
२o८१ बैशाख १८ मंगलबार o६:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कटानले पुल जोखिममा परेपछि तटबन्ध बनाउन दैनिक डेढ सय स्थानीय जुटे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२३:oo

कान्द्रा नदी कटानले जोखिममा परेको झोलुङे पुल जोगाउन कैलालीको भजनी नगरपालिका ४ र ९ का बासिन्दा जैविक तटबन्ध निर्माणमा जुटेका छन् । गत साताबाट जैविक तटबन्ध निर्माण गर्न यी दुई वडाका डेढ सय स्थानीयले दैनिक श्रमदान गरिरहेका छन् । केही दिनयता नदीले कटान तीव्र पारेपछि हालै बनेको वडा नम्बर ४ र ९ जोड्ने झोलुङे पुल जोखिममा परेको छ ।

स्थानीय बासिन्दाले काठ, बाँस, झारपात र बोरामा बालुवा भरेर जैविक तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् । भजनी– ९ गन्जहवाका भीम कुडमालले नदी कटानले पुल बग्ने जोखिम भएपछि जैविक तटबन्ध बनाएर जोगाउने प्रयास थालिएको बताए । ‘कटान पुलको पिलरको ३०–३५ मिटरनजिक पुगिसकेको छ,’ उनले भने, ‘रोकथामको प्रयास तत्कालै नगरे नदीले पुल बगाउने जोखिम रहेकाले जैविक तटबन्ध निर्माणमा जुटेका हौँ ।’ 

खैराड, आमबारी र गन्जहवा गाउँका डेढ सयजनाले जैविक तटबन्ध बनाउन दैनिक श्रमदान गरिरहेको कुडमालले बताए । स्थानीयले गत ४ साउनबाट जैविक तटबन्ध निर्माणको काम थालेका हुन् । हालसम्म करिब चार सय मिटर लामो जैविक तटबन्ध निर्माण गरिएको भजनी– ९ का होमबहादुर बोहोराले बताए । जैविक तटबन्ध निर्माणको अगुवाइ गरिरहेका उनले थप पाँच सय मिटर तटबन्ध निर्माणका लागि श्रमदान कार्य केही दिन जारी रहने बताए । 

‘पुल कटानको जोखिममा छ, तटबन्ध बनाइदिनुपर्‍यो भनेर पुल निर्माण भएदेखि नै हामी नगरपालिकामा गयौँ, संघ र प्रदेशका सांसदलाई भन्यौँ,’ उनले भने, ‘तर, कतैबाट पनि सुनुवाइ नभएपछि हामी आफैँ अग्रसर हुनुपरेको हो ।’ बोहोराले पुल निर्माणका क्रममा दुवैतर्फ पक्की तटबन्ध नबनाइएकाले कटानबाट पुल बग्ने जोखिम रहेको बताए ।

बर्खामा उर्लेर आउने कान्द्रा तर्न स्थानीयको एक मात्र सुरक्षित विकल्प यो झोलुङे पुल हो । करिब सात महिनाअघि झोलुङे पुल निर्माण भएपछि स्थानीयले नदी तर्दा भोग्दै आएको सास्ती र जोखिम हटेको छ । विगतमा पुल नहुँदा स्थानीयले बर्खायाममा डुंगाबाट जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो । हिउँदमा पानी कम हुने भएकाले ठेक्कामा राखिने काठको पुलबाट पैसा तिरेर नदी तर्नुपर्थ्यो ।

‘पुल बनेपछि निकै सहज भएको छ, तर कटान तीव्र हुँदा बनेको पुल नदीले यसै वर्ष बगाउलाजस्तो भयो,’ बोहराले भने, ‘बल्लतल्ल बनेको पुल बगेर विगतको जस्तो जोखिम र सास्ती भोग्नु नपरोस् भनेर कटान नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’ पुल बनेपछि डुंगा विस्थापित भएको उनले बताए । 

जैविक तटबन्ध बनाउन स्थानीय सामुदायिक वनबाट कुकाठ, स्याउला र झारपात प्रयोग गरिएको छ । बालुवा राख्न सिँचाइ डिभिजन धनगढीले हजारवटा बोरा दिएको स्थानीयले बताएका छन् । श्रमदानमा सहभागी हुन गाउँका भल्मन्सामार्फत स्थानीयलाई खबर गर्ने गरिएको छ ।

गाउँमा स्थानीयका ट्र्याक्टर प्रयोग गरेर जैविक तटबन्धमा प्रयोग हुने कुकाठ, स्याउला र झारपात सामुदायिक वनबाट ढुवानी गरिरहेको आम्बासा गाउँका भल्मन्सा हेमराज चौधरीले बताए । आफूहरू बिहानदेखि बेलुकीसम्म तटबन्ध निर्माणको काममा खटिरहेको उनको भनाइ छ । ‘सबै व्यक्तिगत खर्चमा काम गरिरहेका छौँ । खानेपानीको समस्या छ, बोकेर ल्याउनुपर्छ,’ चौधरीले भने ।

स्थानीय जनप्रतिनिधिसमेत जैविक तटबन्ध निर्माण सहभागी हुने गरेका छन् । भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले कान्द्रा नदीले पुलवरपरका खेतमा तीव्र कटान गरिरहेको जानकारी दिए । उनले पुलको छेउछाउतिर तटबन्ध नबनाइएको बताए । 

‘संघ र प्रदेशबाट समन्वय नहुँदा पुल कसले बनाएको भन्नेसमेत हामीलाई जानकारी छैन । पुलसँगै छेउछाउतिर तटबन्ध पनि बनाउनुपर्थ्यो,’ चौधरीले भने, ‘यस वर्ष नगरपालिकाले केही न केही गर्छ ।’ तटबन्धका लागि ठूलो बजेट चाहिने भएकाले नगरपालिकाले मात्र बनाउन नसक्ने उनको भनाइ छ । ‘संघ र प्रदेश सरकारसँग पहल गरेर पुल जोगाउन तटबन्ध निर्माण गर्छौँ,’ प्रमुख चौधरीले भने । कान्द्रा, काँडा, मोहना, पथरैया, कर्णालीलगायत नदीले बर्खायाममा भजनी, टीकापुर, कैलालीसहित जिल्लाको दक्षिणी क्षेत्रमा व्यापक मात्रामा कटान गर्ने गर्छन् ।
 

ad
ad