
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताएकी छिन्।
प्रधानमन्त्रीको सचिवालयले आयोजना गरेको संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीहरूको अन्तरक्रिया छलफललाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रवाहमा एकरूपतामा ल्याउन एकद्वार प्रणाली आवश्यक रहेको बताएकी हुन्।
आमजनताले हरेक मन्त्रालयका वेबसाइट हेरेर सूचना पाउने अवस्था झन्झटिलो हुने भएकाले सबै मन्त्रालयका वेबसाइट सूचना तथा प्रसारण विभागको वेबसाइटमा एकीकृत गरेर त्यसमार्फत सूचना प्रवाह गर्ने तयारी थालिएको पनि मन्त्री शर्माले जानकारी दिइन्।
सबै मन्त्रालयका गतिविधिको दैनिक रिपोर्टिङ हुने र त्यससम्बन्धी सूचना एकद्वार प्रणालीबाट प्रवाह हुँदा नागरिकलाई सूचना लिन सजिलो हुने र सरकारको प्रभावकारितामा पनि थप स्थापित हुँदै जाने मन्त्री शर्माले धारणा राखिन्।
मन्त्रालय तथा निकायहरू सूचना अभिलेखीकरण महत्वपूर्ण भएको उल्लेख गर्दै उनले जतिसक्दो चाँडो सबै सूचनाको अभिलेख राख्न र सूचनाको वर्गीकरण गर्न पनि आग्रह गरिन्।
हरेक मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी भोलिपल्ट सार्वजनिक गर्ने परिपाटी रहे पनि त्यसमा सम्बन्धित मन्त्रालयका प्रवक्ताको उपस्थिति नहुँदा विस्तृत सूचना सार्वजनिकमा कठिनाइ हुने गरेको उल्लेख गर्दै उनले मन्त्रिपरिषद् बैठकबाट कुन मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण निर्णय भएको छ, त्यसबारे जानकारी दिन सम्बन्धित मन्त्रालयका प्रवक्ता पठाउने व्यवस्था गर्न पनि निर्देशन दिइन्।
मुख्यसचिव डा. वैकुण्ठ अर्यालले हरेक मन्त्रालय र निकायले सूचनाको अभिलेखन गरी सार्वजनिक गर्नुपर्ने बताए। उनले सूचना दिन नडराउन पनि सबै प्रवक्ता र सूचना अधिकारीहरूलाई निर्देशन दिए।