१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ११ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण ११ बिहीबार o६:१५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : भ्रष्टाचारविरुद्धको निर्णय स्पष्ट, व्यवहार अस्पष्ट

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ११ बिहीबार o६:१५:oo

- देउवाले भने– बैठक जीवन्त रह्यो, धेरै आलोचना होला भन्ठानेको कमै भयो
- पार्टी सञ्चालन गर्न कार्यतालिका, नीति अधिवेशन मंसिरमा 
- प्रदेश सभापतिहरूको असन्तुष्टि : निर्णयमा प्रदेशको विषय स्पष्ट भएन 
- १४ जनाको कारबाही फिर्ता, सरकारलाई १५ बुँदे ध्यानाकर्षण

प्रमुख सत्तारूढ दल कांग्रेसले सुशासनलाई प्राथमिकता राख्दै भ्रष्टाचारविरुद्धको सरकारी प्रयासमा ऐक्यबद्धता जनाएको छ । तर, बुधबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई निलम्बन भने गरेको छैन । खाणलाई निलम्बन गर्नुपर्ने माग राखेका महामन्त्री गगन थापाले फरक मत राखेका छन् ।

तस्करीको सय केजी सुन प्रकरणले राजनीतिक वृत्तमा समेत तरंग आइरहेका वेला कांग्रेसले यसलाई गहिरो अनुसन्धान र कारबाहीको दायरामा ल्याउन माग गरेको छ । ‘हालै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा बरामद भएको करिब सय किलो सुनको सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन यो बैठक सरकारसँग माग गर्दछ,’ कांग्रेसको निर्णयमा छ । 

यसैगरी, नक्कली शरणार्थी प्रकरणमा परेका नेता बालकृष्ण खाणको विषयमा भने कांग्रेस प्रतिरक्षामा उत्रेको छ । ‘नेपाली कांग्रेसको जगमा उभिएको यो सरकारले थालेका नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणलगायत भ्रष्टाचारविरुद्धका कदममा हाम्रो पार्टीको साथ–समर्थन रहेको विदितै छ, ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किऊन् र कोही निर्दोष नफसून्’ भन्ने हाम्रो पार्टीको नीति रहेको छ,’ कांग्रेस निर्णयमा छ । 

खाणलाई निलम्बनको माग राख्दै आएका महामन्त्री थापाले यस विषय निर्णयमा उल्लेख नभएपछि फरक मत दर्ज गराएका छन् । महामन्त्री थापाको फरक मतमा फौजदारी अभियोग लागेकालाई पार्टीबाट निलम्बन गरेर कारबाहीमा पार्टीले सहयोग गर्नुपर्ने उल्लेख छ । 

‘अभियोग लाग्दै गर्दा राजनीतिक दलले त्यस्तो पदाधिकारीलाई अपराधी हो भनेर मान्ने होइन र मानिएको पनि छैन । विधिको शासनको स्थापित मान्यता र अभ्यासअनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ,’ थापाको मतमा छ, ‘निलम्बन भनेको आरोप प्रमाणित नहुन्जेलसम्म अनुसन्धानको क्रममा र अदालतको आदेशमा थुनामा रहेको अवस्थामा हो, कसुरदार ठहरेको अवस्थामा होइन । यो पद मुक्तको अवस्था होइन पदबाट अलग रही अनुसन्धानलाई सहयोग गर्नु हो ।’ 

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सदैव प्रतिबद्ध रहने निर्णय लिएको कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सुशासनको प्रत्याभूति हुने गरी परिचालन गर्ने संकल्प लिएको छ । ‘कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधिलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरी परिचालन गर्ने संकल्प गर्दछ,’ बैठकको निर्णय छ । 

पार्टी सञ्चालन गर्न कार्यतालिका, नीति अधिवेशन मंसिरमा 
पार्टीका सांगठनिक गतिविधि व्यवस्थित गर्ने निर्णयसहित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बुधबार सकिएको बैठकले पार्टीका क्रियाकलाप नियमित बनाउन सांगठनिक कार्यतालिका परिमार्जनसहित पारित गर्दै मंसिरमा नीति अधिवेशन गर्ने निर्णय लिएको छ । ११ महिनापछि २ साउनबाट सुरु बैठक कांग्रेसले बैठक प्रत्यक्ष प्रसारण गरेको थियो ।

महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा तय भएका १० एजेन्डा र थप विषय समेटेर निर्णय भएको बताए । उनका अनुसार ११ देखि १३ मंसिरसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने र सोही बैठकबाट नीति अधिवेशनसमेत सम्पन्न गर्ने निर्णय छ । साथै, बैठकले जातीय विभेद र लैंगिक हिंसाजन्य घटनामा पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन तथा यस्ता घटना घट्न नदिन प्रभावकारी कार्ययोजना ल्याउन सरकारसँग माग गर्ने, दलित संघको केन्द्रीय महाधिवेशनका लागि १५ भदौभित्र आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने जिम्मा सभापति देउवालाई दिने, संसदीय गतिविधिमा थप प्रभावकारी भूमिका खेल्न संसदीय दललाई निर्देशन गर्ने, सात सय ५३ स्थानीय तहमा ‘गाउँ सेवा दल’ गठन अभियान अघि बढाउने, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, सांगठनिक सुदृढीकरणका लागि २० साउनदेखि ३० साउनसम्म आन्तरिक तयारी र १० देखि २४ भदौसम्म ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने, अनुशासनको कारबाहीमा परेका १४ जनाको कारबाही फिर्ता, अमर्यादित गतिविधि गर्ने कार्यकर्ता र भ्रातृ संस्थाका सदस्यको सदस्यता खारेज गर्नेलगायत निर्णय लिएको छ । 

निर्णय : दोषी नउम्किऊन् र कोही निर्दोष नफसून्
- हालै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा बरामद करिब सय किलो सुनको सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन यो बैठक सरकारसँग माग गर्दछ । 

- नेपाली कांग्रेसको जगमा उभिएको यो सरकारले थालेका नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणलगायत भ्रष्टाचारविरुद्धका कदममा हाम्रो पार्टीको साथ–समर्थन रहेको विदितै छ । ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किऊन् र कोही निर्दोष नफसून्’ भन्ने हाम्रो पार्टीको नीति रहेको छ ।

- कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधिलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरी परिचालन गर्ने संकल्प गर्दछ । 

खाणलाई कारबाही नगरेपछि थापाको फरक मत
नेता बालकृष्ण खाणलाई निलम्बनको माग राख्दै आएका महामन्त्री गगन थापाले पार्टी निर्णय नआएपछि फरक मत दर्ज गराएका छन् । महामन्त्री थापाको फरक मतमा फौजदारी अभियोग लागेकालाई पार्टीबाट निलम्बन गरेर कारबाहीमा पार्टीले सहयोग गर्नुपर्ने उल्लेख छ । ‘अभियोग लाग्दै गर्दा राजनीतिक दलले त्यस्तो पदाधिकारीलाई अपराधी हो भनेर मान्ने होइन र मानिएको पनि छैन । विधिको शासनको स्थापित मान्यता र अभ्यासअनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ,’ थापाको मतमा छ, ‘निलम्बन भनेको आरोप प्रमाणित नहुन्जेलसम्म अनुसन्धानको क्रममा र अदालतको आदेशमा थुनामा रहेको अवस्थामा हो, कसुरदार ठहरेको अवस्थामा होइन । यो पदमुक्तको अवस्था होइन पदबाट अलग रही अनुसन्धानलाई सहयोग गर्नु हो ।’