कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको हिरापुरमा कृष्णसार । फोटो सौजन्य : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
चितवनमा कृष्णसार स्थानान्तरणको तयारी रहे पनि यसअघि ०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट चितवन निकुञ्जमा स्थानान्तरण गरिएका १५ वटा अर्ना मरेको घटनाका कारण पुनः अध्ययन गर्न लागिएको हो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कृष्णसार चितवन स्थानान्तरण गर्न फेरि अध्ययन गरिने भएको छ । यसअघि ०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट ल्याइएका १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा छाडिए पनि सबै मरेकाले कृष्णसारका लागि पुनः अध्ययन गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक टोलीले ०७७ मा चितवनको रत्ननगर नगरपालिका– १० टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनमा कृष्णसार स्थानान्तरण गर्न सकिने रिपोर्ट दिएको थियो । नगरपालिकाले खुला निकुञ्ज मोडलमा पर्या–पर्यटन विकासका लागि १८ कृष्णसार ल्याउन ०७८ देखि नै १७ हेक्टरमा पूर्वाधार (तारजालीले घेर्न) निर्माण सुरु पनि गरेको थियो । तर, यसरी नै स्थानान्तरण गरेर ल्याइएका सबै अर्ना मरेकाले कृष्णसारका लागि फेरि अध्ययन गर्न लागिएको विभागले जनाएको छ ।
‘चितवनमा कृष्णसारका लागि वासस्थान उपयुक्त छ वा छैन । शुक्लाफाँटाको हावापानीमा हुर्किएका कृष्णसार चितवनको हावापानीमा बस्न सक्छन् कि सक्दैनन् भनेर हेरिनेछ,’ निकुञ्ज विभागका प्रवक्ता अजय कार्कीले भने, ‘त्यसबाहेक हाम्रो (निकुञ्जको) जनशक्तिले कृष्णसारको संरक्षण गर्न सक्छ कि सक्दैन भनेर पनि अध्ययन गरिनेछ । त्यसपछि मात्र निर्णय हुन्छ ।’
कृष्णसारको वंश विस्तार र दीर्घकालीन संरक्षणका लागि चितवन स्थानान्तरणको तयारी भइरहेको हो । टिकौलीमा कृष्णसार राख्नका लागि १७ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए । उनका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ ।
कृष्णसारलाई चितवनमा ल्याउन रत्ननगर नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वनले व्यवस्थापनको काम गरिरहेको छ । कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले ०७८/०७९ मा २२ लाख र ०७९/८० मा ५० लाख खर्च गरिसकेको छ । डिभिजन वनले पनि आपूर्ति समितिबाट १४ लाख खर्च गरिसकेको छ ।
कृष्णसारको संरक्षण र पर्या–पर्यटनको विकासका लागि कृष्णसार ल्याउन लागिएको मेयर प्रह्लाद सापकोटाले बताए । ‘यो भेगमा नभएको र नेपालमै दुर्लभ मानिएको कृष्णसार ल्याउँदा आकर्षण बढ्छ नै । सौराहा आउनेलाई हात्ती, बाघ र गैँडासँग कृष्णसार पनि हेर्न अवसर हुन्छ,’ उनले भने । नगरपालिकाले पञ्चकन्या वनमा हरियाली पार्कसमेत निर्माणको तयारी गरेको छ ।
बर्दियाका कृष्णसार शुक्लाफाँटामा फस्टाए
सदर चिडियाखाना र बर्दियाको खैरापुर कृष्णसार संरक्षण क्षेत्रबाट आठ वर्षअघि ल्याइएका कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फस्टाएका छन् । ४२ कृष्णसार ल्याएकामा अहिले शुक्लाफाँटामा संख्या बढेर दुई सय ६२ पुगेको छ । ०६९ मा सदर चिडियाखानाबाट २० पोथी र आठ भाले गरी २८ र ०७२ असारमा बर्दियाबाट १० पोथी र चार भाले गरी १४ कृष्णसार शुक्लाफाँटा ल्याइएको थियो ।
संख्या बढेपछि कृष्णसारका लागि शुक्लाफाँटाको हिरापुरफाँटमा १७ हेक्टरबाट बढाएर ५८.८ हेक्टर छुट्याइएको छ । हिरापुर कृष्णसार प्रजनन केन्द्र देशकै उत्कृष्ट प्रजनन केन्द्रमा परिचित भइरहेको शुक्लाफाँटा निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए । ‘कृष्णसार संरक्षणका लागि विद्युतीय तारबार लगाएका छौँ । अन्य जनावरबाट कृष्णसार सुरक्षित छन्,’ उनले भने, ‘कृष्णसार खुला ठाउँमा छाड्ने योजना थियो । तर, अन्य जनावरबाट सिकारको जोखिम हुने भएकाले छाडेका छैनौँ ।’ तर, ठीक उल्टो बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रमा ०७१ मा तीन सयको हाराहारीमा रहेका कृष्णसार अहिले घटेर एक सय ९७ मा झरेका छन् । बबई नदीको बाढी र कुकुर, स्याल र हुँडारबाट बचाउन नसक्दा बर्दियामा कृष्णसार फस्टाउन नसकेका हुन् ।
यसरी सुरु भएको थियो कृष्णसारको संरक्षण
०३१ मै बाँके, बर्दिया मात्र नभई नेपालबाटै कृष्णसार लोप भइसकेको आशंका गरिएको थियो । बर्दिया वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) स्थापना भएपछि ०३२ असोजमा बाँके, बर्दियामा कृष्णसारको खोजी गरियो । तर, बर्दियाको खैरी पण्डितपुर जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एक बुढो भाले, एउटा वयस्क भाले, तीनवटा पोथी र चार बच्चासहित नौवटा कृष्णसार फेला परेपछि कृष्णसार संरक्षणका लागि चौकी खडा गरिएको थियो । सरकारले २३ फागुन ०६५ मा खैरापुर कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर संरक्षण सुरु गरेको हो । कृष्णसार खुला घाँसेमैदान (दुबो र काँस)मा बस्न रुचाउँछ । बिहान र बेलुका घाँसेमैदानमा चर्ने कृष्णसार दिउँसोको चर्को घाम तापेर बस्छ ।