१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बागमतीका मन्त्री चित्रकार दुई महिनादेखि विनाविभागीय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo

गत ७ जेठमा बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले प्रदेश सरकारमा विनाविभागीय मन्त्रीको शपथ लिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले केही दिनभित्रै मन्त्रालयको जिम्मेवारी दिने वचन दिएका थिए । तर, मन्त्री नियुक्त भएको दुई महिना बित्दा पनि उनले जिम्मेवारी पाएका छैनन् ।

सत्तासाझेदार दलहरूबीच भागबन्डा मिलाउनैका लागि मुख्यमन्त्री जम्कट्टेलले तत्कालीन ११ सदस्यीय मन्त्रिपरिषद्लाई १२ सदस्यीय बनाएका थिए । त्यसक्रममा चित्रकारसहित ६ जना मन्त्री थपिएका थिए । ‘तत्कालै जिम्मेवारी दिने सहमतिमा विनाविभागीय मन्त्रीका रूपमा शपथ गराइएको थियो । तर, आजसम्म परिणाम देखिएको छैन । आफैँ पनि निराश भइसकेको छु,’ मन्त्री चित्रकारले भने । मन्त्री भए पनि विनाविभागीय भएकै कारण उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जिम्मेवारपूर्ण कुनै भूमिका पाएनन् । विभागीय जिम्मेवारी नभएकाले उनलाई बजेटको सिलिङसमेत प्राप्त हुन सकेन । सचिवालय व्यवस्थापनमा समेत उनले समस्या व्यहोर्नु परिरहेको छ ।

चित्रकारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक कोठामा सीमित बनाइएको छ । उनलाई पिएसओ, एक स्वकीय र सवारीबाहेक अन्य कुनै सुविधा प्राप्त हुन सकेको छैन । सहमतिअनुसारको जिम्मेवारी नपाउँदा ठोस रूपमा काम गर्न नपाएको मन्त्री चित्रकारको भनाइ छ । मन्त्रिपरिषद्को नेतृत्वको हिसाबले मुख्यमन्त्रीले जिम्मेवारी बाँडफाँट गर्नुपर्ने भए पनि खासै चासो नदिएको आफूले बुझेको मन्त्री चित्रकारले गुनासो गरे । ‘मुख्यमन्त्री भएपछि मन्त्रिपरिषद्का सदस्यहरूको जिम्मेवारी बाँडफाँट मुख्यमन्त्रीले गर्नुपर्ने हो । तर, अहिलेसम्म कुनै जिम्मेवारी दिनुभएको छैन । बजेट पास गरेपछि जिम्मेवारी दिने भन्नुभएको थियो, तर बजेट पास भएको एक साता हुँदासमेत जिम्मेवारी पाउन सकेको छैन,’ मन्त्री चित्रकारले भने ।

आफ्नै दल जिम्मेवार बनेन : मन्त्री चित्रकार
प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले आफूलाई समयमै जिम्मेवारी दिने विषयमा आफ्नै दल कांग्रेसले समेत चासो नदिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारमा सहभागी हुँदै गर्दा जुन सहमति भएको थियो त्यसको विषयमा कांग्रेसको संसदीय दलले चासो लिनुपर्ने हो । तर, आफूले त्यस्तो नपाएको मन्त्री चित्रकारको दाबी छ ।

‘शपथग्रहण गर्दा दुई–चार दिनमा विभाग टुंग्याएर जाने सहमति भएको थियो । कांग्रेस आफैँ पनि सत्तासाझेदार दल र संसद्मा सबैभन्दा ठूलो दल हो । यो समस्या टुंग्याउन कांग्रेसले पनि तदारुकता देखाउनुपर्ने हो । तर, हाम्रो संसदीय दलको नेतृत्वले पनि यस विषयमा गम्भीरतापूर्वक सोचेजस्तो लाग्दैन,’ उनले संसदीय दलको नेतृत्वको कार्यशैलीप्रति गुनासो गरे ।

कांग्रेस संसदीय दलको भूमिका प्रभावकारी नहुँदा बागमती प्रदेश सरकारमा कांग्रेस कमजोर भएको गुनासो बढिरहेका वेला मन्त्री चित्रकारको यस्तो भनाइ आएको हो । उनले सरकारमा सत्तासाझेदार दल मात्र नभई प्रदेशमै ठूलो दलको हैसियतले हरेक पक्षमा निर्णायक हुनुपर्ने भए पनि सोचेअनुरूप हुन नसकेको दाबी गरे । मन्त्री चित्रकारले प्रदेशको भौतिक मन्त्रालय ठूलो भएको र त्यसलाई फुटाएर सहरी विकास मन्त्रालय बनाउने र उक्त मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको दाबी गरे । सहमति तत्काल कार्यान्वयन होस् भन्ने आफ्नो चाहना रहेको मन्त्री चित्रकारको भनाइ छ । तर, संसदीय दलले मुख्यमन्त्रीलाई दबाब दिन नसक्दा आफू लामो समय जिम्मेवारविहीन भएको उनले बताए ।

एक–दुई दिनमै जिम्मेवारी दिन्छौँ : मुख्यमन्त्री जम्कट्टेल
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भने विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई छिट्टै नै विभागीय जिम्मेवारी दिने तयारी भइरहेको दाबी गरे । उनले विनाविभागीय मन्त्रीलाई भइरहेको अप्ठेरो आफूले राम्रोसँग बुझेको बताए । ‘सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका कारण मात्रै ढिलाइ भएको हो । अब उहाँलाई छिट्टै जिम्मेवारी दिन्छौँ,’ मुख्यमन्त्री जम्कट्टेलले भने ।

उनले प्रमुख सचिवको नेतृत्वमा प्रदेशमा भएका मन्त्रालयमध्ये क्षेत्राधिकार ठूलो भएको कुनै एक मन्त्रालयलाई विभाजन गरी नयाँ मन्त्रालय बनाउन सकिने गरी प्रतिवेदन तयार गर्न लगाएको जानकारी पनि दिए । प्रमुख सचिव नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाउनासाथ मन्त्री चित्रकारलाई विभागीय जिम्मेवारी दिने मुख्यमन्त्री जम्कट्टेलले दाबी गरे । ‘सत्तासाझेदार दलको शीर्ष तहमै बागमती प्रदेशमा भएको ११ सदस्यीय मन्त्रिपरिषद्लाई १२ सदस्यीय पुर्‍याउने सहमति भएको छ । त्यसकारण अब मन्त्री चित्रकारलाई विभागीय जिम्मेवारी दिन समस्या हुन्न । केन्द्रको निर्देशनअनुसार नै तयारी गरिरहेका छौँ,’ उनले स्प्ष्ट पारे ।

यसअघि विनाविभागीय मन्त्रीको व्यवस्थापनका लागि प्रदेशमा एक मन्त्रालय थप्ने विषयमा सत्तासाझेदार दलहरूबीचमै मतभेद भएको थियो । ११ बाट १२ सदस्यीय मन्त्रिपरिषद् बनाउन कांग्रेसले बाध्य पारेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसले पाएको मन्त्रालयमध्ये कुनै एक मन्त्रालय फुटाएर विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनुपर्ने बताएका थिए । तर, कांग्रेसले माओवादीका युवराज दुलालले सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरी सहरी विकास मन्त्रालय बनाएर उक्त मन्त्रालयको जिम्मेवारी चित्रकारलाई दिनुपर्ने दबाब दिँदै आएको थियो ।
 

ad
ad