- लाइभबारे केन्द्रीय नेताका मिश्रित प्रतिक्रिया : कोही भन्छन्– राम्रो भएको छ, कसैको गुनासो छ– खुलेर कुरा राख्न पाइएन
- कांग्रेसका प्रदेश सभापतिहरूको प्रश्न–केन्द्रबाटै सबै चलाउने भए प्रदेश संरचना किन चाहियो ?
प्रत्यक्ष प्रसारण भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गुटबन्दी छताछुल्ल पोखिएको छ । मंगलबार पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि बुधबार धारणा राख्ने क्रममा नेताहरूले आफ्नो गुटको रक्षा र अर्को पक्षको आलोचना गरेका छन् । बुधबारको बैठकमा आमन्त्रित ६ सहित ४६ जना केन्द्रीय सदस्यले धारणा राख्दा संस्थापन आक्रामक देखिएको छ । यद्यपि, सबैजसो नेताले कांग्रेसलाई बलियो बनाउन पार्टी एकता चाहिने बताएका छन् ।
केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बैठकको प्रत्यक्ष प्रसारण गरेर राम्रो सन्देश गएको, पछिल्लो समय कांग्रेसको अवस्था सुध्रिएको भन्दै नेताहरूले विगतका नभई भविष्यका कुरा गर्नुपर्ने बताए ।
‘२००७ वा २०१७ सालमा हामीले यस्तो गरेका थियौँ भनेर अहिलेको पुस्ताले पत्याउँदैन, सुन्दैन । नयाँ पुस्ताले हामीलाई के भयो, मेरो बाटो बन्यो कि बनेन, खानेपानी आयो कि आएन, केन्द्रमा भएको कुरा मैले सुन्न पाएँ कि पाइनँ, मेरो भावना सुन्न पाएँ कि पाइनँ भन्छ,’ उनले भने, ‘एकले अर्कालाई दोष दिएर कांग्रेस बलियो बन्दैन, विधिसम्मत चलौँ । भित्र एउटा बोल्ने र बाहिर अर्को बोल्ने नगरौँ । कांग्रेस एक ठाउँमा छ भन्ने सन्देश दिऔँ ।’
अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले खल्तीबाट पद बाँड्ने काम भएको भन्दै कांग्रेसलाई अघि बढाउन युवा पुस्तालाई आकर्षण गर्ने कार्यक्रम चाहिने बताए । ‘अब युवा पुस्ता कसरी आकर्षित गर्ने ? युवालाई कसरी तान्ने ? यो महत्वपूर्ण छ । आफ्नो विचारले खल्तीबाट झिकेर युवालाई पद दिने होइन । पद दिँदा विधान छ, कार्यान्वयन गर्नुपर्छ भन्छौँ । तर, खल्तीबाट झिकेर बनाउनेतिर जाँदै छौँ,’ उनले भने, ‘सबैले खल्तीबाट दिँदा निषेध हुन्छ । म भए ठीक छ, अरू भए ठीक हुँदैन भन्ने मान्यता बढ्दै गएको छ,’ उनले भने ।
अर्का केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहबीच ठूलो खाडल देखिएको बताए । ‘संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ, यो अवस्थाको अन्त्य हुनुपर्छ । सरकार सञ्चालन थप प्रभावकारी बनाउन पार्टीको घोषणापत्रको बाटोमा काम गर्ने गरी सहयोग गर्न मन्त्रालयअनुसारको विज्ञ टोली गठन गर्नुपर्छ,’ उनले भने, ‘सरकारका मन्त्रीहरूको कार्यमूल्यांकन, प्रगति र आवश्यक सहयोगमा पार्टी लाग्नुपर्छ । हाम्रो काँधमा देशप्रति ठूलो जिम्मेवारी छ । देशलाई सही मार्गमा लैजान हामी सशक्त बन्नुपर्छ ।’
अर्का केन्द्रीय सदस्य एवं गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ पुस्तालाई समेट्ने कार्यक्रम चाहिएको बताए । ‘बिपी पनि नचिनेको पुस्तालाई के गरेर चित्त बुझाउने हो ? महामन्त्रीको प्रतिवेदन आएको अभियानमा त्यो पुस्तालाई छुने कार्यक्रम पनि आओस्,’ उनले भने । उनले गठबन्धनमा सही तालमेल भएका ठाउँमा चुनाव जितिएको र नभएको ठाउँमा हार खानुपरेको सुनाए । ‘जुन जिल्लामा गठबन्धनका दलले समझदारीपूर्वक आफ्नो हैसियतअनुसार काम गरे त्यहाँ सफल भएको छ । जहाँ भएन त्यहाँ हाम्रो पक्षमा नतिजा आएको छैन,’ उनले थपे, ‘कांग्रेसबाटै खत्तम भो, मुलुक डुब्न लाग्यो भन्दै सामाजिक सञ्जालमा प्रचार भइरहेको छ । यो ठीक होइन ।’
केन्द्रीय सदस्य रामहरि खतिवडाले दुई महामन्त्रीको संसदीय भूमिकामाथि प्रश्न उठाए । ‘संसद्मा सभापति यदाकदा जाने, उपसभापति दुईजनै मन्त्री भएर उपस्थिति कम हुने तथा महामन्त्रीहरू छिनछिनमा देखापर्ने अवस्था छ । तर, प्रतिपक्षले कसरी हल्लाउँछन् देख्नुभा छ ? प्रत्येक दिन छलफल गरेर संसद्मा जाने पद्धति भयो भने कांग्रेस त्यहाँ पनि अझ दह्रो भएर प्रस्तुत हुनेछ,’ उनले भने, ‘दुईजना महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ– कांग्रेस बलियो बनाउन एकढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरू हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नुहोला । तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने जसरी तपाईंहरू अरू कसैको विकल्प खोज्छौँ भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प पनि हामीहरूले खोज्ने दिन नआओस् ।’
लक्ष्मी खतिवडाले महामन्त्रीको विकल्प खोज्ने अवस्था नआसोस् भनिन् । ‘महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस्,’ उनले भनिन् ।
केन्द्रीय सदस्य राधा घलेले पार्टीका नेताहरू पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा नउभिएकोमा असन्तुष्टि जनाइन् । ‘आज एउटा नेतालाई, साथीलाई विनाकारण समातेर लग्दै गर्दा आफ्नै पार्टीका साथीहरू संवेदनशील नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छ ? एउटा साथीलाई दुःख पर्दा काँध हाल्न सक्दैनौँ,’ उनले भनिन्, ‘आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन । जबसम्म दोषी साबित हुँदैन तबसम्म कमसेकम एउटालाई पर्दा हामी साथ दिँदैनौँ भने एउटालाई खाने बाघले अरूलाई पनि खान्छ ।’
अर्का केन्द्रीय सदस्य हरिशरण नेपालीले कांग्रेस इतिहासकै आलोचित अवस्थामा पुगेको बताए । ‘हामी वाकयुद्धमा रमायौँ । एकाइसम्म गुटको बीजारोपण गरेका छौँ । तल्लो तहमा पनि एउटा गुटले अर्को गुटलाई बोलाउँँदैनन्, यसले डरलाग्दो अवस्था निम्तिएको छ जुन कांग्रेसको भविष्यका लागि चिन्ताको विषय हो,’ उनले भने, ‘मैले दश महिनादेखि मलाई काम दिनुस्, म काम गर्न चाहन्छु भनेको छु । यो समयमा कांग्रेस जनमानसमा इतिहासकै सबैभन्दा बढी आलोचित बनेको छ ।’
केन्द्रीय सदस्य सीतादेवी देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरिन् । ‘गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाइयोस् । उहाँले पार्टी बनाउन धेरै दुःख गर्नुभएको छ । पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति हुनुहुन्छ, वरिष्ठ नेता बनाउन उपयुक्त हुन्छ,’ उनले भनिन् । अर्का केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले गुटबन्दी अन्त्य घोषणाले पार्टी संगठन बलियो हुने बताए । ‘नेताहरूले गुट अन्त्य भएको घोषणा गरे आधा संगठन बन्छ,’ उनले भने ।
जाबेदा खातुन जागाले कमजोरी एक–अर्कालाई थोपर्ने प्रवृत्तिले पार्टी कमजोर हुने बताइन् । ‘कमी–कमजोरी एउटैलाई थोपर्ने प्रवृत्ति देखिएको छ । यसले पार्टी र संगठन बलियो हुन सक्दैन,’ उनको भनाइ थियो, ‘सभापति मात्रलाई दोष देखाउँदा पार्टीलाई कमजोर बनाउने आधार सिर्जना भएको छ । यो सोचले कसैको भलो गर्दैन । पार्टी कमजोर भए सबै जिम्मेवार हुन्छौँ । यस्तो संस्कारले कमजोर बनाउँछ ।’
कुन्दनराज काफ्लेले समस्याहरूलाई बुझ्ने मामलामा कांग्रेस चुकेको र कांग्रेस आन्तरिक समस्यामा फस्न नहुने धारणा राखे । ‘समस्याहरूलाई हेर्ने दृष्टिकोणमा कांग्रेस चुकेको छ । विधान र विधिसम्मत कांग्रेस तल्लो तहबाटै सुधारमा लाग्नुपर्छ,’ उनले भने, ‘मापदण्डविना भ्रातृ संस्थाका केन्द्रीय समिति आउँदा प्रश्न उठ्ने अवस्था छ । पार्टी केन्द्रमा समन्वय छैन । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइएको छैन । कांग्रेस आफैँभित्रैको समस्यालाई मात्रै ठूलो मानेर रुमल्लिनुहुँदैन ।’
केन्द्रीय सदस्य गुरु बरालले कांग्रेस कमजोर नरहेको तथा महामन्त्रीको प्रस्ताव परीक्षण हुन बाँकी रहेको बताए । ‘कांग्रेस आँकडामा बलियो छ, तर कमजोर भयो भनेर बाहिर भनिँदै छ । कांग्रेस आत्माभित्रै कमजोर भएको हो, आत्मअनुशासन कायम राख्न नसकेर कमजोर बनेको छ । नेतृत्वबाटै जिम्मेवारीबोध गरौँ । तल्लो तहसम्म जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘एक्लै लड्ने कांग्रेस बनाउनुपर्छ । फेरि पनि गठबन्धन गर्ने त ? फरक धरातल भएकाले गठबन्धन सफल हुन सकेन । हाम्रा भोट घटे, समीक्षा गरेर जाऔँ । महामन्त्रीले ल्याएका प्रस्ताव चित्रमा राम्रो छ, चरित्रमा हेर्न बाँकी छ ।’
सरस्वती अर्याल तिवारीले महामन्त्रीद्वयलाई पार्टी अस्तित्वमा आँच नआउने गरी काम गर्न सुझाइन् । ‘सभापति मात्रलाई दोषी देख्ने महामन्त्रीले कांग्रेसको अस्तित्वमा आँच नआउने गरी काम गर्नुस्,’ उनले भनिन् ।
अर्का केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले सभापतिलाई मात्र दोष दिन नमिल्ने बताए । ‘सबै दोष सभापतिलाई मात्रै दिएर उम्कन मिल्छ ?’ उनले प्रश्न गरे ।
केशवकुमार बुढाथोकीले कोसीको नामकरणमा कांग्रेसको भूमिकामाथि प्रश्न उठाए । ‘६ वटा प्रदेशले नाम राख्दा समस्या नबेन । तर, प्रदेश १ को नामको विषय अहिलेसम्म समस्याकै रूपमा रहेको छ । प्रदेश १ को नामकरणको विषयमा कांग्रेस किन बोलेन ?’ उनको प्रश्न थियो ।
कांग्रेसका प्रदेश सभापतिहरूको प्रश्न–केन्द्रबाटै सबै चलाउने भए प्रदेश संरचना किन चाहियो ?
काठमाडौं÷ कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीमा केन्द्रीकृत सोच हाबी भएको र प्रदेश संरचनालाई पार्टीले स्वीकार नगरेको आरोप लगाएका छन् । जारी केन्द्रीय समिति बैठकमा आमन्त्रित सदस्यका रूपमा उपस्थित उनीहरूले बुधबारको बैठकमा प्रदेश संरचनालाई पार्टीले निरन्तर बाइपास गरेको आरोप लगाउँदै प्रदेशसँग सरकार, संसद् र पार्टीबीच समन्वयको अभाव देखिएको बताए । हाल चार प्रदेशमा कांग्रेस नेतृत्वका सरकार छन् ।
मधेस प्रदेश सभापति कृष्ण यादवले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको र प्रदेशलाई बाइपास गरिएको भन्दै स्वीकार गर्न नसके प्रदेश संरचना खारेज गर्न चुनौती दिए । ‘पार्टीको प्रदेश संरचना किन गठन गरियो ? सातवटा प्रदेशमा संरचना किन बनाइयो ? यदि प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन र जिम्मेवारीविहीन बनाउनु छ भने खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ, जिल्लाकै संगठन गर्छौँ । जे कार्यक्रम भएको छ सीधै जिल्लालाई दिइन्छ, प्रदेशलाई बाइपास गरिएको छ,’ उनले भने ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीनेता प्रदेश समितिसँग समन्वय नगरी सीधै जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै असन्तुष्टि जनाए । उनले पार्टीका कार्यक्रममा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको र प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने जिकिर गरे । ‘प्रदेशलाई धेरै कार्यक्रममा उपेक्षा गरिएको छ । प्रदेश पार्टीको एउटा महत्वपूर्ण अंग हो । केन्द्रीय पार्टी सभापतिपछि प्रदेशको सभापतिको दोस्रो महत्वपूर्ण दायित्व हुन्छ । त्यो महत्वपूर्ण दायित्व भएको अंगलाई बलियो र संस्कारित बनाउने तथा र संस्थागत बनाएर लिएर जाने काममा केन्द्रको ठूलो भूमिका र सहयोग चाहिन्छ,’ उनले भने, ‘त्यसमा सीधै जिल्लासँग सम्पर्क गर्ने, सीधै गाउँपालिकासँग, नगरपालिकासँग सम्पर्क गर्ने, प्रदेशलाई बाहिर राख्ने काम धेरैपटक भएको छ । प्रदेश सभापतिलाई आमन्त्रित होइन, केन्द्रीय समिति बैठकमा विधानसम्मत् ढंगले उपस्थित हुने वातावरण बनाइयोस् ।’
लुम्बिनी प्रदेश सभापति अमर पुनले संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि जनाए । उनले केन्द्रीय नेता नै प्रदेशलाई कमजोर बनाउन लागेको आरोप लगाए । ‘हामीले संविधान निर्माणसँगै तीन तहको परिकल्पना ग¥यौँ र तल्लो तहलाई बलियो बनाउने भन्ने आशय राख्यौँ । तर, मजबुत बनाउनुपर्नेमा तल्लो संगठन बेवास्ता गर्दा राम्रो हुुँदैन । केन्द्रबाटै सबै चलाउने हो भने किन प्रदेश संरचना चाहियो ? सीधै खारेज गरौँ,’ पुनको भनाइ थियो, ‘बजेट पनि पहुँच भएकामा मात्रै पुगेको देखियो ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बैठकमा प्रस्तुत कार्यतालिकाले प्रदेश संरचना बेवास्ता गरेको भन्दै प्रदेशमा भ्रातृ संस्था समिति गठनको जिम्मा प्रदेशलाई नै दिनुपर्ने बताए । ‘कार्यतालिका आएको छ, तर यसको कार्यान्वयनमा अवरोध आउन सक्छ । यसमा प्रदेश समितिको भूमिकाबारे मौन छ,’ उनले भने, ‘प्रदेशमा भ्रातृ संस्थाका समिति बन्दा केन्द्रले सीधै दिएर हुँदैन । प्रदेशले त्यो निर्णयको अधिकार पाउनुपर्छ ।’
बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेश उपेक्षामा परेको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको गुनासो गरे । ‘सरकार र पार्टीको बीचमा समन्वय नभएर पनि पार्टीका साथीहरूका बीचमा निराशा आएको हो कि ? पार्टी र सरकारबीच संवाद र सम्पर्क नभएर कमजोरी भएको हो कि ?’ बानियाँले भने ।
कर्णाली प्रदेश सभापति ललितजंग शाहीले आनन्द ढुंगाना संयोजकत्वको अनुशासन समितिले कारबाही फुकुवा गरेको विषयमा प्रश्न गरे । ‘निर्वाचन परिचालन समितिले अनुशासनको कारबाही सिफारिस गरेको छ । विधानमा हुँदै नभएको व्यवस्थाविपरीत कारबाही छुट दिएको छ । विधानले किटानीका साथ स्वतः कारबाही भनिएकालाई एकल निर्णयका आधारमा कसरी कारबाही फुकुवा गरियो ?’ उनको प्रश्न थियो । बैठकमा कोसी प्रदेश सभापति उद्धव थापा भने सहभागी भएका थिएनन् ।
लाइभबारे केन्द्रीय नेताका मिश्रित प्रतिक्रिया : कोही भन्छन्– राम्रो भएको छ, कसैको गुनासो छ– खुलेर कुरा राख्न पाइएन
कांग्रेस इतिहासमै पहिलोपटक प्रत्यक्ष प्रसारण भएको केन्द्रीय समिति बैठकलाई लिएर नेताका मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले लाइभ भएकाले सबै कुरा खुलेर बोल्न नपाइएको गुनासो गरे भने कतिपयले यसले राम्रो सन्देश गएको सुनाए ।
जीवनबहादुर शाहीले लाइभ बैठकले सबै तहमा कांग्रेसबारे जानकारी पुगेको र यो सकारात्मक रहेको बताए । ‘सबै तहमा कांग्रेसको बैठकको जानकारी पुगेको छ । बैठक लाइभ गरेर सकारात्मक सन्देश गएको छ,’ उनले भनेका थिए ।
गुरु बरालले आफ्नो धारणा राख्ने क्रममा लाइभ रोक्न आग्रह गरे, तर लाइभ रोकिएन । ‘मेरो आग्रह छ– यहाँ बोलेको बाहिर नजाओस् । धेरै प्रश्न पदाधिकारीमा तेर्सिन सक्छ । पार्टीको रेकर्डमा राखियोस्, सामाजिक सञ्जालमा नराखियोस्,’ उनको भनाइ थियो ।
रामहरि खतिवडाले पार्टीको आन्तरिक बैठक लाइभ हुन नहुने मत राखे पनि पछि उपयुक्त लागेको बताए । कतिपय नेताले कांग्रेसले डिजिटल बाटो लिएको भन्दै प्रशंसा गरेका थिए । प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न सात मिनेटको समय छुट्याइएको छ ।