
कांग्रेस केन्द्रीय सदस्यहरूले कोसी प्रदेशको नामकरणको सन्दर्भमा पार्टी अनिर्णयको बन्दी बनेको भन्दै नेताहरूले प्रश्न उठाएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा केन्द्रीय सदस्यहरूले वर्षौंदेखि मूलवासीका रूपमा रहेका किराँतहरूको भावनालाई सम्बोधन नगरी एमाले अध्यक्षले अघि सारेको ‘कोसी’ नामको पार्टी पिछलग्गु बनेको जिकिर गरे।
‘६ वटा प्रदेशले नाम राख्दा समस्या नबेन। तर, प्रदेश १ को नामको विषय अहिलेसम्म समस्याकै रूपमा रहेको छ। प्रदेश १ को नामकरणको विषयमा कांग्रेस बोलेन, किनकि त्यहाँ कांग्रेस छैन, नभए किन बोलेन?’ केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले भने, ‘कांग्रेस त ओलीको लहैलहैमा पछिपछि लाग्यो र प्रदेशको नाम कोसी राखियो।’
उनले असन्तुष्टहरूलाई समयमै सम्बोधन नगरिए आगामी चुनावमा कांग्रेसको सर्मनाक हार व्यहोरिने उनले जिकिर गरे। ‘आज हाम्रो कोही नेता गाउँ जान सकेका छैनन्। यस्तै अवस्था रहे निर्वाचनमा कांग्रेसले एक भोट पनि आउँदैन। कोही जित्नेवाला छैनन्।’
अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पनि कोसी प्रदेशको नामकरणको विषयमा पार्टी गम्भीर नभएको धारणा राखेका थिए। उनले जारी केन्द्रीय कार्यसमिति बैठकले नामकरणका विषयमा स्पष्ट धारणा बनाओस् भन्ने माग राखेका थिए।