१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी, बर्सेनि दोब्बरले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४५:oo

गुल्मीमा नागरिकताभन्दा राहदानी लिनेको संख्या करिब पाँच हजार बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार आर्थिक वर्ष ०७९/८० मा वंशज, वैवाहिक अंगीकृत र जन्मको आधारमा गरेर १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् । सोही अवधिमा राहदानी लिनेको संख्या भने १५ हजार ८६ रहेको देखिएको छ।

राहदानी बनाउनेको संख्या पछिल्लो तीन वर्षमा दोब्बरले वृद्धि भएको छ। आर्थिक वर्ष ०७८/७९ मा सात हजार चार सय नौ र आर्थिक वर्ष ०७७/७८ मा दुई हजार चार सय २६ जनाले राहादानी बनाएका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए। उनका अनुसार अहिले राहादानी नवीकरण नभई नयाँ  नै जारी हुने गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा १३ हजार ६ सय १७ र आर्थिक वर्ष ०७७/७८ मा आठ हजार एक सय ८३ नागरिकता बनेका थिए।

कार्यालयमा सबैभन्दा बढी राजस्व नै राहदानी दस्तुरबाट उठ्ने गरेको छ। गत आर्थिक वर्षमा राहदानीबाट सात करोड ३१ लाख ९० हजार राजस्व संकलन भएको थियो। त्यसअघि आर्थिक वर्ष ०७८/७९ मा तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय र आर्थिक वर्ष ०७७/७८ मा एक करोड ४५ लाख ४२ हजार पाँच सय रुपैयाँ संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारीसमेत रहेका गैरेले जानकारी दिए।

त्यसैगरी, जिल्लामा नागरिकताको प्रतिलिपि बनाउनेको संख्या पनि उल्लेख्य रहेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार गत आवमा १० हजार तीन सय ५५ जनाले नयाँ नागरिकता प्राप्त गर्दा ६ हजार चार सय ५१ जनाले प्रतिलिपि लिएका छन्। यसले नागरिकताप्रति नागरिक गैरजिम्मेवार देखिएका संकेत गरेको उनको भनाइ छ।

राष्ट्रिय परिचयपत्र वितरण न्यून
जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण न्यून देखिएको छ। गत आर्थिक वर्षमा १८ हजार एक सय ८३ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका थिए। जसमा सात सय २५ जनाले मात्र परिचयपत्र प्राप्त गरेका छन्।

आर्थिक वर्ष ०७८/७९ मा एक लाख ८० हजार चार सय ३२ नयाँ दर्ता हुँदा ७५ र आर्थिक वर्ष ०७७/७८ मा १७ हजार सात सय ३८ नयाँ दर्ता हुँदा ६८ जनालाई वितरण गरिएको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए। जिल्लामा गत वर्ष १२ जनाले नागरिकता बदर र १० जनाले राष्ट्रिय परिचयपत्र संशाेधन गरेका छन्।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयको प्रगति विवरणअनुसार हातहतियार नवीकरण घट्दै गएको छ। प्रशासनमा हतियार दर्ताको संख्या छैन। तर, गत वर्ष जम्मा १५ वटा हतियार नवीकरण भएका छन्। चुनावी वर्षमा पनि हतियार बुझाउने तथा नवीकरण गर्नेहरू घटेका देखिएको हो। 

आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जिल्लामा सुशासन र सेवा प्रवाहको स्थिति राम्रो भएको दाबी गरे। उनले कार्यालयको तथ्यांकमा राहादानी बनाउने धेरै देखिए पनि जिल्लामा शैक्षिक सुधार, विकास निर्माण र नागरिकको सोचमा सकारात्मकता पाएको बताए।

ad
ad