
मेक्सिन गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली मेक्सिको र कतारबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा कतारले मेक्सिकोलाई १–० ले स्तब्ध पार्यो । लेभी रंगशालामा मेक्सिकन खेलाडी समर्थन गर्न हजारौँ समर्थक उपस्थित थिए । घरेलु मैदान र समर्थकबीच मेक्सिकोको अप्रत्याशित हार कसैले विश्वास गर्न सकेनन् । खेलको अन्तिम नतिजा आएसँगै रंगशालाको माहोल एकाएक बिग्रियो । एक समूहले खेलाडीको प्रदर्शनमाथि प्रश्न गरिरहेको थियो । त्यहीँ अर्को पक्षले भने खेलाडीको समर्थन गरिरह्यो ।
हार सहजै स्वीकार गर्न नसकेकाले खेलाडीको प्रदर्शनको तारिफ गरेका समर्थकमाथि सांघातिक आक्रमण गरेका छन् । सामान्य विवादबाट सुरु भएको दुई पक्षबीचको झडपले ठूलै रूप लिएको थियो । समर्थकहरूले प्यारापिटका कुर्सी उप्काउँदै एक–अर्कामाथि प्रहार गरेका थिए । कतिपय समर्थकले एक–आपसमा मुक्कामुक्कीसम्म गर्न भ्याए । महिला र बालबालिकालाई प्रहरीले सुरक्षित स्थानमा राखेका थिए । सुरक्षाकर्मीले मेक्सिको र कतारका खेलाडीलाई पनि निकै सुरक्षाका साथ ड्रेसिङ रुमसम्म पुर्याएका देखिन्थे ।
तर, उग्र समर्थकहरूले आफूलाई नियन्त्रणमा राख्न सकेनन् । मेक्सिन प्रहरीका अनुसार केही समर्थकले घरेलु हतियारसमेत ल्याएका थिए । मेक्सिको सान्टा क्लारास्थित लेभी रंगशालामा दुई समर्थकबीचको झडपमा दर्जनौँ घाइते भएको प्रहरीले जनाएको छ । धेरैजसो समर्थकको टाउको फुटेको थियो । कतिपय रगताम्य हुँदै बाहिरिए । एक समर्थकले अर्का समर्थकमाथि नै चक्कु प्रहार गरेका थिए । घाइते दर्शकहरूको तत्कालै नजिकको अस्पतालमा उपचार गरियो ।
चक्कु प्रहार गर्ने हिरासतमा
समर्थकले लगातार १० मिनेटजसो मैदानभित्र बोतल प्रहार गरेका थिए । प्रत्यक्षदर्शीले १० मिनेट रंगशालाभित्र उपद्रो हुँदा प्रहरीले सुरुमा हस्तक्षेप गरेनन् । सान्टा क्लारा प्रहरी बिटले समर्थकलाई सुरुमा सम्झाउने प्रयास गरेको जनाएको छ । यद्यपि, रिसले आगो भएका समर्थकले सुरक्षाकर्मीको कुनै कुरा सुनेनन् । मेक्सिकन टोलीको समर्थन गर्ने समूह थोरै थिए । अर्कोतिर मेक्सिकन खेलाडीको विरोध गर्ने धेरै थिए । यसै कारण थोरै समूह भएका समर्थक धेरै घाइते भए ।
यसैबीच, चक्कु प्रहार गर्ने समर्थकलाई प्रहरीले हिरासतमा लिएको एजेन्सीले जनाएको छ । ‘प्यारापिटमा समर्थकमाथि नै सांघातिक हमला गर्ने व्यक्ति हिरासतमा छन्,’ प्रहरीले जनाएको छ, ‘उनी अन्दाजी २५ वर्षका छन् ।’ घटनाप्रति कन्काकाफ फुटबल एसोसिएसनले रंगशालामा सुरक्षा कमजोर भएको जनाएको छ । ‘लेभी रंगशालामा भएको घटना हेर्दा सुरक्षा निकै कमजोर देखियो, यसमा दोषीमाथि कारबाही हुनुपर्छ,’ एसोसिएसनले विज्ञप्ति निकाली जनाएको छ, ‘कुनै पनि खेलमा सुरक्षा नै पहिलो प्राथमिकता हो, मेक्सिको र कतारबीचको खेलमा सुरक्षा व्यवस्थापन फितलो देखिएको छ ।’