१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहुँचविहीन कर्मचारी विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यता अन्त्य गर्छौं : मन्त्री मोदी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:५o:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहुँचविहीन कर्मचारीहरू विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यताको अन्त्य हुने बताएका छन् । 

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान सञ्चालक समितिको २३औँ बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले राज्यले खटाएको ठाउँमा पुगेर सेवा प्रवाह गर्ने २० प्रतिशत कर्मचारी अन्यायमा रहेको बताएका हुन् ।

सोर्सफोर्स लगाउन नसक्ने पहुँच नभएका कर्मचारीको सधैँ विकट क्षेत्रमा सरुवा हुने र जागिर अवधिभर उनीहरु विकट क्षेत्रमै रहनुपर्ने अन्यायमा २० प्रतिशत कर्मचारी रहेको मन्त्री मोदीको भनाइ थियो । 

पहुँच नभएकै कारणले अन्यायमा रहेका ती कर्मचारीहरूलाई न्याय दिलाउने हिसाबले आफूले सरुवा प्रणालीको विकास गर्न खोजेको मन्त्री मोदीको भनाइ छ । 

‘राज्यले खटाएको ठाउँमा पुगेर सेवा प्रवाह गर्ने कर्मचारीहरूबारेमा सरकारले विशेष ध्यान दिएर सरुवा प्रणाली व्यवस्थित बनाउनुपर्छ भन्ने हाम्रो सोच छ,’ मन्त्री मोदीले भने । कोही कर्मचारी सधैँ विकटको विकट र कोही सुगमको सुगममा अब रहन नसक्ने उनको भनाइ छ ।

विकट क्षेत्रमा रहेर सेवा प्रवाहमा खटिएकालाई सुगममा र सुगममा रहेकालाई विकट क्षेत्रमा खटाउने गरी आफूले सरुवालाई व्यवस्थित बनाउन खोजेको मन्त्री मोदीको भनाइ छ । 

त्यस्तै, मन्त्री मोदीले ८० प्रतिशत कर्मचारी भने सोर्सफोर्स लगाएर कमाउ अड्डामा जाने गरेको बताएका छन् । ‘८० प्रतिशतभन्दा बढी कर्मचारी राजनीतिक पहुँचको आधारमा कमाउ अड्डामा जाने गरेको विकृत बेथिति छ,’ मन्त्री मोदीले भने, ‘सोर्सफोर्स लगाएर आर्थिक लाभ हुने कार्यालयमा सरुवा भई जाने र आर्थिक अनियमिततासँग सम्बन्धित कार्यसम्पादनमा जोडिने परम्पराको अन्त्य गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

भुटानी शरणार्थी र ललितानिवास प्रकरणलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै मन्त्री मोदीले भ्रष्टाचारको सुरुवात कर्मचारी संयन्त्रबाट हुने र त्यसमा राजनीतिक संलग्नता देखिने गरेकोसमेत बताए । ठूला भ्रष्टाचारका मुद्दाहरू हेर्दा कर्मचारी वृत्तबाट भ्रष्टाचार नियन्त्रणको सुरुवात हुनुपर्ने र त्यसमा राजनीतिक नेतृत्वले साथ दिनुपर्नेसमेत बताए ।

मन्त्री मोदीले आफूले सरुवा प्रणालीलाई व्यवस्थित बनाउन खोजेकोसमेत बताए । आफ्नो कार्यकालमा पूर्वअनुमानयोग्य सरुवा प्रणालीको विकास गर्ने योजना रहेकोसमेत सुनाए । 

अर्को प्रसंगमा मन्त्री मोदीले अधिकारको लडाइँमा पूर्वदेखि पश्चिमसम्मका जनजातिहरू एकै मुठी भएर अगाडि बढ्नुपर्ने बताए । प्रधानमन्त्रीको तोकादेशमा मन्त्री मोदीले जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकको अध्यक्षता गरेका हुन् । प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री र सहअध्यक्ष संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहने व्यवस्था छ ।

बैठकले प्रतिष्ठानका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ ।

ad
ad