१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २८ बिहीबार १o:१९:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

टन्सिल किन हुन्छ, बच्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार १o:१९:oo

हाम्रो मुखभित्र घाँटीमा दुईवटा ग्रन्थि हुन्छन्, जसलाई टन्सिल भनिन्छ । यसको काम कीटाणुविरुद्ध लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनु हो । यी ग्रन्थि आफैँ संक्रमित भएको अवस्थालाई हामी टन्सिलाइटिस वा टन्सिल भन्छौँ । भाइरस र ब्याक्टेरियाका कारण यी ग्रन्थि संक्रमित हुन सक्छन् । 

बालबालिका विशेष जोखिममा 
टन्सिल सबै उमेरका मानिसमा हुन सक्छ । यद्यपि, वयस्कको तुलनामा बच्चामा टन्सिलको जोखिम धेरै हुन्छ । ५ देखि १५ वर्ष उमेरका बच्चामा तुलनात्मक रूपमा धेरै टन्सिल हुने गरेको पाइन्छ । स्कुल जाने उमेरका बालबालिकाले आफ्ना साथीहरूसँग धेरै समय बिताउँछन्, जसकारण उनीहरू संक्रमित हुने जोखिम धेरै रहन्छ । 

यी कुरा नखानुस् 
टन्सिल भएका वेला सुक्खा र कडा खाले खाद्यपदार्थ सेवन गर्न गाह्रो पर्छ । यसलाई निल्न गाह्रो हुन्छ र गलामा दुखाइ हुन सक्छ । चिप्स, पकौडा, समोसाजस्ता जंकफुडबाट टाढै बस्नुपर्छ । यसले टन्सिलमा दुखाइ थप्न सक्छ । बासी खानेकुरा खानुहुँदैन । दही, चिसो दूध, चिसो पानी, आइसक्रिमलगायत चिसो खाद्यवस्तु नखानुस् । मसलेदार भोजन नगर्नुस् । किनकि, यसले गर्दा गला सुन्निन सक्छ र दुख्छ । गोलभेँडा सेवन नगर्नुस्, किनकि यसमा अक्सालिक एसिडको मात्रा अधिक हुन्छ र यसले टन्सिल दुख्ने समस्या हुन सक्छ । 

घरेलु उपचार 
मनतातो पानीमा मह मिसाएर पिउनुस् । यसले घाँटीलाई आराम दिन्छ । झोलिलो खानेकुरा खानुस् । चिल्लो, पिरो नखानुस् । मनतातो दूधमा एक चम्चा बेसार मिसाएर राति सुत्नुभन्दा अघि सेवन गर्नुस् । बेसारले टन्सिल मात्रै नभएर अन्य धेरै रोग पनि ठीक गर्न सहयोग गर्छ । एक चम्चा महमा दुई–तीन थोपा कागतीको रस मिलाएर दिनमा तीन–चारपटक सेवन गर्न सकिन्छ । तर, कागती र सुन्तलाजस्ता अम्लीय फल सीधै सेवन गर्दा भने अमिलो धेरै भएर समस्या निम्तिन सक्छ ।

तातो पानीमा कागतीको रस र ताजा अदुवालाई मिसाएर हरेक ३० मिनेटमा कुल्ला गर्न पनि सकिन्छ । कागतीको रस, कालो मरिच र थोरै नुन मिसाएर कुल्ला गर्न पनि सकिन्छ । नुनपानीले कुल्ला गर्दा संक्रमण सुन्निन कम हुन्छ । लसुन मिसाइएको मनतातो पानीले पनि कुल्ला गर्न सकिन्छ । यसले सुन्निएको अवस्था र दुखाइबाट आराम दिन्छ । मेथी मिसाइएको मनतातो पानीले कुल्ला गर्नु पनि लाभदायक छ । मनतातो पानीमा प्याजको रस मिलाएर कुल्ला गर्दा पनि हुन्छ । त्यस्तै, तुलसीपत्ता मिसाएर पनि कुल्ला गर्न सकिन्छ । 

लक्षण
- घाँटी दुख्ने, थुक निल्दा दुख्ने, घाँटीमा अप्ठ्यारो महसुस हुने
- स्वर सुक्ने 
- ज्वरो आउने 
- जाडो हुने, काम्ने 
- कान दुख्ने
- टाउको दुख्ने
- सास गनाउने 
- स्वरमा परिवर्तन आउने
- घुर्ने आदि ।

के गर्ने, के नगर्ने ?
- टन्सिल भएपछि आराम गर्नुपर्छ । किनकि, यस समय थकान र कमजोरी महसुस हुन सक्छ । 
- मनतातो पानी खाइराख्नुपर्छ । 
- भिडभाड हुने स्थल, जस्तै– स्कुल वा कार्यालय जानुहुँदैन । किनकि, तपाईंबाट अरूमा संक्रमण सर्न सक्छ । 
- धूम्रपान र मदिरा सेवन गर्नुहुँदैन । कडा र मसलेदार खानेकुरा खानुहुँदैन । 
- सरसफाइमा ध्यान दिनुपर्छ । 
- धुलोधुवाँबाट बच्नुपर्छ । 
- टन्सिल भइरहन्छ, बल्झिरहन्छ भने नाक, कान, घाँटीरोग विशेषज्ञसँग सम्पर्क गर्र्ने र चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।