बागमती प्रदेशको राजधानी हेटौँडा र मकवानपुरको विकट गाउँपालिका राक्सिराङको सिमानामा रहेको चुर्लिङ खोलामा झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका स्थानीय वासिन्दालाई आवतजावतमा सहज भएको छ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ सिरानचोक बेँसीटोल र राक्सिराङ गाउँपालिकाको वडा नम्बर १ जोड्ने गरी पुल निर्माण गरिएको हो। उक्त झोलुंगे पुल संघीय ससर्त अनुदानको ३८ लाख बजेटबाट निर्माण गरिएको हो।
पुल निर्माण भएसँगै हेटौँडा– १९ सिरानचोक बेँसीटोलका वासिन्दा सबैभन्दा बढी हर्षित भएका छन्। उनीहरूलाई वर्षातको समयमा ज्यान जोखिममा पारेर चुर्लिङ खोला तरेर वारपार गर्नुपर्ने बाध्यता थियो। पुल निर्माण भएसँगै उनीहरूको त्यो बाध्यता हटेको छ।
हेटौँडा उपमहानगरपालिकाले संघीय ससर्त अनुदानमार्फत झोलुंगे पुल निर्माण गरेको हो। २०७६ मा डिपीआर स्वीकृत भई २०७७ सालमा आएको बजेट कार्यान्वयनमा ल्याउन नसक्दा उक्त स्थानका वासिन्दाले समस्या भोग्दै आएका थिए।
पुल निर्माण समितिका अध्यक्ष कुमार ब्लोनले पुल निर्माण भएसँगै सुरक्षित आवतजावतमा सहज हुने र सबैभन्दा धेरै विद्यार्थीहरू लाभान्वित हुने बताए। ‘हामी ठूला मान्छेहरू त जसोतसो खोला तर्दै आएका थियौँ। तर, विद्यालय जाने बालबालिकाहरूलाई ठूलो समस्या थियो। खोलामा बाढी आउँदा बालबालिकाहरू जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता थियो। अब त्यो समस्या हटेको छ,’ उनले खुसी व्यक्त गरे।
पुल अभावमा हेटौँडा– १९ स्थित सिरानचोक बेँसीटोलका बालबालिका वर्षायाममा जोखिम मोलेर राक्सिराङ गाउँपालिका– १ स्थित कालिका आधारभूत विद्यालयमा अध्ययन गर्न जान बाध्य थिए। बेँसीटोलबाट ३५ जना बालबालिका खोला तरेर विद्यालय जाने गरेका छन्।
दुई पालिका जोड्ने झोलुंगे पुलको हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उद्घाटन गरेका छन्। ७६ मिटर लामो उक्त पुल निर्माणका लागि संघीय सरकारले ८५ प्रतिशत, हेटौँडा उपमहानगरपालिकाले १३ प्रतिशत र उपभोक्ता समितिले २ प्रतिशत लगानी गरेको निर्माण समितिका अध्यक्ष ब्लोनले जानकारी दिए।