१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस कास्की
२o८१ बैशाख २० बिहीबार १३:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

Read Time : > 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३९:oo

कैलालीको धनगढीमा वि.सं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन्।

नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति वेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन्।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रंगशालामा आयोजित कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलाडीलाई सम्मान गरेका हुन्। च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद रु ५० हजारका दरले पुरस्कार रकम प्राप्त गरे।

गण्डकीको च्याम्पियन टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार र अरबिना अधिकारी रहेका थिए।

यसैगरी, अन्य खेलाडीमा निरू जिटी, सेरिना थापामगर, मनीषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीति पराजुली तथा टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापन एलिसा लामिछाने थिए।

यसअघि सरकारले विजेता खेलाडीलाई भोलिपल्ट अर्थ मन्त्रालयमा सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको थियो। तर, खेलाडीले घोषित पुरस्कार लामो समयसम्म प्राप्त गर्न सकेका थिएनन्। गण्डकी प्रदेश क्रिकेट संघ, कास्की जिल्ला क्रिकेट संघ तथा खेलाडीले घोषित पुरस्कारका लागि निरन्तर सरकारसँग माग गर्दै आएका थिए।

तत्कालीन युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कार रकमका लागि फाइल अघि बढ्न नसकेको भन्दै खेलाडी नगद पुरस्कार पाउन वञ्चित भएका थिए। नयाँ सरकार गठनसँगै पुरस्कारबापतको रकम निकासाका लागि प्रक्रिया अघि बढाइएको थियो। पुरस्कारबापतको रकम खेलाडीको व्यक्तिगत बैंक खातामार्फत पठाइएको मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए।

उनले भने, ‘हामीले पहिले नै खेलाडीलाई नगदसहित सम्मान गर्ने भनेका थियौँ। तर, सरकार परिवर्तनलगायतका कारण ढिलो हुन पुग्यो। हामी खेलाडीको मनोबल उच्च होस् भन्नका लागि कामना गर्दछौँ। यो सम्मानले खेलाडीलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु।’

ad
ad