
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बेनीस्थित न्युरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ। कार्यालयको गेटमा ताल्चा लगाइएको छ।
सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताले बचत गरेको रकम ढुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए।
बचतकर्ताले उजुरी र सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिसपत्र तथा केन्द्रीय अनुसन्धान ब्युरोबाट भएको परिपत्रका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान प्रक्रिया अघि बढाएको सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए।
उनका अनुसार कार्यालयमा अन्य बचतकर्ताहरूको समेत जाहेरी दरखास्त दर्ता गर्ने प्रक्रिया जारी छ। मध्यपुर ठिमी नगरपालिका– ३ कौशलटार भक्तपुरमा दर्ता भएको शिव शिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो।
सुरुवातमा बचतकर्ताहरूलाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले पाँच महिनाअघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर सहकारीले कारोबार बन्द गरेको थियो।
एक वर्षअघि न्युरोडमा करिब ६ करोड रुपैयाँमा सातआना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो। बचतकर्ता सेयर सदस्यको करिब साढे ६ करोड रुपैयाँ सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ।
पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किन बाध्य भएका छन्। निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो।