
राप्रपा नेपालका अध्यक्ष कमल थापाले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफूहरूको प्रमुख ध्येय भएको बताएका छन्।
आज पार्टीको अनुसन्धान तथा योजना विभागले काठमाडौंमा आयोजना गरेको ‘हिन्दुराष्ट्रः अवधारणा र औचित्य’ विषयक अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सही अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे।
उनले वैदिक दर्शन, सनातन धर्म, संस्कृति र परम्पराको धरातलमा ‘राष्ट्र निर्माण’ हुनुपर्नेमा जोड दिए। नेपालजस्तो भूराजनीतिक अवस्था एवं सामाजिक सांस्कृतिक परिवेशमा ‘हिन्दुराष्ट्र’ अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो।
अज्ञानतामा आधारित ‘प्रोपोगान्डा’ तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएकोसमेत बताए।
हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रवादको अभिव्यक्ति भएको दाबी गरे। उनले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफूहरूको प्रमुख ध्येय भएको स्पष्ट गर्दै वैदिक दर्शन, सनातन धर्म, संस्कृति र परम्पराको धरातलमा ‘राष्ट्र निर्माण’ हुनुपर्नेमा जोड दिए।
२०६२-६३ को आन्दोलनपछि गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताबारे गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले संगठित र योजनाबद्ध रूपमा भइरहेको धर्म परिवर्तनले मुलुकमा ठूलो समस्या निम्तिने चेतावनी दिए।
थापाको कार्यपत्रमाथि प्रा.डा. राजाराम सुवेदी, डा. शास्त्रदत्त पन्त, वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रा.डा. गोपाल पोखरेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, डा. विष्णु भण्डारीलगायतले टिप्पणी गरेका थिए।