
अन्तरजातीय विवाह गरेका मनोजकुमार राम अहिले अपहरण मुद्दामा कारागारमा छन्। उनको रिहाइका लागि आज उनका आफन्तले प्रदर्शन गरेका छन्।
उनका आफन्त, छिमेकी तथा दलित अगुवाहरूले मनोजको रिहाइ र उनको परिवारलाई शान्ति सुरक्षाको व्यवस्थाको माग गर्दै आज राजविराजमा प्रदर्शन गरेका हुन्।
गैरदलित युवतीसँग प्रेमविवाह गरेकै कारण सप्तरीको विष्णुपुर गाउँपालिका– ६ का मनोजकुमारले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए
केटी पक्षले ‘पानी पनि नचल्ने’ केटा भन्दै बबिताको किर्ते जन्मदर्ता बनाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरेका थियो। सोही आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। जब कि कपिलवस्तु जिल्ला अदालतले मनोज र बबितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसकेको छ।
बबिताका बुबा ललित इसरले जिल्ला प्रहरी कार्यालयमा मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई छोरी बेपत्ता बनाएको मुद्दामा जाहेरी दर्ता गरेका थिए।
जिल्ला सरकारी वकिल कार्यालयले मनोजकुमार राम, उनका बुबा जितु, दाजु रूपेशकुमार र सञ्जयकुमारमाथि व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुुरमा सप्तरी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्यो।
न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले मनोज र उनका दाजु रूपेशकुमारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।
श्रीमानको न्यायका लागि बबिता अहिले काठमाडौंमा छिन्। जिल्लामा प्रदर्शनदेखि विभिन्न अधिकारवादी संघसंस्थाको ध्यानाकर्षण गराएकी बबिता राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई झक्झक्याउन भन्दै शनिबार एक्लै काठमाडौं आएकी हुन्।