१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १८ सोमबार o८:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १८ सोमबार o८:५१:oo

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर भएका छन् । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका नायब सुब्बा मदनप्रसाद गुप्ता, तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदी र लेखापाल युगलकिशोर ठाकुरलाई जनही ६ वर्ष कैद सजाय सुनाएको छ । ४ असारमै कसुर ठहर भई आइतबार सजाय निर्धारणका लागि पेस भएकोमा गुप्तालाई दुईवटा मुद्दामा गरी ६–६ वर्ष कैद तथा तेस्रो मुद्दामा एक वर्ष ६ महिना कैदको फैसला सुनाइएको हो। 
विशेष अदालतका सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले गरेको फैसलाअनुसार राजस्व रकम हिनामिना आरोपमा तीनैजनालाई ६–६ वर्ष कैद तोकिएको विशेषका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार यो मुद्दामा विशेषले कुल बिगो दुई करोड सात लाख २९ हजार आठ सय ८८ रुपैयाँ कायम गरेकोमा दामासाहीले तीनैजनालाई हुन आउने रकमको दोब्बर जरिवाना तोकिएको छ । ‘राजस्व रकम हिनामिनाको मुद्दा भएकाले दोब्बर तोकिएको हो । दोब्बर गर्दा जनही एक करोड ३८ लाख १९ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको हो,’ उनले भने ।

गुप्ताले २० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेको र नक्कली रसिदसमेत उनले प्रयोग गरेर रकम संकलन गरेको भेटिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गुप्ताले नक्कली रसिदबाट एक करोड ३५ लाख ७० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेका थिए । जसमध्ये दुई करोड ५० लाख ८६ हजारभन्दा बढी रकम हिनामिना गरेको भेटिएपछि १ जेठ ०७६ मा यी तीनका साथै कोष तथा लेखा नियन्त्रक कार्यालयका तीनजनासमेत गरी ६ जनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो ।

कार्यालय प्रमुख त्रिवेदीले आफ्नो पदीय दायित्व निर्वाह नगर्दा गुप्ताले यस्तो अनियमितता गर्न सम्भव भएको दाबी अभियोजन पक्षको थियो । सरकारी कार्यालयबाट संकलित राजस्व सोही दिन र सम्भव नभए भोलिपल्ट भए पनि सम्बन्धित राजस्व खातामा जम्मा गर्नुपर्ने तथा जम्मा गरेको भौचरसमेत नत्थी गरी तोकिएको ढाँचामा सोको आर्थिक विवरण कार्यालय प्रमुखले प्रमाणित गरी राख्नुपर्ने कानुनी व्यवस्थाविपरीत त्रिवेदीले आफ्नो पदको दुरुपयोग गरेको र प्रत्यक्ष मिलेमतोमा करोडौँको भ्रष्टाचार भएको दाबीसहित अभियोगपत्र दायर भएको थियो । आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट विमुख भई आफूसमेतलाई गैरकानुनी लाभ एवं प्रत्यक्ष फाइदा पु¥याउने र नेपाल सरकारलाई हानि पु¥याउने नियतले सरकारी कार्यालयबाट संकलित राजस्व खातामा समयमा जम्मा नगर्ने, नक्कली नगदी रसिदबाट राजस्व उठाउने तथा आफू कार्यरत रहेको मितिमा कार्यालयको हरहिसाब दुरुस्त नराखेको अभियोग त्रिवेदीमाथि अख्तियारले लगाएको थियो । साथै, लेखापाल ठाकुरमाथि पनि यही अभियोगमा भ्रष्टाचार अभियोग लगाइएको थियो ।

पहिलोपटक भ्रष्टाचार मुद्दामा महालेखा परीक्षकको कार्यालयका निर्देशक दोषी ठहर भएका छन् । यो मुद्दामा अख्तियारले कमल खतिवडा, प्रवीण गौतम र अजयकुमार सापकोटालाई समेत प्रतिवादी कायम गरेकोमा उनीहरूमाथि कसुर कायम भएको हो । सापकोटा महालेखापरीक्षकको कार्यालय बबरमहलका निर्देशक हुन् ।

विशेषका अनुसार उनीहरू तीनैजनालाई जनही तीन–तीन महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना भराउने फैसला भएको छ । खतिवडा र गौतम कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका लेखापाल हुन् । उनीहरूले मालपोत कार्यालय कलैयाको आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गर्दा कार्यालयमा रहनुपर्ने सक्कली कागजात नै लुकाएको तथ्यलाई बेवास्ता गरी भए–गरेका तथ्यहरू लोप गरी लेखापरीक्षणका आधारभूत सिद्धान्तविपरीत बद्नियतपूर्वक लेखापरीक्षण प्रतिवेदन तयार गरेको आरोप अख्तियारले लगाएको थियो ।

नासु गुप्ता मात्र प्रतिवादी रहेका अर्को राजस्व रकम हिनामिनाको मुद्दामा पनि ६ वर्ष कैद हुने फैसला भएको विशेषले जनाएको छ । यो मुद्दा पनि अख्तियारले २ मंसिर ०७६ मा विशेषमा दर्ता गराएको थियो । जसमा गुप्ता मालपोत कार्यालय पर्सामा कार्यरत रहँदा ७७ लाख ८६ हजारभन्दा बढी रकम सरकारलाई नोक्सानी गराएको अभियोगपत्रमा दाबी थियो । 
विशेषका अधिकृत रेग्मीका अनुसार यो मुद्दामा ७७ लाख ८६ हजार रुपैयाँभन्दा बढी बिगो कायम भएको छ । यो रकमको दोब्बरले हुन आउने रकम एक करोड ५५ लाख ७३ हजारभन्दा बढी जरिवाना उनले तिर्नुपर्नेछ ।

आर्थिक वर्ष ०७०/७१ मा उक्त कार्यालयमा कार्यरत रहँदा तत्कालिन फाँटवाला गुप्ताले उठाएको राजस्व प्रचलित कानूनबमोजिम समयमै दाखिला नगरेको भेटिएको थियो । उक्त रकम हिनामिना गर्नुका साथै महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको पुष्टि हुन आएपछि मुद्दा चलाइएको थियो । उनले लिखत पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिस्ट्रेसन पास गरेको तथा लिखित रजिस्ट्रेसनमा उल्लेख भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरेर रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेकोमा अख्तियारले छानबिन गरी मुद्दा चलाएको थियो ।

यसैगरी, मालापोत कार्यालय पर्सामै कार्यरत रहँदा उनी र उक्त कार्यालयका तत्कालीन लेखापाल विष्णुप्रसाद ढकालमाथि अर्को मुद्दा चलाएको थियो । ७ असोज ०७९ मा विशेष अदालतमा दायर उक्त मुद्दामा दुवैजनालाई जनही एक वर्ष ६ महिना कैद हुने फैसला भएको छ । साथै, गुप्ता र ढकाललाई जनही जरिवाना १२ लाख ३७ हजार ९ सय ६२ रूपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । ढकालले राजस्ववापतको एक लाख ६२ हजार रूपैयाँभन्दा बढी रकम गुप्तासँग रसिदसमेत नलिई नभिडाइ चलानी बुझेका थिए । साथै, गुप्तालाई १२ लाख ३७ हजारभन्दा बढी राजस्व हिनामिनामा पनि ढकालले गुप्तालाई सहयोग गरेको अख्तियारको दाबी थियो ।

गुप्ता यसअघि नै भ्रष्टाचारकै अर्को मुद्दामा दोषी ठहर भइसकेका छन् । गत ४ असारमै उनीसमेत तीनजना दोषी ठहर भएका थिए । यो मुद्दाका अन्य दुई प्रतिवादीले भने सफाइ पाएका थिए । मालपोतका लेखापाल युगलकिशोर ठाकुर र नायव सुब्बा शत्रुधन राउतलाई विशेषले सफाइ दिएको थियो । नासु गुप्तालाई नौ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना सुनाएको थियो । यो मुद्दामा निरज गुप्ता र सुनिल पटेललाई समेत मतियार कायम गर्दै दुवैजनालाई जनही साढे चार–चार महिना कैद तथा साढे १२–१२ हजार रूपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो ।

आव ०७४/७५ मा रजिस्ट्रेसन फाँट नं. ३ मा कार्यरत मदनले आफू कार्यरत अवधिमा बुझेका राजस्व रसिद, पारित गरेका सक्कलै लिखत तथा सोसँग सम्बन्धित अन्य कागजात, लिखत दर्ता किताब, राजस्व रसिदसमेतका विभिन्न कागजात सम्बन्धित कार्यालयमा नबुझाएको भेटिएको थियो । ती कागज उनले आफ्ना सवारी चालक सुनिलकुमार पटेलको डेरामा लुकाएर राखेको अवस्थामा बरामद भएको थियो ।

ad
ad
ad
ad