2023-07-02-04-25-02.jpeg)
नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा पालिकाबाटै उपलब्ध गराउने भन्दै तत्कालीन सरकारले एक पालिका एक प्रभावकारी स्वास्थ्य संस्था अभियान थाल्यो।
जग्गा उपलब्ध भएका कतिपय पालिकामा भवन निर्माणको काम थालियो। अभियानमै थालिएको दैलेखको महावु गाउँपालिकाको भवन अहिले दोसाँधमा छ। निर्माण सम्पन्न नहुँदै ढलान भासियो।
पानी परेका वेला चुहियो, ढलान भत्काउनुपर्ने अवस्था देखिएपछि महावुका जनप्रतिनिधि, निर्माण कम्पनी र विस्तृत आयोजना प्रतिवेदन निर्माण कम्पनीबीच आरोप प्रत्यारोप सुरु भएको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरू आफ्नो कमजोरी लुकाउन निर्माण कम्पनी र डिपिआर निर्माणको जिम्मा लिएकालाई आरोप लगाएका छन्, डिपिआर निर्माण कम्पनीले गाउँपालिका र ठेकेदारलाई आरोप लगाएको छ भने निर्माण कम्पनीले गाउँपालिका र डिपिआर निर्माण कम्पनीलाई आरोप लगाएको छ।
समग्रमा करोडौँको भवन निर्माणमा देखिएको लापरबाहीको जिम्मेवारी महावु गाउँपालिका, निर्माण कम्पनी र डिपिआर निर्माण कम्पनी सबैले लिनुपर्ने देखिएको छ।
महावु गाउँपालिकामा निर्माण हुँदै गरेको १० शय्याको अस्पताल भवन निर्माण कार्य सम्पन्न नहुँदै ढलान भासिएसँगै चुहिएको छ। केही स्थानमा ढलान पचेको अवस्था छ, बर्सातमा पानी चुहिएको छ। आमनागरिकहरूले भवन निर्माणमा सबैको लापरबाही भएको भन्दै आलोचना गरेका छन्।
महावु गाउँपालिकासँगै जोडिएको अस्पताल निर्माणलाई प्रभावकारी बनाउने पहिलो दायित्व गाउँपालिकाको हो तर गाउँपालिकाले नै लापर्बाही गरेकोले भवन निर्माणमा समस्या आएको स्थानीय नागरिकको गुनासो छ।
‘हामी निर्वाचित हुनुभन्दा अगाडि टेन्डर भएको हो। हामी निर्वाचित भएपछि मात्र ढलान भएको हो। वाल र पिल्लर खडा गर्ने काम अघिल्लो कार्यकालमै भएको थियो। ढलान गरिसकेपछि समस्या देखियो भोलि आफूहरूमाथि प्रश्न उठ्छ भनेर मैले नै भुक्तानी रोक्ने निर्णय गरेर स्थानीय प्रशासन र अन्य निकायमा पत्र पठाएकी हुँ,’ कार्यबाहक अध्यक्ष मञ्जु पाण्डेले बताइन्।
भवन निर्माणमा सहायक बिम आवश्यक रहेको भन्ने जानकारी प्राविधिकहरूले हामीलाई दिएको भए, हामी बिम राखेर ढलान गर्ने थियौँ तर हामीलाई कसैले भनेनन् । अहिले समस्या आएपछि पालिकालाई दोष दिनु राम्रो नहुने पाण्डेको भनाइ छ।
आरोप प्रत्यारोपमै व्यस्त
भ्याटबाहेक ५ करोड ५४ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण थालिएको अस्पताल भवनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गलत भएका कारण अहिले समस्या देखिएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष मञ्जु पाण्डेले बताइन्।
उनले डिपिआर गर्ने कम्पनीले ढलानमा राखिने सेकेन्डरी बिम छुटाएका कारण भवनको ढलान चर्किएर पानी चुहिने भएको हो । हामीले नै भुत्तानी रोकेका हौँ, यसमा सबै जिम्मा निर्माण कम्पनीको हुने उनको भनाइ छ।
भवन निर्माणको जिम्मा लिएको मजदुर न्यौपाने जेभी सुर्खेतका सञ्चालन भक्तिप्रसाद न्यौपानेले आफूले इस्टिमेटअनुसार काम गरेको दाबी गरे। उनले भने, ‘मैले पछि समस्या हुन सक्छ पालिकाले स्रोत सुनिश्चितता गरिदिनुपर्यो । म सहायक बिम राखेर काम गर्छु भनेर गाउँपालिकालाई भनेँ, गाउँपालिकाले कुनै वास्ता गरेन, यति ठूलो भवन निर्माणका लागि सेकेन्डरी बिम नराखेकै कारण ढलान पचेको उनले स्वीकार गरेका छन्। पालिकाका इन्जिनियरलाई समेत भनेको तर सुनुवाइ भएन। मैले गल्ती गरेको छैन, स्टिमेटअनुसार गरेको छु।’
अस्पताल भवनको डिपिआर निर्माणको जिम्मा लिएका जेम्स ग्रुप अफ कम्पनीले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार अस्पताल भवनको विस्तृत आयोजना प्रतिवेदन तयार गरेको दाबी गरेको छ। कम्पनीले डिपिआर निर्माण कार्य आर्थिक वर्ष ०७७/७८ मा सम्पन्न गरेको थियो, स्वयल टेस्ट डिटेल डिजाइन डिपिआर निर्माणको काम ११ लाख ७८ हजारमा सम्पन्न गरेको बताएको छ।
६ महिनाअघिदेखि नै सहायक बिम राखेर काम गर्न आफैँले महावु पुगेर सुझाव दिँदासमेत वास्ता नभएकोले सबै गल्ती निर्माण कम्पनी र पालिकाको रहेको कम्पनीका महेश ढुंगानाको जिकिर छ । ‘ड्रोइङमा सहायक बिमको कुरा थियो। म आफू महावुको बासिन्दा भएकोले यो कुरा सम्झाएको तर वास्ता गरेनन्। निर्माण कम्पनीले पनि चासो देखाएन,’ ढुंगानाले भने।
सबै कमिसनमा बिक्री भए : स्थानीय
स्थानीय नागरिकको गुनासो भने फरक छ, स्थानीयहरू जनताको स्वास्थ्य क्षेत्रका लागि निर्माण गरिएको भवन प्रभावकारी बनाउन सबै लाग्नुपर्ने तर सबै निकायहरू कमिसनमा बिक्री भएपछि समस्या आएको बताउँछन्।
स्थानीय प्रकाश बुढाले जनप्रतिनिधि र कर्मचारी सबैको मिलेमतो भएकोले भवन निर्माणमा गुणस्तरीयता कायम नभएको बताए, उनले भने, 'कमिसनको चक्करमा अस्पताल भवनमा निर्माणमा लापरबाही भएको छ।'
‘राज्यले अस्पताल भवन निर्माणमा ठूलो लगानी गरेको छ, स्थानीय सरकार र कर्मचारीको मिलेमतोमा कमिसन खाए। अहिले एकले अर्कोलाई आरोप लगाउनु सबैको कमजोरी हो,’ उनले भने।
कोरोनाकै वेला बनेको थियो २५ शय्याको अस्पताल
कोरोना महामारी भएका वेलामा दैलेखको महावु गाउँपालिकामा प्रिफेप मोडेलमा २५ शय्याको अस्पताल निर्माण गरिएको थियो, दैलेख सदरमुकाममा ५२ शय्याको आइसुलेसनसमेत २०७६ सालमा निर्माण गरिएको हो।
महावुमा निर्माण सम्पन्न अस्पतालमा भिडियो एक्स–रे, इसिजीलगायतका सेवाहरू प्रदान गरिँदै आएको छ। पक्की भवनसहितको सुविधा सम्पन्न अस्पताल आवश्यक हो, तर एउटा अस्पताल निर्माण भएर काम भइरहेकोमा पुनः स्वास्थ्यमै लगानी गर्नु पनि गैरजिम्मेवारी रहेको स्थानीयको आरोप छ।
पक्की भवन बनाउनु ठीक हो, तर कमिसनका कारण प्रभावकारी काम नहुनु, गुणस्तरीय र दिगो विकासमा पालिकाले ध्यान नदिनु निर्माण कम्पनी र पालिकाको कमजोरी रहेको स्थानीयको आरोप छ।