
पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही (सुनसरी) खण्ड एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेन विस्तार गर्न विभिन्न प्याकेजमा ३१ अर्ब ७० करोडको ठेक्का आह्वान भइसकेको छ । काँकडभिट्टा–लौकही सडक आयोजना प्रमुख चुडा ढकालका अनुसार एक सय २० किलोमिटरमध्ये ९५ किलोमिटर सडक विस्तारको काम मंसिरदेखि सुरु हुनेछ ।
तर, सडक डिभिजन कार्यालय दमकले सडक बोर्डको मर्मत बजेटअन्तर्गत आर्थिक वर्षको अन्त्यतिर यही खण्डको काँकडभिट्टादेखि झापा र मोरङको सिमाना रहेको मावा नदीसम्म मर्मत–विस्तार गर्न एक करोड २२ लाख बजेट सक्दै छ ।
चैतमा ठेक्का पाएको सयपत्री इन्जिनियरिङ एन्ड कन्सल्टेन्टले असोजभित्र सडक मर्मतसँगै झिलझिले, चारपाने, रामचोक, दुर्गापुर, बिर्तामोडमा सडक फराकिलो बनाउने सडक डिभिजन कार्यालय दमक इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।
राजमार्ग विस्तारका लागि केही महिनामै डिभिजनको खर्चमा मर्मत–विस्तार भएको सडक फेरि भत्काउनुपर्ने काँकडभिट्टा–लौकही आयोजना प्रमुख ढकालले बताए । ‘हामी सम्भवतः मंसिरदेखि सडक विस्तारको काम सुरु गर्छौँ ।
यसरी सडक डिभिजनले सडक फराकिलो गर्ने काम त नगर्नुपर्ने हो । चौडा गर्दा त फराकिलो गरेको सडक भत्कन्छ,’ उनले भने, ‘अहिले खर्च गरेर भोलि भत्काइहाल्ने काममा नलाग्नु नै राम्रो हुन्छ । त्यहाँको परिस्थिति बुझेर मात्र थप भन्न सक्छु ।’
सडक डिभिजनले भने सडक मर्मतको काम मात्र गरिएको जनाएको छ । केही ठाउँमा सडक विस्तार भइरहेको भए पनि सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलले भने मर्मतको काम मात्र भइरहेको जिकिर गरे । उनले बजार क्षेत्रमा सस्तो प्रविधिबाट सडक मर्मत गरेको बताए ।
‘बजार क्षेत्रमा धुलो, हिलो हुने अवस्था भइरह्यो भनेर हामीले सस्तो प्रविधिको मर्मत गर्ने काम गरिरहेको हो । सडक चौडा गर्ने काम भएको छैन । गाडी रोक्ने ठाउँ, जहाँ असाध्यै बिग्रिएको छ, त्यहाँ कालोपत्रेले मर्मत गर्न मात्र लागिएको हो,’ उनले भने, ‘एडिबीको ठेक्का लागिसकेको छैन, ठेक्का लाग्न अझै केही समय लाग्छ । अनि ठेक्का लाग्नेबित्तिकै कन्ट्र्याक्टरले सडक मर्मत गर्दैन । रूख काट्छ, पोलहरू हटाउँछ, कल्भर्ट र पुल बनाएर मात्र अन्तिममा कालोपत्रे गर्छ । अहिले मर्मत नगरे त्यसवेलासम्म सडक बिग्रिएर यात्रुले सास्ती भोग्नुपर्छ ।’ उनले अहिले नगरी नहुने ठाउँमा मात्र मर्मतको काम गरिएको दाबी गरे । यो राजमार्गमा सधैँ मर्मतको काम भएको पौडेलले बताए ।