१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीमा क्षेत्रका वन र वन्यजन्तुविरुद्ध हुने गतिविधि न्यूनीकरण गर्न संयुक्त प्रयास आवश्यक

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:oo:oo

नेपाल र भारतका वन अधिकारी, संरक्षणकर्मी र सुरक्षाकर्मीले सीमा क्षेत्रमा रहेका वन र वन्यजन्तुविरुद्ध हुने गैरकानुनी गतिविधि न्यूनीकरण गर्न संयुक्त प्रयास आवश्यक रहेको औँल्याएका छन्।

शुक्रबार महेन्द्रनगरमा डिभिजन वन कार्यालय कञ्चनपुरले आयोजना गरेको स्थानीय मुद्दा र वन, वन्यजन्तु संरक्षण विषयक छलफल कार्यक्रममा दुवै देशका सरोकारवालाले वन र वन्यजन्तुविरुद्ध हुने अपराध न्यूनीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका हुन्। वन अधिकारी, संरक्षणकर्मी एवं सुरक्षाकर्मीले सीमा क्षेत्रमा रहेको वन, वन्यजन्तुको संरक्षणका लागि एक आपसमा समन्वय गरेर आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरे।

वन र वन्यजन्तु तस्कर समूहले नेपाल र भारत दुवैतर्फ संरक्षणमा चुनौती थपिदिएपछि त्यसको निराकरणका लागि आ–आफ्नो ठाँउबाट सबैले पहल गर्नुपर्नेमा उनीहरूको जोड थियो। काठ, वन्यजन्तु र जटिबुटी तस्करले नेपाल भारत सीमावर्ती क्षेत्रका वन र वन्यजन्तु संरक्षणमा चुनौती थपिदिएको भन्दै संरक्षण अपरिहार्य रहेको उनीहरूले औँल्याए।

मुलुक संघीयतामा गएसँगै तत्कालीन जिल्ला वन कार्यालय अहिले डिभिजन वनमा परिणत भएको छ। उक्त डिभिजन वन प्रदेश सरकारमातहत रहेपछि पहिलोपटक डिभिजन वनले नेपाल–भारतका वन अधिकारीबीच सीमा क्षेत्रको वन र वन्यजन्तु संरक्षणका लागि संयुक्त छलफल आयोजना गरेको हो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जिल्ला भारतसँग जोडिएकाले वन अपराध न्यूनीकरणका साथै वन, वन्यजन्तुको संरक्षणका लागि संयुक्त प्रयास अपरिहार्य रहेको बताए।

उत्तराखण्ड हल्द्वानीकी उपवन अधिकारी ममता चन्दले वन र वन्यजन्तु संरक्षणमा दुवै देशका वन अधिकारी, संरक्षणकर्मी एवं सुरक्षाकर्मीबीच आपसी समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताइन्। सीमा क्षेत्रमा वन अपराध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले वन्यजन्तुका लागि कुनै सीमा नहुने भएकाले दुवै देशका संरक्षणकर्मीले संरक्षणमा गम्भीर हुनुपर्ने बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार छलफलपछि दुवै देशका वन अधिकारीबीच वन तथा वन्यजन्तुको संरक्षणका लागि आगामी दिनमा थप समन्वयकारी ढंगबाट अघि बढ्ने सहमति भएको जानकारी दिए।

ad
ad