१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १४:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्यावसायिक धान उत्पादनमा सरोकारवालाको जोड

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२o:oo

कञ्चनपुरका सरोकारवाला निकायले व्यावसायिक धान उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्। धानलाई निर्वाहमुखी तरिकाले नभई व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन्।

शुक्रबार २०औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायका पदाधिकारी एवं प्रतिनिधिले धानखेती व्यावसायिक रूपमा गर्नुपर्ने औँल्याए।

जिल्लाका नाैवटै पालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धानजोन)ले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले विदेशबाट चामल आयातलाई विस्थापित गर्दै स्वदेशमै धान उत्पादन गर्नुपर्नेमा जोड दिए।

भीमदत्त नगरपालिका– १६ मझगाउँ रन्न टोलका स्थानीय युवा दशरथ भण्डारीको खेतमा आयोजना गरिएको धान महोत्सवमा कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले जिल्लाभरि झन्डै ५६ हजारभन्दा बढी हेक्टर जमिन खेती गरिए पनि ४८ हजार चार सय ९६ हेक्टर जमिनमा मात्रै धान खेती गरिएको बताए। जिल्लाका नाै पालिकामध्ये सबैभन्दा बढी बेलौरी नगरपालिकामा आठ हजार सात सय ९६ र सबैभन्दा कम बेलडाँडी गाउँपालिकामा दुई हजार पाँच सय हेक्टर जमिनमा धानखेती गरिन्छ ।

दोधाराचाँदनीमा दुई हजार सात सय, भीमदत्त नगरपालिकामा ६ हजार पाँच सय, बेदकोट नगरपालिकामा पाँच हजार ६ सय, शुक्लाफाँटामा पाँच हजार आठ सय, कृष्णपुरमा पाँच हजार पाँच सय, पुनर्वासमा सात हजार पाँच सय र लालझाडीमा तीन हजार ६ सय हेक्टर जमिनमा धानखेती गरिन्छ।

असार मध्यसम्ममा १४ हजार सात सय ७२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। कञ्चनपुरमा झन्डै ३१ प्रतिशत धान रोपाइँ भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धानजोन) कञ्चनपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जु रिमाल (जोशी)ले उत्पादन लागत घटाउँदै धान उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइन्। रासायनिक मलसमेत विस्थापन गर्दै प्रांगारिक मल उत्पादन गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइन्। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कृषिमा राम्रो सम्भावना भएको जिल्लाका युवा विदेश पलायन हुने दर रोक्नुपर्नेमा जोड दिए।

रत्न कृषि सहकारी संस्थाका अध्यक्ष दशरथ धानुकले सरकारले युवाहरूलाई कृषिमा आकर्षित गर्न तालिम, उपकरण प्रविधिसहित उत्प्रेरणायुक्त कार्यक्रम सञ्चालनमा जोड दिए। भीमदत्त नगरपालिका– १६ का वडाध्यक्ष केशव विष्टले कृषिमा व्यावसायिकता ल्याउनुपर्नेमा जोड दिए। 

यसैबीच बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनीले समेत आ–आफ्नो पालिकामा धान दिवस मनाउँदै धान उत्पादनमा पालिका आत्मनिर्भर बनाउने प्रतिबद्धता जाहेर गरेका छन्। पालिका कृषि शाखाले किसानलाई यन्त्र–उपकरणदेखि विविध कृषि सामग्री वितरण गरेका छन्।

ad
ad