
रुसले युक्रेनमा पूर्णस्तरको आक्रमण थालेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गलत आकलनबारे धेरै कुरा भए । गत अक्टोबरमा मैले पुटिनको मैमत्ता र अहंकारबारे लेखेको थिएँ । अहंकार र मैमत्ताका कारण उनले रुसको सैन्य क्षमतालाई ज्यादा र युक्रेनी प्रतिरोधी क्षमतालाई कम आँके । नेटोको एकता र अमेरिकाको रणनीतिक दृढताबारे उनको हिसाब गलत रह्यो ।
तर, विनाशकारी दुष्परिणाम युक्रेन र बाहिरसम्म विस्तारित गरेको यस खराब निर्णयका दोषी रुसी राष्ट्रपति पुटिन एक्लै मात्रै भने होइनन् । युद्ध अन्तहीन ढंगले जारी रहिरहेको परिप्रेक्ष्यमा युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका पश्चिमा सहयोगीको गलत आकलनको चर्चा गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यी परिणतिले रुसको असफलतालाई प्रतिबिम्बित त गर्छन् नै, यी दुवै नेता साम्राज्यवादी अभिमानको परिणाम के हुन्छ भनेर सिक्न पनि असमर्थ साबित भएका छन् ।
सुरुदेखि नै युक्रेन युद्धलाई लोकतन्त्र र निरंकुशताबीचको विश्वव्यापी द्वन्द्व र अन्तर्राष्ट्रिय कानुन एवं राष्ट्रिय सार्वभौमसत्ताको सम्मानका निम्ति रुसी आक्रामकतालाई अभिशापका रूपमा चित्रित गर्दै बाइडेनले आफ्नो नैतिक धरातललाई उच्च राखे । उनले एकातर्फ यस धर्मयुद्धमा सामेल हुन विश्वका तानाशाहलाई आह्वान गर्दै रहे भने अर्कातिर अमेरिकाले चलाइरहेका अवैध युद्धहरूलाई भने बेवास्ता गरिरहे ।
बाइडेनले रुसी राष्ट्रवादको शक्तिलाई कम आकलन गरे भने रुसी सीमातर्फ नेटोेको विस्तारप्रति रुसी साम्राज्यवादको आधारहीन बहानाबाजीका रूपमा मस्कोको भयलाई अस्वीकार गरे । युद्धका सुरुवाती महिनामा बाइडेनले दोनबास क्षेत्रमा द्वन्द्व अन्त्य गर्न सन् २०१४ र सन् २०१५ मा हस्ताक्षरित मिन्स्क सम्झौता कार्यान्वयनको प्रयासलाई कमजोर बनाउने काम गरे । उक्त सम्झौता पूर्वी युक्रेनमा दुई स्वायत्त रुसी क्षेत्रहरू खडा गर्न र युक्रेनमा रुसी हस्तक्षेपको विस्तारलाई रोक्न गरिएका थिए ।
यी सम्झौतामा युक्रेन र रुस दुवैले हस्ताक्षर गरेका थिए, तर तिनलाई परिमार्जन गर्न र निष्कर्षमा पु¥याउन सहयोग गरेका फ्रान्स र जर्मनीले कार्यान्वयनका लागि भने पर्याप्त प्रयास गर्न सकेनन् । यो विनाशकारी युद्धबाट युरोपले धेरै गुमाउनुपरेको छ, तर युरोपेली शक्तिले यो युद्ध रोक्न कत्ति पहल गरेनन् ।
बाइडेनले पनि रुसको सैन्य सहनशीलतालाई कम आँके । अफगानिस्तानीहरूले अमेरिकी सहयोगमा सोभियत संघलाई पराजित गरेजस्तै युक्रेनीहरूले पनि उसलाई पराजित गर्ने अनुमान गरे । तर, साझा इतिहास र भौगोलिक निकटतालाई हेर्दा मस्कोका लागि युक्रेन अफगानिस्तानभन्दा धेरै महत्वपूर्ण र रणनीतिक छ । पुटिनको दृष्टिबाट युक्रेन रुसको राष्ट्रिय सुरक्षा र उनको शासनको निम्ति महत्वपूर्ण छ । उनले युक्रेनलाई पश्चिमी गठबन्धनमा सामेल भएको हेर्नभन्दा ध्वस्त बनाउन चाहे ।
बाइडेनले पनि रुसको सैन्य सहनशीलतालाई कम आँके । अफगानिस्तानीहरूले अमेरिकी सहयोगमा सोभियत संघलाई पराजित गरेजस्तै युक्रेनीहरूले पनि उसलाई पराजित गर्ने अनुमान गरे । तर, साझा इतिहास र भौगोलिक निकटतालाई हेर्दा मस्कोका लागि युक्रेन अफगानिस्तानभन्दा धेरै महत्वपूर्ण र रणनीतिक छ ।
युद्धको पहिलो वर्षको अवधिमा रुसी सेनाको किभदेखि खार्किभसम्मको असफलताले युक्रेनको संकल्प र प्रतिरोधको क्षमतालाई उजागर गर्छ । तर, यो वर्षबाट युद्धको लहरमा परिवर्तन हुन थालेको छ । महिनौँको लडाइँपछि बख्मुतमा रुसी कब्जाले ऊ पनि यो युद्ध जित्न कम दृढ संकल्पित छैन भन्ने देखाउँछ । यसले विनाशकारी गतिरोध मात्रै निम्त्याउनेछ । बाइडेनले युक्रेनको युद्ध क्षमतालाई पनि बढी नै आकलन गरे । यद्यपि, युद्ध अहिलेसम्म युक्रेनी भूमिमा परम्परागत तरिकाले नै लडिएको छ, जसका कारण ठूलो रुसी सैन्य क्षमता युक्रेनको सानो सेनालाई पराजित गर्न र उसको अधिकांश अर्थतन्त्रलाई ध्वस्त बनाउन समर्थ भएको छ । तर, यी असफलताले पनि अमेरिका र उसका सहयोगीलाई युक्रेनको सहयोगलाई थप सघन बनाउन रोकेको छैन ।
१९ मेमा हिरोसिमामा आयोजित जी–७ देशहरूको बैठकले ‘जहिलेसम्म युक्रेनलाई वित्तीय, मानवीय, सैन्य तथा कूटनीतिक सहयोग चाहिन्छ, तबसम्म उपलब्ध गराइरहने प्रतिबद्धता’ नवीकरण गर्ने वचनबद्धता गरेको छ । यो अमेरिका र यसका सहयोगीले सैन्य अभियानको उद्देश्यमा परिवर्तन गर्न लागेको अर्को संकेत हो । युक्रेनमा गोलाबारुद पठाएर सुरु भएको सैन्य सहयोग अमेरिकी तथा जर्मन ट्यांक हुँदै प्रतिरक्षा प्रणाली र ड्रोनहरू आपूर्तिमा विस्तार भएको छ, जसले युक्रेनलाई रुसी भूभागसम्म पुग्न सक्ने बनाएको छ । हालैमा अमेरिका रुसको हवाई क्षमतालाई टक्कर दिन युक्रेनलाई एफ–१६ लडाकु विमान दिन पनि सहमत भएको छ । रुसले किभलाई यो विमान उपलब्ध गराए असह्य हुने चेतावनी दिएको छ भने विज्ञहरूले पनि तत्काल यसको उपयोगितामाथि प्रश्न उठाएका छन् ।
युद्धमोर्चाको कुनै पनि जित निकै महँगो हुनेछ । प्रतीक्षित युक्रेनी प्रत्याक्रमणले नाटकीय विजय निकाल्न सफल भयो भने त्यसले रुसलाई आणविक हतियारको प्रयोगतर्फ धकेल्न सक्छ, जसले युक्रेन र बाँकी युरोपमा विनाशलीला मच्चाउन सक्छ । मस्कोले रणनीतिक आणविक हतियार प्रयोगको धम्की दिइरहेकै छ । तर, रुसको आणविक धम्कीलाई थप पश्चिमा हस्तक्षेप रोक्ने प्रपञ्च मात्रै हो भन्ने अमेरिकी प्रशासनको ठम्याइ छ ।
क्रेमलिनले सन् २००० यता आणविक हतियार प्रयोगको थ्रेसहोल्ड घटाएको छ । उसले मुलुकको अस्थित्व खतरामा परेको अवस्थामा मात्र होइन, ‘युद्धको संकट समाधान गर्ने अन्य सबै माध्यम सकिएको वा प्रभावहीन भएको अवस्थामा पनि आणविक हतियार प्रयोग गर्न सकिने’ गरी सीमा घटाएको छ ।
युक्रेन युद्धमा पश्चिमी एकतालाई जसरी पुटिनले कम आकलन गरे, बाइडेनले पनि लम्बिँदो यो युद्धलाई युरोपको समस्याका रूपमा लिने बाँकी विश्वको उदासीनतालाई नजरअन्दाज गरेका छन् । बाँकी विश्वले रुससँग बन्द व्यापार जारी राख्दा पश्चिमा प्रतिबन्धहरू मस्कोको हिसाब बदल्न असफल छन् । संक्षेपमा, रुस र पश्चिम दुवैले युद्धलाई जसरी पछ्याएका छन्, उसरी नै उद्देश्यपूर्ण र कटिबद्धताका साथ कूटनीतिलाई पछ्याउन असफल भएका छन् ।
दुवै पक्ष हातहतियार थुपार्दै, आणविक विनाशको त्रास देखाउँदै र यस युद्धलाई ‘जित या मर’को स्थितिका रूपमा प्रस्तुत गरिरहेका छन् । रुस र पश्चिमबीचको कट्टर मतभेदलाई हेर्दा यो युद्ध निकट भविष्यमै शान्ति सम्झौतामा बदलिने
सम्भवना देखिँदैन ।
अन्ततोगत्वा यो युद्ध उत्तर र दक्षिण कोरियाबीचको ७० वर्ष लामो अघोषित युद्धविरामजस्तै गतिरोध र शत्रुताको दीर्घकालीन अवस्थामा पुग्न सक्छ । त्यस अवस्थामा रुसले उत्तरमा खार्किभदेखि दक्षिणमा खेरसनसम्मलाई असैन्यकरण क्षेत्रको रूपमा विकास गर्न जोड दिन सक्छ । यसैबीच, युद्धले रुसी र पश्चिमाको सुरक्षा र स्थिरता नासिरहँदा चीन भने निर्धक्क उदाइरहेको छ । र, अमेरिकाको टाउको दुखाउँदै ऊ पहिलेभन्दा थप बलशाली र विश्वसनीय बन्दै गइरहेको छ ।
(बिसारा अलजजिराका वरिष्ठ राजनीतिक विश्लेषक हुन्)