मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Wednesday, 15 January, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८o असार १२ मंगलबार o८:३१:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

सार्वजनिक यातायातमा सकसपूर्ण यात्रा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार o८:३१:oo

यात्रुले गुनासो नगर्दा सवारी सञ्चालकको मनपरी, भाडा अनुगमन गर्न प्रहरीको ‘हाउ मच’ टोली परिचालन

पात्र १
बा.१ख ९२३६ नम्बरको नेपाल यातायात बसका सहचालकले तिनकुनेदेखि चढेर अनामनगरसम्म झरेका घनश्याम अधिकारीलाई २५ रुपैयाँ भाडा लिए । १९ रुपैयाँ भाडा भए पनि अधिकारीले २० रुपैयाँको नोट दिएका थिए । त्यसबाट फिर्ता गर्नु त परेको कुरा, हप्काउँदै उल्टो पाँच रुपैयाँ मागे । विवाद गर्नुभन्दा दिनु नै ठीक ठानेर उनले पाँच रुपैयाँ थपिदिए । 

पात्र २
नेपाल यातायातको बा.५ख ३६ नम्बरको बसबाट पुतलीसडकबाट तिनकुनेसम्म गएका राजु आचार्यले पनि भाडादर २५ रुपैयाँ तिर्ने गरेका छन् । हरेक दिन गाडीभाडामा मात्रै सय–डेढ सय रुपैयाँ सकिने उनले बताए । सोमबार तिनकुनेमा भेटिएका उनले भने, ‘भाडा सस्तियो भनेको सुनेको थिएँ, तर बसवालाले पुरानै भाडा लिइरहेका छन् ।’

पात्र ३
भक्तपुर दूधपाटी हुँदै आइतबार रत्नपार्कसम्म आएका सुरेश श्रेष्ठले बा.३ख ४७३६ नम्बरको बसलाई ४५ रुपैयाँ भाडा तिरे । यो रुटमा सरकारले तोकेको भाडादर जम्मा २२ रुपैयाँ मात्रै हो । तर, सहचालकले तोकिएभन्दा बढी भाडा लिएपछि श्रेष्ठले ठगिएको अनुभव गरे । सहचालकसँग झगडा नै पर्ने अवस्था भएपछि उनी मागेजति भाडा दिएर बाटो लागे ।

पात्र ४
भक्तपुरको च्यामासिंह हुँदै सहिदगेट–रत्नपार्क आएका यात्रु मोहन भट्टराईले उक्त रुटमा चल्ने बा.३ख २४६४ नम्बरको बसले बढी भाडा लिएको बताए । यो रुटको भाडादर २२ रुपैयाँ भए पनि उनीसँग ४५ रुपैयाँ असुलेको बताए । 

यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । उपत्यकामा सार्वजनिक यातायात प्रयोगकर्ता हजारौँ यात्रुहरू दैनिक ठगिने गरेका छन् । सार्वजनिक यातायातहरूले यात्रुबाट नदेखिने गरी चर्को भाडा असुल्छन् । उपत्यका ट्राफिक प्रहरीले गरेको अध्ययनअनुसार उपत्यकामा  दैनिक कम्तीमा ६ हजार यात्रु ठगिने गरेका छन् । यसमध्ये अधिकांश यात्रुबाट मनलाग्दी भाडा असुलीमा ठगिने गरेका छन् । 

यसरी दिनदहाडै हजारौँ यात्रु ठगिँदासमेत नियमनकारी निकायहरू यातायात व्यवस्था विभाग, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय मुकदर्शक बनेका छन् । हरेकजसो चोकमा उभिएका ट्राफिक प्रहरीले समेत क्षमताभन्दा बढी यात्रु ओसार्ने र बढी भाडा असुल्नेलाई कारबाही गरेको पाइँदैन । विभाग र श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका साधनमा यात्रुहरूले पाएको समस्याबारे अनुगमन नै गरेको छैन । 

हाल भाडादर समायोजन, कार्यान्वयन, अनुगमनलगायत मुख्य जिम्मा प्रदेश सरकारलाई छ । तर, प्रदेश सरकारले यसबारे चासो नदिएकाले सहरी क्षेत्रको यातायात सेवा भद्रगोल र अस्तव्यस्त बनेको हो । पछिल्लो समय यातायात व्यवस्था विभागले पनि सवारीसाधनको अनुगमन गर्न छाडेको छ । सरकारी निकायको उदासीनताका कारण उपत्यकामै दिनहुँ हजाराैँ यात्रुहरू ठगिने गरेका छन् भने कोचाकोच भएर यात्रा गर्नसमेत बाध्य हुनुपरेको यात्रुहरूको गुनासो छ । ‘उपत्यकाको सार्वजनिक यातायात भद्रगोल छ, समयमा बस आउँदैन, ओराल्दा सही ठाउँमा ओराल्दैनन्,’ भक्तपुर बालकोट बस्ने नरेन्द्र चुदालीले भने, ‘अझ भाडा पनि मनपरी लिन्छन् ।’ 

यात्रुहरूलाई सजाय दिइरहेका छन् : गजुरेल 
यातायातविद् आशिष गजुरेलले नेपालको सार्वजनिक यातायात यातनापूर्ण रहेको बताए । उनले उपत्यकाभित्रकै बसमा ओहोरदोहोर गर्दा यात्रु ठगिने, लुटपाटमा पर्ने, सहचालकको अभद्र व्यवहार सहनुपर्ने, कोचाकोच भएर यात्रा गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । ‘बिदाको दिन सार्वजनिक यातायात प्रयोग गर्ने गरेको छु, सहचालकले जतिसक्दो यात्रु कोच्न खोज्ने, दायाँ–बायाँ फर्काएर कोच्ने, सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुलाई सजाय पाएको अनुभूति हुँदो रहेछ,’ उनले भने, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरौँ र सार्वजनिक यातायातको सुधार गरौँ ।’ उनका अनुसार उपत्यकाको यातायात व्यवस्था सुधार गर्नका लागि स्थानीय सरकार, भौतिक मन्त्रालय, प्रदेश मन्त्रालयलगायत सबैले चासो दिन आवश्यक छ । उनले उपत्यकामा सुधारिएको बस सञ्चालन गर्ने हो भने यात्रुहरूलाई सास्ती कम हुने र पिक आवरमा पनि सहज हुने बताए । 

राजपत्रमा प्रकाशित भाडादरसमेत मान्दैनन् यातायात व्यवसायी
गत ८ जेठमा बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय बैठकले नयाँ भाडादर समायोजन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै बागमती प्रदेशस्तरको नयाँ भाडादर कायम गरी ११ जेठमा राजपत्रमा प्रकाशन गरेको थियो । तर, नयाँ भाडादर कार्यान्वयनको सम्बन्धमा सरकारी निकायले बेवास्ता गर्दै आइरहँदा यात्रुहरू ठगिनुपरेको छ । बागमती प्रदेश, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बढी भाडादर असुल्ने, अभद्र व्यवहार गर्ने, कोचाकोच यात्रु चढाउने, उल्टो सिटमा यात्रुलाई राख्नेलगायत गतिविधि गरेको पाइएकामा कारबाही गरिने बताए । उनले यात्रुहरूबाट नै कम गुनासो आउँदा कारबाहीमा समस्या परेको बताए । ‘पछिल्ला दुई महिनामा जम्मा २४ वटा गुनासो आएका छन्, गुनासाका आधारमा हामीले ती सवारीसाधनलाई ट्राफिक प्रहरीको सहयोगमा कारबाही पनि गरेका छौँ,’ उनले भने, ‘तोकिएभन्दा बढी भाडा असुल्ने र यात्रुहरूलाई दुव्र्यवहार गर्नेमाथि कारबाही गर्छौँ ।’