१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बुटवलको बजेट २ अर्ब ३६ करोड, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:३५:oo

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेस गरेको छ।

उपमहानगरपालिकाको १३औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्यसहित शिक्षामा विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा दुईवटा अस्पताल सञ्चालन गर्ने प्रस्ताव पेस गरेकी छिन्। बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरूको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख छुट्याइएको छ।

स्वास्थ्यतर्फ बुटवल १३ र १७ मा १५–१५ शय्याका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न २ करोड बजेट छुट्याइएको छ। वडा नं. १३ को अस्पताललाई चौबीसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने, बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क गराउने घोषणा बजेटमार्फत गरिएको छ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको उपप्रमुख अर्यालले बताइन्। नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

यस्तै, १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन, नगरवासीलाई जटिल रोग (मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया)को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रमले निरन्तरता पाएका छन्।

विद्यालयहरूको स्तरोन्नति तथा भौतिक सुधारका लागि २ करोड रुपैयाँ, बुटवलमै स्वास्थ्य जनशक्ति उत्पादनका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पारामेडिकल शिक्षा सुरु गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ। बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरू, अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गर्ने घोषणा गरिएको छ।

उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट र सौन्दर्यकरणका लागि ४ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ।

बुटवलको मुख्य सडक क्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन तय गर्ने र त्यसको व्यवस्थापन तथा सहकार्यमा नगरले जनशक्ति परिचालन गर्ने कार्यक्रम ल्याएको छ। 
नगर क्षेत्रभित्रका सडकहरूमा स–साना खाल्टाखुल्टी पुरी आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न २ करोड, वडाहरूको समग्र विकासका लागि १६ करोड ५० लाख छुट्याइएको छ। यस्तै, बुटवलमा पार्किङ व्यवस्थापन गर्न सार्वजनिक र निजी जग्गाको उपयोग गर्ने कार्यक्रम नगरले ल्याएको छ।

बुटवलभित्रका सबै गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख अर्यालले बताइन्। बुटवलले व्यवसाय दर्ता, नवीकरण, घरबहाल करजस्ता क्षेत्रको राजस्व संकलन गर्न र दायरा बढाउनका लागि राजस्व संकलन स्पेसल टास्क फोर्स गठन गरी परिचालन गर्ने नीति अगाडि सारिएको छ।

यस्तै, बुटवलमा रात्रिकालीन बजार सञ्चालन, छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापना गर्ने, लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाई, सुरक्षित विश्राम स्थलका रूपमा विकास गर्ने कार्यक्रम ल्याइएको छ।

बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना गर्ने, रात्रिकालीन बजार सञ्चालन तथा पर्यटन प्रवर्द्धन, जितगढी किल्ला, मणिमुकुन्दसेन दरबार, जितगढी युद्ध संग्रहालयलाई नगर सम्पदाका रूपमा प्रवर्द्धन गर्ने कार्यक्रम बुटवलले ल्याएको छ।

त्यसैगरी, खेलाडी उत्पादनका लागि नगरको प्रमुख खेलकुद कार्यक्रमका विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ। मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरूलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रमले बजेटमा स्थान पाएका छन्।

महिलाहरूलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास, अपांगता भएका व्यक्तिहरूलाई सीप र रोजगारसँग जोड्ने कार्यक्रम बजेटमा ल्याइएको छ।

एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इ–रिक्सा र टेम्पुको सवारी धनी भई स्वयं चालक भएकाहरूलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने बजेटमा उल्लेख छ।

ad
ad