
सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन्।
‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’का लागि एक सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उनको तर्क छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको दाबी गरे।
‘मैले देखिराखेको छु– सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ। अस्तव्यस्त छ भन्ने खालको कुरा आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एकजना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त तीन दिन अगाडि प्रश्न गरेको हो नि । उहाँको सचिवालयले तयार गरिदिनुपर्थ्यो कि पर्दैनथ्यो ? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय,’ उनले भने, ‘अहिले मन्त्रीहरूले मन नपराएका सचिवहरू त्यहाँ कवाडी खानाजस्ता थन्क्याउने स्थिति रहेछ। हरेक फ्रस्टेड सचिवहरू त्यहाँ जम्मा हुने भएपछि उनीहरूले काम गर्छन ?’
प्रधानमन्त्री दाहालले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत निकायहरूलाई कायमै राखेकोमा पनि उपाध्यक्ष पाण्डेले आपत्ति जनाएका छन्। सरकारले ल्याएको बजेट सन्तुलित नभएको उनको टिप्पणी छ।