ट्रेकिङ जाँदा भनेकै ठाउँमा होटेल–रेस्टुरेन्ट नभेटिन सक्छ । त्यसैले आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिर्सन हुँदैन । हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरू बोक्दा राम्रो हुन्छ । किनभने, धेरै भारी पनि हुँदैन, खाँदा पनि इनर्जी दिन्छ ।
पानी बोक्न भुल्नुहुँदैन । तपाईंको शरीर हाइड्रेट रहन आवश्यक छ । कम्तीमा पनि तीन लिटर पानी यात्राका क्रममा तपाईंसँग हुनुपर्छ । पानीको बोतलसँगै पानी शुद्धीकरण गर्ने पियूष पनि बोक्नु राम्रो हुन्छ । लामो दूरीको ट्रेकिङ गर्दैै हुनुहुन्छ भने इनर्जी ड्रिंक्स बोक्न नबिर्सनुस् । यसले तपाईंको शरीरलाई ऊर्जा दिन्छ ।
कफी वा टी–ब्याग पनि बोक्नु राम्रो हुन्छ । यसले तपाईंको मुड फ्रेस गर्छ र इनर्जी पनि दिन्छ । नट र चकलेट बोक्दा धेरै भारी हुँदैन, यो निकै पोषक तत्वले भरिएको हुन्छ । ड्राई फ्रुट्सले पनि तपाईंलाई इनर्जी दिन्छ । यसमा शरीरलाई आवश्यक पर्ने प्र्रोटिनको मात्रा प्रचुर हुन्छ ।
तपाईंले स्याउ, अंगुर, सुन्तला, केरालगायत केही ताजा फलफूल पनि बोक्न सक्नुहुन्छ । बिस्कुट, पाउरोटीलगायत तयारी खानेकुरा पनि बोक्नुपर्छ । मैदा नभएर जौबाट बनेका खानेकुरा बोक्नु राम्रो हुन्छ । तयारी चाउचाउ पनि साथमा बोक्दा हुन्छ ।