मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ७ बिहीबार o७:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१६औँ योजना बनाउन अघि बढ्यो आयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार o७:३८:oo

राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञहरूसँग सुझाव लिएको छ । आयोगले आर्थिक वर्ष ०८१/८२ देखि कार्यान्वयनमा आउने गरी १६औँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । १६औँ योजना कस्तो बनाउनुपर्छ ? भन्ने विषयमा बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले आफ्ना पूर्वउपाध्यक्ष तथा विज्ञहरूसँग सुझाव लिएको हो ।

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्दै १६औँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले विज्ञहरूको सुझाव लिएर काम अघि बढाइने बताए । 

आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले  अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने बताए । त्यस्तै, सरकारले अघि सारेको गौरवका आयोजनाको परिभाषा फेरिनुपर्ने उनले बताए ।

‘हामीले यति धेरै किसिमले डिभाइड गर्‍याैँ हाम्रा कार्यक्रमलाई राष्ट्रिय गौरवका भनेका छौँ । गेम चेन्जर भनेका छौँ, यो भनेका छौँ अनि त्यो भनेका छौँ । विभिन्न किसिमले गरेका छौँ अनि कम्प्लिकेटेट बनाइराखेका छौँ,’ उनले भने ‘सबैभन्दा बढी गाली खाने राष्ट्रिय गौरवका आयोजनाले हो । मेरो अनुरोधमा चाहिँ त्यो राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुस् र अरूलाई सबैलाई छुट दिनुस् र यिनीहरूलाई प्राथमिकता दिनुस् र कार्यान्वयन गर्नुस् ।’

पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय किन लगियो भनेर प्रश्न गरे । उनले तथ्यांक विभाग आयोगमातहत नै भएको भए उत्तम हुने बताए । कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उनले यस क्षेत्रका सम्भावनालाई योजनाले समेट्नुपर्ने बताए । 

पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए । पूर्वगभर्नरसमेत रहेका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले अबका योजना उत्पादनमुखी हुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यहीँ बाली मात्रै उत्पादन गर्ने नीति लिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीले योजना आयोगले प्रकाशन गर्ने किताब लोकसेवा पास गर्नका लागि अध्ययन गर्न मात्रै उपयोगी रहेको भन्दै यसलाई उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको बनाउन जोड दिनुपर्ने बताए ।