
राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मालाई ९ वर्ष कैद सजाय तय भएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उनलाई ९ वर्षको कैद तोकेको हो।
सोही इजलासले जेठ १८ गते फैसला सुनाउँदै शर्मासहित प्रतिवादी बनाइएका कर फर्स्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई समेत दोषी ठहर गरेको थियो । महतलाई ९ वर्ष १ महिना र ढकाललाई पनि ९ वर्ष कैद सजाय ताेकिएकाे छ।
कर फच्छ्र्योट आयोगको अध्यक्ष रहँदा महतले तथा सदस्यहरु शर्मा र ढकालले भ्रष्टाचार गरेको भनी अख्तियारले छुट्टाछुट्टै मितिमा राजस्व चुहावटको दुई वटा मुद्दा दायर गरेको थियो।
अदालतले कुल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रूपैयाँ बिगो कायम भएकोमा तीनैजनाबाट प्रतिव्यक्ति २ अर्ब ५ करोड २३ लाख रुपैयाँ र सोको दोब्बर जरिवाना तोकेको छ। जसअनुसार प्रतिव्यक्ति ४ अर्ब १० करोड ४६ लाख ९७ हजारभन्दा बढी रकम हुन आउँछ।