
तीन दिनदेखि कञ्चनपुर महेन्द्रनगरका एक बालक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका– १५ गोरबैयाका बालक दीपेश रावल बेपत्ता भएका हुन ।
किताबको कभर किनेर ल्याउछु भनेर शनिबार साँझ ६ बजेतिर घरदेखि महेन्द्रनगर बजार आएका १५ वर्षीय दीपेश अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । बालकका काका प्रेम रावलले घरदेखि किताबको कभर किन्छु भनेर हिँडेकाे भतिज अहिलेसम्म सम्पर्कमा नआएको बताए ।
स्थानीय महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल) कक्षा नाैमा अध्ययनरत विद्यार्थी पढाइकै कामका लागि बजार आएर गायब भएपछि घरपरिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । गर्मी बढ्दै गएपछि आइतबारदेखि भीमदत्त नगरपालिकाले गर्मी बिदा दिएसँगै रावल बिदाको मौका छोपेर किताबमा कभर किन्छु भनेर घरबाट बजार आएका थिए ।
‘घरबाट बजार गएको केही समयपछि दीपेशको फोन स्विच्डअफ भयो,’ दीपेशका काका प्रेमले भने, ‘हामीलाई शंका लागेर प्रहरीमा निवेदन दिएर आफन्त, साथीभाइसँग सोधपुछ र खोजीनिती गरिरहेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले परिवारको सम्पर्कमा नआएका बालकको खोजीकार्य भइरहेको बताए । ‘हामीले निवेदन पर्नेबित्तिकै विभिन्न युनिटमा फोटो पठाउनेदेखि खोजीकार्य सुरु गरेका छौँ, नेपाल तथा भारतमा समेत खोजीकार्य जारी रहनेछ,’ गिरीले भने ।