
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने बताएका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा उनले यस्ताे बताएका हुन्।
पार्टी अध्यक्ष माधवकुमार नेपालले बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने दोहोर्याए। सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको उनको धारणा छ।
‘हामीले जस मात्रै खोज्यौँ । राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन । यही वर्ष पनि सरकारले हामीसँग पैसा छैन, पुँजीगत खर्च कम छ, साथी हो तपाईंहरु चुप लाग्नुस्, राष्ट्रिय गौरवका आयोजनामा पैसा हाल्ने उत्तर–दक्षिण जोड्ने केही महत्वपूर्ण आयोजनाहरूलाई पैसा हाल्ने, राष्ट्रिय खानेपानी अयोाजना, पुलहरूमा पैसा हाल्ने अरूमा पैसा प्रयोग नगर्ने भनेर सुरु गरेको भए हामीले दुई दिनमा संसदमा छलफल सक्दथ्यौँ । यही अवस्थामा यो बजेट पास हुँदैन,’ उपाध्यक्ष पाण्डेले भने।
पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे।