मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ८ सोमबार
  • Monday, 25 September, 2023
रासस बाग्लुङ
२०८० जेठ २७ शनिबार १४:२३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

विकास गाउँ पुग्यो, मान्छे बजार झरे

Read Time : > 2 मिनेट
रासस, बाग्लुङ
२०८० जेठ २७ शनिबार १४:२३:००

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गर्न थालेकी छिन्। अब गाउँमा मान्छे नै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो, तर अहिले दिन प्रतिदिन गाउँ छोड्नेको संख्या बढ्दो छ। 

उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका अधिकांश दौँतरी गाउँ छोरेर बसाइँ सरेका छन्। पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे। अहिले गाउँ–गाउँमा, टोल–टोलमा विकास पुगेको छ तर मान्छे छैनन् । गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन्। दशकअगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ, तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ। विसं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिँदै गएको छ। तर, उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन्।

पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्थे। सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो। तर, अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन्। स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउँछिन्। उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको बताइन्।

‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटो नै बनेको थिएन। हामीहरू एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आउँथ्यौँ। स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ। अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ,' उनले भनिन्, ‘बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपर्थ्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ। गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले।’

स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोजगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताए। उनले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको सुनाए। १४ वर्षअगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार झर्न थालेको बताए। स्थानीय विदेश जान थलेपछि उनीहरूमा महत्वकांक्षा बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताउँछन्।

उनी भन्छन्, ‘पहिले विदेश जाने संख्या कम थियो। धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाई दिएपछि धेरै विदेश जान थाले। पैसा कमाउन थाले, त्यसले गर्दा उनीहरूलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो। त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्। विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्। कतिपय आजभोलि नै बजार झर्दै छन्, खै किन यसरी मान्छेहरू गाउँ छोडिराखेका छन्? मलाई निकै आश्चर्य लागेको छ। विकास छैन भनौँ भने विकास पनि भएकै छ।’

सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्न सके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताए। गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। बसाइँसराइका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको संख्या पनि दिनदिनै घट्दै गइरहेको छ।

काठेखोला गाउँपालिका–३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताए। गाउँमा एकैपटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उनको भनाइ छ। उनले जनसंख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताए। धम्जाबाट सबैभन्दा बढी पोखरा, बाग्लुङ, बुटवल र चिवतनलगायतका सहरमा बसाइँसराइ गरेर जानेको संख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ।

‘मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्। बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोतसाधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौँ,’ अध्यक्ष विकले भने, ‘हामीहरूले गर्ने प्रयास गर्छौँ, हिजो स्वास्थ्य, शिक्षा, विद्युतलगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारकोजस्तो सेवासुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ।’

वडा कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन्। वडामा दर्ता गराएकाबाहेक बसाइँसराइ गरेर गाउँ छाड्नेको संख्या अझै बढी रहेको स्थानीयको भनाइ छ। रासस