१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० जेठ २७ शनिबार ०६:२०:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाथीभरादेखि चिसापानीसम्म केबलकारको लहर

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० जेठ २७ शनिबार ०६:२०:००

०५५ मा देशमै पहिलो मनकामना केबलकार सञ्चालनमा आएको १८ वर्षपछि चन्द्रागिरिमा दोस्रो केबलकार चल्यो । तर, पछिल्लो समय पूर्वदेखि पश्चिमसम्मका डाँडाडाँडामा केबलकार सञ्चालनको लहर चलेको छ । अघिल्लो वर्ष दुई सञ्चालनमा आएकोमा यो वर्ष थप दुई चले । दुईवटा सञ्चालनको अन्तिम तयारीमा र सात निर्माणको तयारीमा छन् । 

पछिल्लो समय देशभरका हिल स्टेसनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ । त्यसैले पूर्वमा ताप्लेजुङको पाथीभरादेखि पश्चिम कैलालीसम्म केबलकार, होटेल, फनपार्कसहितका हिल स्टेसनमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ । 

०५५ मा नेपालमै पहिलोपटक गोरखामा मनकामना केबलकार सञ्चालनमा आएको १८ वर्षपछि ०७३ मा मात्रै काठमाडौंको चन्द्रागिरिमा दोस्रो केबलकार सुरु भयो । चन्द्रागिरि केबलकारपछि नयाँ केबलकार सञ्चालनमा आउन अर्को पाँच वर्ष कुर्नुपर्‍यो । पछिल्लो समय भने डाँडाडाँडामा केबलकारको लहर नै चलेको छ । अघिल्लो वर्ष दुई केबलकार सञ्चालनमा आएकोमा यस वर्ष अन्य दुई थपिइसकेका छन् भने दुईवटा सञ्चालनको अन्तिम तयारीमा छन् । त्यस्तै, अन्य सात ठाउँमा कुनै निर्माणाधीन र कुनै निर्माणको तयारीमा छन् । 

चन्द्रागिरि केबलकारकै सञ्चालक समूह आइएमई ग्रुप केबलकार व्यवसायमा सबैभन्दा आक्रामक बनेको छ । यही ग्रुपले बुटवलदेखि पाल्पाको वसन्तपुर र नवलपुरमा गैँडाकोटदेखि मौलाकालिका मन्दिरसम्म थप दुई केबलकार सञ्चालनमा ल्याइसकेको छ । बुटवल–वसन्तपुर केबलकार बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको हो भने गैँडाकोट–मौलाकालिका केबलकार १८ वैशाखदेखि औपचारिक सञ्चालनमा आएको थियो । हपहपी गर्मी हुने २३० मिटर उचाइको बुटवल स्टेसनबाट चढेका यात्रु करिब १० मिनेटको यात्रामै अर्को स्टेसन ९४० मिटर उचाइको चिसो टाकुरा पाल्पा वसन्तपुर पुग्छन् । यस्तै, आइएमई ग्रुपको नेतृत्वमै ताप्लेजुङको पाथीभरा, कैलालीको लम्किचुहा र कास्कीको सिकलेसमा पनि केबुलकार बनाइँदै छ । 

फागुन ०७८ मा पोखराको फेवातालदेखि सराङकोट पुग्ने अन्नपूर्ण केबलकार सञ्चालनमा आइसकेको छ । दोलखाको कुरी–कालिञ्चोक केबलकार पनि सुरु भइसकेको छ भने तनहुँको डुम्रे–बन्दीपुर केबलकार छिट्टै व्यावसायिक सञ्चालनमा ल्याउने गरी परीक्षणकालमा छ । त्यस्तै, बुटवल–नुवाकोटगढी (पाल्पा) केबलकार यसै वर्षदेखि सञ्चालनमा ल्याउने गरी धमाधम निर्माणको काम चलिरहेको छ । 

उता, कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म जोड्ने करिव ८६ किमि लामो महत्वाकांक्षी केबलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको छ । यो परियोजना पनि सफल भएमा देशभर लक्जरी रिसोर्टसहितका केबलकारमा करिब एक खर्ब लगानी पुग्नेछ । 

संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै ठाउँ–ठाउँमा हिल स्टेसन बनाउने घोषणा गरिएको छ । आगामी वर्षको बजेटमै अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतीय सीमाबाट नजिकै रहेका पहाडी सहरलाई हिल स्टेसनका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने घोषणा गरेका छन् । आगामी वर्ष कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक–एक हिल स्टेशन विकास गर्ने बजेटमा उल्लेख छ । तर, सरकारले घोषणा गरेका हिल स्टेसन घोषणामा मात्रै सीमित हुने गरेको विगतको यथार्थ छ । तनहुँको बन्दीपुर, नगरकोट, धुलिखेल, चन्द्रागिरि, इलाम, भेडेटार, सराङकोट, मनकामना, कुरी–कालिञ्चोकजस्ता हिल स्टेसन निजी क्षेत्रको पहल एवं धार्मिक आस्थाका कारण स्थापित भएका हुन् । 

हिन्दूहरूको धार्मिक आस्था गोरखाको मनकामना मन्दिरसम्मको गन्तव्य छिटो र सहज होस् भन्ने अपेक्षा यात्रु र भक्तजनको थियो । व्यवसायी लक्ष्मणबाबु श्रेष्ठले अढाई दशकअघि उपाय निकाले, पूर्व–पश्चिम पृथ्वी राजमार्ग र मनकामनालाई केबलुकारले जोडिदिने । मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार हाल मन्दिरछेवैमा नौ रोपनीमा ४८ करोड लगानी गरेर ४० कोठाको रिसोर्ट पनि निर्माण सुरु भएको छ । 

आइएमईका मात्रै तीन सञ्चालनमा, तीन तयारीमा
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई समूहले पछिल्लो समय हिल स्टेसनमा लगानी खन्याएको छ । सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने घोषणा गरेको समूहले तीन ठाउँमा व्यावसायिक सञ्चालनमै ल्याइएको छ भने तीन ठाउँमा निर्माणको तयारी गरिरहेको छ । यो समूहको पहिलो चन्द्रागिरि केबलकार (२.४ किमि लामो) ०७३ मा सञ्चालनमा आयो । चन्द्रागिरि परियोजना केबलकार, भालेश्वर मन्दिर, रिसोर्ट, रेस्टुरेन्ट, फनपार्क, चिल्ड्रेनपार्क, जिपलाइनलगायतको एकीकृत पर्यटकीय प्याकेज हो । यस परियोजनामा तीन अर्बभन्दा बढी लगानी भएको चन्द्रागिरि हिल्स प्रालिले बताएको छ । यही ग्रुपले बुटवलदेखि पाल्पाको वसन्तपुर र नवलपुरमा गैँडाकोटदेखि मौलाकालिका मन्दिरसम्म थप दुई केबलकार सञ्चालनमा ल्याइसकेको छ । २.६ किमि लामो बुटवल–वसन्तपुर जोड्ने लुम्बिनी केबलकार बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको हो भने १.२ किमि गैँडाकोट–मौलाकालिका केबलकार १८ वैशाखदेखि औपचारिक सञ्चालनमा आएको थियो । 

समुद्री सतहबाट मात्र २३० मिटर उचाइमा रहेको बुटवल स्टेसनबाट ९४० मिटर उचाइको वसन्तपुर स्टेसनमा पुग्न करिब १० मिनेट लाग्ने आइएमईका केबलकार विभाग प्रमुख अभिषेकविक्रम शाहले बताए । भारतको बोर्डरबाट ३० मिनेटको ड्राइभमा आइपुगिने यो ठाउँ खासगरी भारतीय पर्यटकको गन्तव्य बन्ने विश्वास उनको छ । टप स्टेसन वसन्तपुरमा १५० कोठाको पाँचतारे रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, ब्यांक्वेट, स्विमिङ पुल, जिपलाइन, स्काइवाक, बाल उद्यानलगायत निर्माण गर्ने योजना छ । त्यहाँ कामाख्या देवीको मन्दिर निर्माण भइसकेको छ । सबै पूर्वाधारको लगानी पाँच अर्ब पुग्ने शाहले बताए । 

त्यस्तै, पाँच मिनेटमा यात्रा गर्न सकिने गैँडाकोट–मौलाकालिका केबलकारको टप स्टेसनमा हेलिप्याडसहित ५० कोठे होटेल निर्माण अन्तिम चरणमा छ । दसैँसम्म सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटेलको छतमै रेस्टुरेन्ट, स्विमिङ पुल बनाइएको छ, जहाँबाट देवघाटदेखि पूर्वी चितवनसम्मको दृश्यावलोकन गर्न सकिन्छ । केबलकारसहितका संरचनाको लगानी दुई अर्ब पुग्ने ग्रुपका  अध्यक्ष ढकालले बताए । 

आइएमई ग्रुपले नै ताप्लेजुङको पाथीभरा, कैलालीको लम्किचुहा र कास्कीको सिकलेसमा पनि केबुलकार बनाउँदै छ । पाथीभरामा सुरुमा यती समूहले केबलकार निर्माणको तयारी थालेको थियो । पछि आइएमई समूहले उसको सबै ५१ प्रतिशत सेयर खरिद गरेर निर्माण थाल्दै छ । तीन अर्ब लगानी अनुमान गरिएको केबलकारको बटम स्टेसनमा लक्जरी रिसोर्ट बनाउने योजना छ । 

सञ्चालनको अन्तिम तयारीमा बन्दीपुर र सिद्धार्थ केबलकार
निर्माण सम्पन्न भएर परीक्षण थालिएको तनहुँको बन्दीपुर केबलकार डेढ महिनाभित्र सञ्चालन गर्ने तयारी छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले रोपमा लोड परीक्षण सम्पन्न भइसकेको तथा अहिले सामान बोक्ने र मान्छे ओसार्ने क्याबिन परीक्षण सुरु भएको बताए । यो केबलकारमा नयाँ के छ भने ६ वटा गन्डोला (कार)भित्रै रेस्टुरेन्टको व्यवस्था गरिएको छ । साहसिक र रोमाञ्चक यात्राका लागि दुईवटा गोन्डला भने पारदर्शी सिसैसिसाले बनाइएका छन् । ‘रेस्टुरेन्टवाला गोन्डला साँझ ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन्,’ उनले भने, ‘एक घन्टासम्म केबलकारमै डुल्दै, खाँदै, दृश्यावलोकन गरेर रमाइलो गर्न पाइनेछ ।’

बन्दीपुरमा बेसमेन्टसहित १७ तलाको पाँचतारे होटेल निर्माण भइरहेको छ, जसलाई ‘क्विन टावर’ नाम दिइएको छ । आगामी तिहारलगत्तै सञ्चालनमा ल्याउने तयारीसहित बनिरहेका होटेलमा ८० कोठा, चार रेस्टुरेन्ट, आठ सयजना अटाउने कन्फ्रेन्स हललगायत हुनेछन् । परियोजना पूरै सम्पन्न हुँदा लगानी तीन अर्ब पुग्ने अनुमान छ । बन्दीपुर केबलकार सञ्चालक टिमको ५१ प्रतिशत सेयर लगानी रहने गरी बन्दीपुरमै स्काइवाक र बन्जी सञ्चालन गर्ने योजना छ, जसमा थप एक अर्ब लगानी हुने अनुमान गरिएको शर्माले बताए । 

त्यस्तै, बुटवलमा सिद्धार्थ केबलकार निर्माण पनि अन्तिम चरणमा छ । सिद्धार्थ देउरालीमा बटम स्टेसन र पाल्पाको नुवाकोटमा टप स्टेसन रहेको केबलकार १.९४ किमि लामो हुनेछ । यसै वर्ष सञ्चालन गर्ने तयारी रहेको केबलकारसँगै नुवाकोटमा रिसोर्ट, चिल्ड्रेन पार्कलगायत बन्नेछन् । करिब सयजनाको लगानी रहेको केबलकारको नेतृत्व राजेन्द्रसिंह गुरुङले गरेका छन् । 

विश्वकै लामो केबलकार बनाउने महत्वाकांक्षी योजना
नेपालमा विश्वकै लामो केबलकार बनाउने महत्वाकांक्षी योजना पनि अगाडि सारिएको छ । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म करिव ८६ किमि लामो केबलकारको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम अगाडि बढाइएको छ । मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न लागेको यो परियोजनाले कास्की, पर्वत, म्याग्दी र मुस्ताङलाई जोड्छ । कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने केबलकारमा ६ ठाउँमा स्टेसन रहनेछन्, जहाँ ७ सय ७७ टावर, ७ सय ७६ गोन्डला र ठाउँ–ठाउँका स्टेसनमा रिसोर्ट, रेस्टुरेन्टलगायत पूर्वाधार निर्माण गर्ने योजना छ । 

चम्पादेवी केवलकार यसै वर्ष निर्माण सुरु गरिने
काठमाडौं उपत्यकामै दोस्रो चम्पादेवी केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को प्रक्रिया चलिरहेको छ । चाल्नाखेल–चम्पादेवी मन्दिरसम्म दुई किमि लामो केबलकार निर्माण हुने भएको हो । रिसोर्टसहितको केबलकार निर्माणका लागि करिब ६ अर्ब लगानी हुने अनुमान छ । ‘बटम स्टेसनमा ९० रोपनी जग्गा खरिद गरिसकेका छौँ, चम्पादेवीमा २२ हेक्टर सरकारी वन क्षेत्र सरकारबाट प्राप्त भइसकेको छ,’ चम्पादेवी केबलकार सञ्चालकमध्ये एक गोविन्द संघाईले भने, ‘यसै वर्ष निर्माण सुरु गर्ने लक्ष्य छ ।’

केबलकार चलाउन अनुमति लिने होडबाजी
काठमाडौंको बुढानीलकण्ठ–शिवपुरी, ललितपुरको गोदावरी–फुल्चोकी तथा भक्तपुरको सूर्यविनायकमा केबलकार निर्माणको तयारी छ । पाथीभरामा केबलकार सञ्चालन गर्न झन्डै आधा दर्जन कम्पनीले अनुमति लिएका छन् । दिव्यदर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरा मन्दिर गरी तीन ठाउँमा सञ्चालनको  अनुमति लिएको छ । यस्तै, सोलुखुम्बुमा १२ किमि लामो सगरमाथा रोपवे र घ्याम्पेफेदी–गोसाइँकुण्डमा पनि केबलकार सञ्चालन गर्न अनुमति लिइएको छ । तनहुँको बन्दीपुर र छिम्केश्वरी केबलकार निर्माण गर्ने समूह कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा १० किमि लामो केबलकार बनाउने योजनामा छ ।

हिल स्टेसनमा पर्यटकको आकर्षण छ : चन्द्र ढकाल, अध्यक्ष, आइएमई ग्रुप

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण हिल स्टेसनमा देखिएको छ । अझ भारतीय सीमानजिकैका झापादेखि कञ्चनपुरसम्मका पहाडलाई आकर्षक हिल स्टेसन बनाउन सके थुप्रै भारतीय पर्यटक ल्याउन सकिन्छ । सरकारले हिल स्टेसनमा लगानीकर्तालाई प्रोत्साहन गर्न सडक, बिजुली, पानीलगायत न्यूनतम पूर्वाधार बनाइदिनुपर्छ ।

आइएमई समूहले देशका सातवटै प्रदेशमा केबलकारसहितका हिल्स स्टेसन बनाउने घोषणा गरिसकेको छ । पर्यटकीय देश नेपालले वातावरण र वन्यजन्तु जोगाएर ठाउँ–ठाउँमा पर्यटकीय गन्तव्य बनाउनुपर्छ । बरु नीति कडा बनाउँ, तर पूरै रोक्नैपर्छ भन्ने मानसिकता त्यागौँ । पर्यटनले पुर्‍याउने मल्टिपल फाइदा हेरिनुपर्छ । विदेशमा पनि ठाउँ–ठाउँमा हिल स्टेसन तयार पारेर पर्यटक आकर्षित गर्न सकिन्छ ।