१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराँती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन्। 

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको जानकारी दिए। 

मन्त्री किराँतीले हलेसी खोटाङ जिल्लाको मात्र नभई पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताए।

‘हलेसीको विकासका लागि मुलुकको अन्य ठाउँहरूमा समेत प्रचारप्रसार गर्न आवश्यक छ। आगामी दिनमा नेपाल छिर्ने मुख्य नाकाहरू काँकडभिट्टा, चतरालगायतका ठाउँमा समेत प्रचारप्रसारका लागि होर्डिङ बोर्ड राख्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘हलेसीमा खुला सांस्कृतिक संग्रहालय निर्माण गर्न सरकारले तयारी गरेको छ । विभिन्न मुलुकबाट हलेसी आउने पाहुनालाई सीधा सम्पर्कमा भ्रमण गराउन सकिने गरी योजना निर्माण गर्नु आजको आवश्यकता  हो। यसका लागि मन्त्रालयले गर्ने सहयोग गर्छ।’

पर्यटकीय क्षेत्रहरूको अनुगमन भ्रमणका लागि हिजाे बुधबार खोटाङ आएका मन्त्री किराँतीले त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि ब्रान्डिङ गनुपर्नेमा जोड दिएका छन्। मन्त्री किराँतीले हलेसी र किराँत समुदायको उदगमस्थल तुवाचुङको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए। 

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा हलेसी विकास समितिका अध्यक्ष एवं पूर्वसांसद टंक राईले त्रिधार्मिकस्थल हलेसीको विकासले खोटाङको मात्र नभई मुलुकै आर्थिक समृद्धिमा टेवा पुग्ने मन्त्री किराँतीलाई जानकारी गराएका छन्। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अध्यक्ष राईले हलेसी मन्दिर तथा गुफानजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको जानकारी दिए। 

नगर प्रमुख विमला राईले मन्त्री किराँतीलाई स्वागत गर्दै यस क्षेत्रको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गरेकी छिन्। उनले हलेसीमै बुनिएको खाँडीको कपडा चिनोस्वरूप मन्त्री किराँतीलाई प्रदान गर्दै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी गराइन्।

मन्त्री किराँतीले आज बिहान सात बजे जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण प्रणाली (फायर हाइड्रेन्ट गेट भल्भ)को औपचारिक उद्घाटन गरेका छन् । 

नेपाल सरकारको ७०, काठमाडौं महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा सञ्चालित रम्बाखोला–माझखोला–दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत दिक्तेल बजारका विभिन्न १० ठाउँमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरिएको हो। 

दिक्तेल बजारमा आगलागी भएको वेलामा पानीको फोहाेरा फालेर दमकलसरह उपयोग गर्ने गरी विभिन्न १० ठाउँमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरिएको छ। खानेपानी आयोजनाको पाइपमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरेर सय मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्न सकिने जनाइएको छ। 

जस्तापाताको छाना तथा ढुंगा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरू भएका दिक्तेल बजारमा बर्सेनि आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ। हाइड्रेन्ट गेट भल्भ जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु. १५ लाख र बाँकी सहरी खानेपानी आयोजनाको बजेट लगानी रहेको जनाइएको छ।