बालबालिका रिसाउनु एउटा सामान्य प्रक्रिया हो । आफ्ना भावना एक्सपोज गर्न, जीवनमा आएका आरोह–अवरोहसँग डिल गर्न जानेर वा नजानेर उनीहरू रिसाइरहेका हुन्छन् ।
कोही बालबालिका व्यक्तित्वमा गडबडी भएर रिसाएको हुन सक्छन् भने कोही साइकोलोजिकल डिसअर्डर फ्याक्टरले रिसाएका हुन्छन् । कुनै बालबालिकाको आचरण नै त्यस्तो हुन सक्छ । अभिभावकमा रिसाउने वा झर्कने बानी छ भने पनि त्यसको प्रभाव बालबालिकमा परेको हुन सक्छ ।
साइकोलोजिकल डिसअर्डर हुने बालबालिका चाँडै रिसाउँछन् । एडिएचडी समस्या भएका बालबालिका सामाजिक पक्ष फेस गर्न नसक्दा त्यसलाई एभोइड गर्ने कोसिसमा रिसाउँछन् । भोगाइ, हुर्काइ र अभिभावकको सही मार्गनिर्देशन नहुँदा पनि बालबालिका रिसाउन थाल्छन् ।
अभिभावकको व्यवहारले बालबालिकाको रिस नियन्त्रणमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । नरिसा भन्दैमा, पिट्दैमा उनीहरूको रिस कन्ट्रोल हुन्छ भन्ने हुँदैन । उनीहरूलाई सकारात्मक कुरामा प्रेरित गर्नुपर्छ । उसलाई के आवश्यक छ, कस्ता कुरा सोचिरहेको छ र के नपाउँदा रिस व्यक्त गरिरहेको छ भन्ने विषय ख्याल गर्नुपर्छ ।
रिस जरुरी छ, तर रिसको मात्रा, पुनरावृत्ति, अवधि कन्ट्रोलमा हुनुपर्छ । रिस एउटा ज्वरोजस्तै हो । कुनै समस्याका कारण आइदिन्छ । उमेरअनुसार रिस फरक हुन्छ । जस्तो– सानो बच्चा दूध खान नपाउँदा रिसाउँछ । अलि ठूलो भएपछि स्कुल जान नपरे हुन्थ्यो भनेर पनि रिसाएका हुन सक्छन् । कतिपय बालबालिका आफूले चाहेका कुरा नपाउँदा रिसाउँछन् । बचपनवाला बालबालिका आफूले खाने खाना र आमा सँगै नहुँदा रिसाउँछन् । १२ देखि १४ वर्षका बालबालिका परिवारसँग धेरै रिसाउँछन्, तर साथीहरूसँग रिसाउँदैनन् ।
बालबालिकाको रिस मापन गर्नुपर्छ । किन रिसाइरहेको छ भनेर विश्लेषण गर्नुपर्छ । आफ्नो कारणले रिसाइरहेको छ भने अभिभावक आफैँ सुध्रनुपर्छ । रणनीति बनाएर डिल गर्नुपर्छ । जटिल अवस्थामा मनोपरामर्श र औषधि–उपचारसमेत गर्नुपर्ने हुन्छ ।