![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/kulo_gulmi2023-06-07-03-18-05.jpeg)
मुसिकोट नगरपालिका– ७ वामीस्थित झेँदी खोला वामी टक्सार सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेको छ।
दुई सय २५ घरपरिवार लाभाम्वित हुने सिँचाइ आयोजना २.८२५ किलोमिटर छ। उक्त योजना जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीमार्फत एक करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
एक करोड ९४ लाख ८५ हजार ४० रुपैयाँमा ठेक्का भएको कार्यालयले जनाएको छ। झेँदीखोला–वामीटक्सार सिँचाइ योजना तीन वर्षदेखि निर्माण भइरहेको छ। डिपिआरमा पाँच वर्षभित्र मुख्य नहरसहित शाखा कुलोहरू निर्माणको योजना छ। अहिले प्रमुख नहर निर्माणको काम सम्पन्न हुने चरणका छ। आगामी वर्षहरूमा शाखा कुलाहरू निर्माण गर्ने योजना रहेको छ।
बाह्रैमास सिँचाइ सुविधाको आस
यो सिँचाइ योजना निर्माण गर्नुभन्दा पहिले स्थानीयले जग्गाधनीहरूले निर्माण गरेको करिब तीन किलोमिटर कुलो रहेको थियो।
लामो कुलो भएकाले भत्किने, बगाउने, फुट्ने र पहिरोले पुर्ने समस्याका कारण स्थानीय समस्या परेका थिए। उनीहरू अहिले जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीमार्फत पक्की नहर निर्माण भएपछि खुसी छन्।
अहिले पनि दुई सय २५ घर परिवारमध्ये ७० प्रतिशतले आफैँ कृषि गर्दै आएको झेदीखोला–वामीटक्सार सिँचाइ योजना उपभोक्ता समिति अध्यक्ष तेजनारायण सापकोटाले बताए।
सापकोटाका अनुसार अधिकांशले सिँचाइका कारण बर्खे खेती मात्रै गर्दै आएका थिए। सिँचाइ कुलोमार्फत ठूलो पानी वामी फाँटमा आउने भएपछि हिउँदे बाली र बेमौसमी तरकारी खेतीको प्रशस्त सम्भावना छ।
बजारका लागि वामीमा ठूलो बजार क्षेत्र छ। सापकोटा आफैँको ६ रोपनी जग्गा छ। उनले अहिलेसम्म आफैँले खेती गर्दै आएका छन्। सिँचाइ सुविधा नहुने र वैदेशिक रोजगारी तथा बसाइँसराइको कारण वामीको उर्वर फाँट आठ महिना बाँझै बस्ने गरेको छ।
३१ किलोमिटर मुख्य नहर निर्माण
यो नहर योजना जिल्लाका ठूलामध्येको एक हो। गुल्मी दरबार गाउँपालिका– ६ मा ६.६५० किलोमिटरको कुमालटारी सिँचाइ योजना, सत्यवती–२ मा ७ किलोमिटर लामो चेहेमी सिँचाइ योजना र सोही गाउँपालिकाकै वडा नम्बर १ अस्लेवाको ६ किलोमिटर चौरफाँट सिँचाइ योजना छ।
त्यस्तै, चन्द्रकोट– ८ को करिब पाँच किलोमिटरको हुँग्दी–तुराङखोला सिँचाइ योजना र इस्माको गाउँपालिका– ६ को चौरासी फाँट सिँचाइ योजनालगायतका योजनाहरूबाट हालसम्म करिब पाँच सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका सूचना अधिकारी सन्तोष पौडेलले जानकारी दिए।
ती योजनाबाट एक हजार दुई सय १५ घरधुरी लाभाम्वित भएका छन् भने ३१ मिलोमिटर मुख्य नहर निर्माण भएको छ। आर्थिक वर्ष ०७४–७५ पछि विभिन्न वर्षहरूमा गरेर १६ करोड २३ लाख खर्च भएको पौडेलले बताए।
सिँचाइलाई उत्पादनमा जोडौँ : सापकोटा
जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख इन्जिनियर भरतप्रसाद सापकोटाले कृषिको आधार सिँचाइमा सुधार भएकाले राज्यले उत्पादनसँग जोडिनुपर्ने बताए।
उनले गुल्मी पहाडी जिल्ला भएर पनि सिँचाइको प्रशस्त सम्भावना भएकाले उत्पादनशील केही फाँटहरू अझै पनि सिँचाइ सुविधाबाट वञ्चित रहेको जानकारी दिए।
ती फाँटहरूलाई समेटेर यसअगाडि सञ्चालन भएका सिँचाइ प्रणालीहरूकोे प्रभावकारी उपयोग गर्नुपर्ने स्थानीय जनशक्तिको कृषिप्रतिको लगाव बढाउँदै कृषि पेसालाई सम्मानित पेसा बनाउन सके उर्वर भूमिले दिने उत्पादकत्व गुल्मेली जनताले प्राप्त गर्न सक्ने सापकोटाले बताए।
त्यस्तै, गुल्मीकै उत्पादनले गुल्मेलीलाई आत्मनिर्भर बनाउन सक्ने सम्भावना भए तापनि हालकै अवस्था निरन्तर भएमा सिँचाइ प्रणालीहरूबाट सिँचाइ सुविधा बढ्दै जाने, लगानी पनि बढ्दै जाने भएकाले उत्पादन बढाउन नसकिएमा राज्यले गरेको लगानी र जनतालको परिश्रमअनुसार प्रतिफल लिन नसकिने सापकोटाले बताए।
‘सरकारले सिँचाइमा लगानी गरेअनुसारको नागरिकमा कृषिप्रतिको सक्रियता देखिँदैन। उत्पादनसँग सिँचाइ जोडिनुपर्छ,’ उनले भने, ‘थुप्रै उर्वर भूमि खेर गइरहेका छन्।’