१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ २४ बुधबार ०६:५८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नोभा काखोभ बाँध एक–अर्काले भत्काएको रुस र युक्रेनको आरोप

Read Time : > 1 मिनेट
२०८० जेठ २४ बुधबार ०६:५८:००

युक्रेनको दक्षिण भेगमा अवस्थित नोभा काखोभ बाँध र त्यसको जलविद्युत् आयोजना नष्ट भएको छ । निप्रो नदीमा रहेको उक्त बाँध भत्किएपछि ठूलो भँगालो बग्न थालेको छ, जसले गर्दा बाँधबाट तल्लो भेगका बस्तीमा बाढीको डर बढेको छ । बाँध रुस नियन्त्रित भागमा पर्छ । घटनापछि युक्रेनी र रुसी अधिकारीले बाँधनजिकका स्थानीय बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । 

मंगलबार बिहानै बाँधमा क्षति पुगेको देखिएको थियो । बाँधमा के कारणले क्षति पुगेको भन्ने स्पष्ट भएको छैन । घटनास्थलका तस्बिरको विश्लेषण गरी विज्ञहरूले कुनै प्रकारको विस्फोटले बाँधको ठूलो भागमा क्षति पुगेको हुन सक्न्ने बताएका छन् । एक भिडियोमा बाँधवरपरका भवनमा पनि ठूलो क्षति पुगेको देखिन्छ । 

विस्फोटको आरोप
युक्रेनी र रुसी अधिकारीले एकअर्कालाई बाँध विस्फोट गरेको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसी आतंककारी’ले बाँध ध्वस्त गरेको आरोप लगाएका छन् । यस घटनाले ‘रुसी फौजलाई किन युक्रेनी भूमिको हरेक कुनाबाट निष्काशन गर्नुपर्छ भनेर सम्पूर्ण संसारलाई थप स्पष्ट गरेको छ,’ जेलेन्स्कीले ट्विटमा भनेका छन् । 
रुसी रक्षामन्त्री सर्गेई सोइगुले भने युक्रेनले नजिकैको खेरसन क्षेत्रबाट उसका फौज पुनः परिचालन गर्ने योजनाअनुरूप बाँध विस्फोट गरेको आरोप लगाएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको कुराकानीमा घटना ‘युक्रेनी पक्षले योजनाबद्ध’ रूपमा घटाएको बताए । ‘दुई दिनअघि युक्रेनले ठूलो स्तरको प्रत्याक्रमक कारबाही सुरु गरेको पृष्ठभूमिमा यो घटना भएको छ । यस घटनाले युक्रेनी फौज दुई दिनमै तिनको लक्ष्यमा असफल भएको संकेत गरेको छ,’ पेस्कोभले भने । यसबीच, मस्कोद्वारा स्थापित नोभा काखोभका अधिकारी भ्लादिमिर लिओन्तेभले रुसी सरकारी टेलिभिजनसँगको कुराकानीमा बाँधमा भएको क्षति युक्रेनी आक्रमणको परिणाम भएको आरोप लगाए । 

यो बाँध खेरसनको प्रमुख सहरनजिकै रुसी नियन्त्रित क्षेत्रमा अवस्थित छ । रुसी सेनाले खेरसन सहरलाई युक्रेनमाथि आक्रमण सुरु गरेको केही समयपछि नै मार्च २०२२ मा कब्जामा लिएको थियो । तर, नोभेम्बर २०२२ मा एक सफल प्रत्याक्रमणपछि युक्रेनले सहरलाई पुनः कब्जामा लिएको थियो । त्यसपछि रुसी फौज निप्रो नदीको दक्षिणी किनारमा फर्कियो । अझै पनि बाँधबाट दक्षिणी किनारमा रहेका अधिकांश क्षेत्रमा रुसी नियन्त्रण छ । नदीको उत्तरी क्षेत्र भने युक्रेनको नियन्त्रणमा छ । 

३० मिटर अग्लो र ३.२ किलोमिटर लामो यो बाँध सन् १९५६ मा काखोभ जलविद्युत् आयोजनाको एक अंशको रूपमा निप्रो नदीमा निर्माण गरिएको थियो । यस बाँधको पानीलाई दक्षिणपूर्वी युक्रेनको ठूलो भूभागमा आपूर्ति गरिन्छ, जसमा रुसी शासन रहेको क्रिमियन प्रायद्वीप पनि पर्छ । नोभा काखोभको जलाशयले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, जापोरिझिया आणविक केन्द्रका ६ वटा रिएक्टरलाई अति आवश्यक चिस्यानका लागि पानी प्रदान गर्दै आएको छ । दुवै पक्षले अहिलेका लागि जापोरिझिया आणविक संयन्त्र जोखिममा नरहेको बताएका छन् । 

संयुक्त राष्ट्रसंघीय आणविक पर्यवेक्षक संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले ट्विट गर्दै भनेको छ– ‘पछिल्लो विकसित घटनाक्रमलाई हामीले नजिकबाट निगरानी गरिरहेका छौँ । तत्कालका लागि संयन्त्रको सुरक्षामा जोखिम छैन ।’ आइएइएका प्रमुख राफेल ग्रोसीले संयन्त्रसँग रहेको अलग पोखरीमा ‘केही महिनाका आवश्यक पानी रहेको’ जानकारी दिएका छन् ।