असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म एक्स्पो आयोजना गर्न लागेको हो ।
एक्स्पोको लन्चिङ कार्यक्रमको आयोजना गरी आयोजकले एक्स्पोका सम्बन्धमा औपचारिक जानकारी गराएको हो । इभेन्ट लन्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिएको र पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशतभन्दा बढीस्टलहरू बुकिङ भएको आयोजकको दाबी छ । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए ।
फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी–व्यवसायीलाई समेटेर बृहत् र भव्य रूपमा आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको जनाइएको छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्नका लागि सहज मार्गनिर्देशन गर्ने आयोजकको अपेक्षा छ । त्यस्तै, ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामग्रीहरू उपलब्ध गराउन भूमिका खेल्ने आयोजकले जनाएको छ ।
साथै, फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरूलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्स्पोको उद्देश्य छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बिटुबी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको उल्लेख छ ।