मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २१ आइतबार १२:१२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

लामखुट्टेले सार्ने रोगबाट बच्ने उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २१ आइतबार १२:१२:००

गर्मीमा लामखुट्टेको टोकाइबाट विभिन्न रोग सर्न सक्छ । फरक प्रजातिका लामखुट्टेले फरक रोग सार्ने खतरा हुन्छ । खासगरी लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजारजस्ता सरुवा रोग सर्न सक्छ । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्ने गर्छ । 

कस्ता रोग लाग्छ ?
लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्ये डेंगु सबैभन्दा घातक हो । एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ । डेंगु चार प्रकारका हुन्छन् । यदि डेंगु सुरुवाती चरणमा छ भने झोलिलो खानेकुरा खाएर आराम गर्नुपर्छ, आफैँ निको भएर जान्छ । तर, ज्वरो दोहोरिएको अवस्थामा डेंगुले जटिल समस्याहरू निम्त्याउँछ । चिकित्सकले डेंगुको परीक्षण गरेर बिरामीको अवस्था नियाल्दै उपचार गर्ने गर्छन् । 

एनाफिलिज नामक लामखुट्टेको टोकाइबाट मलेरिया रोग लाग्ने गर्छ । यसको प्रमुख कारण प्यारासाइट प्लाज्मोडियमलाई पनि मानिन्छ । टाउको दुख्नु, बान्ता, ज्वरो आउने, ज्यान दुख्नेजस्ता यसका लक्षण हुन् । समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला मलेरियाबाट बढी प्रभावित हुने गर्छन् । 

जापानिज इन्सेफ्लाइटिसले सीधै दिमागमा असर गर्छ । नसा र स्पाइनल कर्डमा समेत असर पुर्‍याउने भएकाले यो रोगलाई निकै घातक मानिन्छ । ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुनेजस्ता लक्षण यो रोग लागेपछि देखिन्छन् । यसको समस्या देखिएपछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न 
गाह्रो हुन्छ ।

बच्ने उपाय 
- सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ । त्यसैले घरमा फूल रोप्ने गमलामा पानी जम्न दिनुहुँदैन ।

- सामुदायिक तवरले नै यसको नियन्त्रण गर्नुपर्छ । पानी जमेको ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुपर्छ । पानीलाई जम्न नदिई बग्ने बनाउनुपर्छ । यसले लामखुट्टेको प्रजननमा बाधा पुर्‍याउँछ, जसले नियन्त्रण गर्न सजिलो हुन्छ । 

- राति सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ । 

- घरका झ्याल–ढोकामा लामखुट्टे छिर्न नसक्ने जाली प्रयोग गर्नुपर्छ । 

- तराई तथा अत्यधिक गर्मी हुने ठाउँमा फुल बाहुला भएको कपडा लगाउनुपर्छ । कतिपयले गर्मी भयो भनेर हाफ बाहुला भएको कपडा लगाउने गर्छन् । तर, लामखुट्टेको टोकाइबाट बच्न अनिवार्य फुल बाहुला लगाएर हिँड्ने गर्नुपर्छ । प्रदूषित ठाउँ तथा झाडीमा जाँदा पनि यस्तो कपडा लगाउनु आवश्यक हुन्छ । 

- लामखुट्टेको टोकाइबाट बच्न एक किसिमको लोसन पाइन्छ । सुत्ने वेलामा जिउमा लोसन लगाउने र बिहान नुहाउने गर्नुपर्छ । 

- लामखुट्टे मार्न टोल–टोलमा विषादी छर्कने गर्न सकिन्छ । तर, यस्तो विषादी पानीको मुहानमा पर्ने गरी छर्कनुहुँदैन ।