मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोजराज भण्डारी काठमाडाैं
विदुर पौडेल सिन्धुली
२०८० जेठ २१ आइतबार ०८:०८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारी गोदाममा ५१ हजार मेट्रिकटन मल, किसानलाई अभाव

Read Time : > 3 मिनेट
२०८० जेठ २१ आइतबार ०८:०८:००

सरकारले आगामी आर्थिक वर्षको बजेटमा रासायनिक मलकै लागि ३१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ

मुख्य बालीको सिजन सुरु हुन लाग्दा पुनः मल अभाव हुन थालेको छ । जेठको मध्यतिर धानको बिउ राख्न, मकैमा हाल्न र पश्चिम तराईमा रोपाइँको तयारी भइरहेको समयमा किसानलाई मलको अभाव देखिएको हो ।

सरकारसँग ५१ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । कृषि मन्त्रालयका अनुसार युरिया मल ४० हजार, डिएपी १० हजार नौ सय ५९ र पोटास एक सय १८ मेट्रिकटन मौज्दात रहेको छ । सरकारसँग पर्याप्त मौज्दात रहे पनि स्थानीय तहसँग सहकार्य नहुँदा किसानलाई मलको अभाव देखिन  पुगेको कृषकसमूह संघका अध्यक्ष नवराज बस्नेतले बताए । अहिले पनि मल वितरण गर्ने सहकारीमा मल अभाव नै देखिएको उनको भनाइ छ । 

मकैलाई युरिया र पश्चिममा धान रोपाइँ सुरु हुँदा डिएपी मलको आवश्यकता बढी पर्ने उनले जानकारी दिए । उनले भने, ‘सरकारसँग मौज्दात छ भनिन्छ, तर स्थानीय तहमा भने मल पुगेको देखिँदैन, बीचमा सरकार र स्थानीय तहको सहकार्य नमिल्दा अभाव भएको पाएका छौँ ।’ 

कृषि मन्त्रालयका अनुसार हालसम्म मल खरिदको व्यवस्था भएको चार लाख ७८ हजार मेट्रिकटन हो । हालसम्म बिक्री दुई लाख ५८ हजार मेट्रिकटन भइसकेको छ । यसअघि भएको मौज्दात प्रदेशमा परिचालन हुने क्रममा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

उनले भने, ‘अहिले मल अभाव हुनुपर्ने त्यस्तो कुनै कारण छैन, मल प्रशस्त छ र प्रदेशहरूमा गइरहेको छ । कहिलेकाहीँ प्रदेशबाट स्थानीय तहकै कारण मल समयमा नपुग्न सक्छ ।’

सञ्जेलका अनुसार असारभित्र थप एक लाख मेट्रिकटन मल आइसक्नेछ । ‘यसपटक रोपाइँमा मलको अभाव नहोस् भनेरै तयारी गरेका छौँ, असारमा एक लाख आइपुग्छ,’ उनले भने, ‘हामीले प्रदेशमा वितरण गर्ने हो, प्रदेशबाट स्थानीय तहमा जाने हुँदा ढुवानीलगायत कारणले मल किसानसम्म आइपुग्दा समय लागेको हो ।’ 

कृषि मन्त्रालयका अनुसार जेठदेखि असोजसम्म सबैभन्दा बढी मल खपत हुने समय हो । यस सिजनमा तीन प्रकारका मल गरेर दुई लाख ५९ हजार मेट्रिकटन मल खपत हुने गर्छ ।  जसमा एक लाख ६० हजार युरिया मल खपत हुने गर्छ भने ९० हजार डिएपी र नौ हजार मेट्रिकटन पोटास मल खपत हुने मन्त्रालयको तथ्यांक छ । जेठदेखि असोजसम्म विशेष गरी धान, चिया र उखुमा मल आवश्यकभन्दा बढी खपत हुने तथ्यांकले देखाउँछ । 

कृषि सामग्री कम्पनीमार्फत मल वितरण गर्ने ४१ कार्यालय र पाँच हजार तीन सय सहकारीमार्फत सात सय ५३ वटै स्थानीय तहमा मल वितरण हुने गर्छ । चालू आर्थिक वर्षमा मल अभाव नहोस् भन्नका लागि अर्थ मन्त्रालयबाट सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता गत फागुनमा गरेको थियो । त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा रासायनिक मलकै लागि ३१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मलको आशामा चितवनका सहकारीमा किसानको भिड

भरतपुर–६, देवनगरमा रहेको श्री गीतानगर कल्पवृक्ष साना किसान गरिबी निवारण कृषि सहकारी संस्थामा शनिबार मल लिन आउने किसानको भिड नै भयो । देशभरका किसानहरूसँगै यतिवेला चितवनमा पनि रासायनिक मलको अभाव भइरहेको छ । ६ वर्षदेखि पर्याप्त मात्रामा आपूर्ति नहुँदा मलको अभाव हुँदै आएको छ । 

दुई महिनापछि सहकारीमा ५० बोरा मल आएको जानकारी पाएसँगै स्थानीय किसानहरू सहकारीमा मल लिन पुगेका हुन् । सहकारीका अध्यक्ष सूर्यप्रसाद अधिकारीका अनुसार १८ सय सेयर सदस्य भएको सहकारीले पहिला आउने किसानका आधारमा १० किलोका दरले युरिया मल वितरण गरेको छ । चितवनमा पोटास दुई वर्षदेखि आएको छैन भने डिएपी र युरिया मल महिनौँपछि सहकारीमा आइपुगेको छ । मागभन्दा निकै कम मल आए पनि किसानले नागरिकता देखाएर पाँच केजी वा १० केजी मात्र लैजान पाएका छन् । 

यद्यपि, सरकारले हरेक वर्ष आफ्नो बजेटमा मलको विषयलाई प्राथमिकता रहेको छ । तर, किसानले मल खरिदका लागि सास्ती पाउँदा पनि आवश्यक मल पाएका छैनन् । केही महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउँदा यस वर्ष मल अभाव नहुनेसमेत बताएका थिए । तर, किसानले नयाँ बालीका लागि पनि मलको समस्या झेल्नुपर्ने निश्चित देखिन्छ ।

मागको २४ प्रतिशत मात्रै प्राप्ति 

बागमती प्रदेशको सिन्धुली, रामेछाप र दोलखा जिल्लामा मल वितरण गर्ने कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीमा मागअनुसार मल आएको छैन । कम्पनीका अनुसार तीन जिल्लाका लागि माग गरिएकोमा करिब २५ प्रतिशत मल मात्रै आइपुगेको छ । कृषि सामग्री कम्पनीले चालू आर्थिक वर्षका लागि आठ हजार मेट्रिकटन युरिया मल माग गरेको थियो । तर, १९ जेठसम्म करिब एक हजार नौ सय मेट्रिकटन मात्र युरिया मल आएको कम्पनीको सिन्धुली शाखा प्रमुख नवराज महतले जानकारी दिए । उनले भने, ‘तीन जिल्लामा मलको बिक्री–वितरण गर्ने कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीमा मागभन्दा ७६.२५ प्रतिशत कम युरिया मल आएको छ ।’ 

कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयले सिन्धुली शाखामा पाँच हजार मेट्रिकटन स्वीकृत गरेको भए पनि सोअनुसार नपाएको महतले बताए । डिएपी मल पनि केन्द्रीय कार्यालयले यस आर्थिक वर्षका लागि १५ सय ६५ मेट्रिकटन स्वीकृत गरेको महतले बताए । आफूहरूले युरिया आठ हजार मेट्रिकटन, डिएपी दुई हजार पाँच सय मेट्रिकटन, पोटास दुई सय ५० मेट्रिकटन र कृषि चुन ४२ टन माग गरेको भए पनि मागअनुसारको केही पनि वस्तु नआएको उनले बताए । ‘मागको कम्तीमा आधा मात्र आएको भए पनि केही हदसम्म कृषकको माग सम्बोधन हुन सक्थ्यो त्यसो हुन सकेन,’ महतले भने । 

तीन जिल्लाका लागि आठ हजार मेट्रिकटन युरिया मल भए पर्याप्त पुग्ने उनको भनाइ छ । ‘कम्पनीको यस शाखाले वितरण गरेको मल र खेतीयोग्य जमिनको क्षेत्रफल हेर्ने हो भने केही ठूला कृषकहरूसँग अहिलेको सिजनको मकैमा हाल्नसम्म स्टक छ कि भन्ने आकलन गर्न सकिन्छ, साना कृषकहरू भने मलविहीन बनेकै छन्,’ महतले भने । अहिलेको अभावले साना कृषक (थोरै खेती) हुने कृषकहरू बढी मारमा पर्ने उनले बताए । 

कम्पनीको सिन्धुली शाखामा आएको मलमध्ये ६० प्रतिशत सिन्धुलीमा र ४० प्रतिशत रामेछाप र दोलखामा जाने गरेको महतले बताए । उनका अनुसार दुई जिल्लाको तुलनामा सिन्धुलीमा खेतीयोग्य जमिन पनि बढी भएकाले यहाँ बढी खपत हुन्छ ।