धेरै अघि एक सहरमा मूर्त र अमूर्त नामका व्यापारी बस्थे । दुवैलाई आआफ्नो धनको ठूलो घमन्ड थियो । एक दिन कामविशेषले मूर्त अमूर्तको घर पुगे । अमूर्तको तीनतले घर निकै वैभवशाली देखिन्थ्यो । त्यतिवेला कसैको तीनतले घर हुनु सम्पन्नताको पराकाष्ठा नै मानिन्थ्यो ।
अमूर्तको तीनतले घर देख्दा मूर्तको मन खुम्चियो । उनले आफूले पनि त्यस्तै घर बनाउने अठोट गरे । उनले अमूर्तको घर निर्माण गर्ने वास्तुकारलाई बोलाए र आफ्नो पनि त्यस्तै घर छिटोभन्दा छिटो तयार गर्न आदेश दिए । वास्तुकारले पनि आफ्नो ज्यालाको विषयमा सहमति गराएर मूर्तको आदेशअनुसार घर निर्माण गर्न स्वीकृति जनाए ।
भोलिपल्टैदेखि काम सुरु भयो । वास्तुकारका सहयोगीले घरको जग राख्न निकै गहिरा–गहिरा खाडल खन्न थाले । घर निर्माणको निरीक्षण गर्न आइपुगेका मूर्त ती गहिरा खाडल देखेर छक्क परे । उनले सोधे– वास्तुकारजी, यति गहिरा खाडल किन खनिँदै छन् यहाँ ? वास्तुकारले जवाफ दिए– तपाईंले बताएअनुसार तीन तलाको अग्लो घर बनाउन त त्यसैअनुसार बलियो जग हाल्नुपर्छ नि महाशय ! अब यहाँ हामी सबैभन्दा पहिले मजबुत जग हाल्छौँ । त्यसपछि क्रमशः पहिलो, दोस्रो र तेस्रो तला बनाउँछौँ ।
वास्तुकारको भनाइ सुनेर मूर्तले भने– मलाई यस्तो सब प्रक्रियासित मतलब छैन । मलाई त जगसग केही चाहिँदैन । सीधै तेस्रो तला बनाए भइगयो नि ! मूर्तको यस्ता उटपट्याङ कुरा सुनेर वास्तुकारले हाँस्दै भने– बलियो जग नहाली, पहिलो र दोस्रो तला नबनाई तेस्रो तला बनाउन सकिँदैन । वास्तुकारको भनाइ सुनेपछि मूर्तले भने– तिमीले बनाउन सक्दैनौ भने म अर्को वास्तुकारबाट बनाउँछु । तिमी काम छाडेर जान सक्छौ । मूर्तको कुरा सुनेपछि वास्तुकार काम छाडेर हिँडे ।
त्यस सहरका कुनै पनि वास्तुकारले मूर्तले भनेजस्तो घर बनाउन सकेनन् । त्यसैले, उनको घर कहिल्यै बनेन । कुनै पनि ठूलो काम सुरु गर्दा सबैभन्दा पहिला त्यसको मजबुत जग बनाउनु जरुरी छ भन्ने बुझ्न नसक्दा मूर्तले अमूर्तको जस्तै सुन्दर, भव्य र ठूलो घर बनाउने सपना पूरा गर्न पाएनन् ।