मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
टेकराज थामी काठमाडाैं
२०८० जेठ १७ बुधबार ०५:५८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली कागजातका आधारमा नागरिकता बनाउन काठमाडौंका वडाध्यक्ष नै संलग्न 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० जेठ १७ बुधबार ०५:५८:००

काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गत ९ जेठमा एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । 

अदालतमा पेस भएको अभियोग पत्रअनुसार केसीले नक्कली कागजातका आधारमा मोरङ मिक्लाजुङ गाउँपालिका– २ का ३३ वर्षीय नयन नेपाल भनिने विनोदराज शिवालाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा उनले २५ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २७–०१–७९–०७२५४ नं. को नागरिकता लिएका थिए । 

जारी भएको नयाँ नागरिकताअनुसार विनोदराज शिवाको जन्मस्थान चन्द्रागिरि नगरपालिका– १९ खड्का गाउँ देखाइएको छ । नाम नयन नेपाल बनाइएको छ । ५३ वर्षीय गोविन्द नेपाललाई बुबाका रूपमा खडा गरिएको छ । चन्द्रागिरि नगरपालिकाबाट काठमाडौं महानगरमा बसाइँसराइ गरेर देखाएर नागरिकता बनाइएको छ । सोही नागरिकता प्रयोग गरी उनले प्रभु बैंकमा खाता खोल्ने मात्र नभई दोस्रो विवाह दर्ता नै गराएका छन् । नागरिकता प्राप्त गर्न उनले जन्मदर्ता, बसाइँसराइको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली बनाएका थिए । सोही कागजातका आधारमा काठमाडौं– १० का वडाध्यक्ष केसीले नागरिकता बनाउन २४ साउन ०७९ मा सिफारिस गरेका थिए । सिफारिस लिएको भोलिपल्ट उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिएका थिए । 

जब कि उनले १७ फागुन ०६३ मै इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङबाट नागरिकता लिएका थिए । त्यसवेला जारी भएको नागरिकता प्रमाणपत्र नंं. ०५३१७–१५७१ हो । नागरिकतामा उनको नाम विनोदराज शिवा छ । बुबाको नाम रघुनाथ शिवा दर्जी छ । उक्त नागरिकताबाट पनि उनले पहिलो विवाह दर्ता गराएका थिए । उनकी पहिलो श्रीमती सपना श्रेष्ठ र कान्छी श्रीमती कविता हिङमाङ हुन् । उनले अदालतको बयानमा दुईवटा नागरिकता लिएको स्वीकार गरेका छन् । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान उमेर घटाएर नयाँ नागरिकता लिएको उनले अदालतमा भनेका छन् । अभियोग स्वीकार गर्दै उनले भनेका छन्, ‘प्रहरीले बरामद गरेको दुवै नागरिकता मेरै हुन् । दुवै नागरिकता मैले नै लिएको हुँ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता प्राप्त गर्ने क्रममा सिर्जना गरिएका कागजात मैले किर्ते गरेको होइन ।’

अदालतका अनुसार उनले नक्कली कागजातका आधारमा दोस्रो नागरिकता लिन तीन लाख रुपैयाँ खर्च गरेका थिए । रकम पर्शुराम भनिने व्यक्तिलाई दिएका थिए । उनको पर्शुरामसँग २३ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भेट भएको थियो । तीन लाख रुपैयाँमा नक्कली नागरिकता बनाउने आश्वासन उनले पर्शुरामबाटै पाएका थिए । बुबा खोज्ने जिम्मा भने उनकै थियो । सोही क्रममा उनले चन्द्रागिरि नगरपालिका– १९ का गोविन्द नेपाललाई बुबा बनिदिन भनेका थिए । 

सहजै मानेपछि उनले गोविन्दलाई लिएर काठमाडौं महानगरपालिका– १० कार्यालय पुगेका थिए । पर्शुराम कार्यालयमै थिए । प्रशासनिक खर्च माग गरेपछि उनले पर्शुरामलाई ५० हजार रुपैयाँ सोही ठाउँमा दिएका थिए । बसाइँसराइको कागजात, जन्मदर्ता र शैक्षिक योग्यताका प्रमाणपत्र पर्शुरामले वडा कार्यालयमै तयार गरेका थिए । सोही कागजात पेस गरेपछि वडाध्यक्ष केसीले नागरिकता बनाउन सिफारिस गरेका थिए । ‘वडा नं. १० मा गएर कागजात बनाउन ५० हजार रुपैयाँ दिएका थियौँ । पर्शुरामले गोविन्द नेपालको छोरा नयन नेपालको हैसियतमा मेरो नागरिकता बनाउन चाहिने सिफारिससमेत अन्य सबै कागजात बनाई मलाई सिफारिसमा ल्याप्चे गर्न लगाई सोही दिन म, गोविन्द र पर्शुराम जिप्रका काठमाडौं गई कागजात पेस गरेको र अन्य सबै काम पर्शुरामले गरेको हो । गोविन्दले बाबुको हैसियतमा दस्तखत गराएपछि मैले नयन नेपालको नामबाट वंशजको नागरिकता प्राप्त गरेँ । नागरिकता प्राप्तिपछि पर्शुरामलाई बाँकी दुई लाख ५० हजार सोही दिन दिएँ,’ उनले अदालतमा भनेका छन् ।

काठमाडौं महानगरपालिका– १० का वडाध्यक्ष केसी भने नागरिकता बनाउन सिफारिस गर्ने क्रममा आफ्नो कुनै संलग्नता नभएको र दोषी पनि नभएको बताए । कागजात नक्कली र सक्कली छुट्याउने वैज्ञानिक प्रणाली नभएको हुँदा भूलवश नागरिकता बनाउन सिफारिस गर्न पुगेको उनको भनाइ छ । ‘नागरिकता बनाउन जन्मदर्ता, बसाइँसराइ, शैक्षिक योग्यता र बाबुको समेत नागरिकता प्रमाणपत्र लिएर मकहाँ आए । कागज हेर्दा उस्तै देखियो । सही नै होला भन्ने ठानेर मैले सिफारिस गरेँ । पछि बुझ्दा त उसले पेस गरेका सबै कागजात नक्कली रहेको खुल्यो । हामीकहाँ नक्कली र सक्कली कागजात खुट्याउने मेकानिजम छैन । त्यसो हुँदा भुलवश त्यस्तो हुनपुग्यो । यसमा मेरो कुनै दोष छैन,’ उनले भने ।

नक्कली कागजातका आधारमा नागरिकता बनाउने विनोदराजलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ । नक्कली बाबु बन्ने गोविन्द भने अझै फरार छन् । घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गरेको थियो । अनुसन्धानका क्रममा वडाध्यक्ष केसी पनि फरार थिए । उनी गत ९ जेठमा एकाएक जिल्ला अदालत काठमाडौंमा हाजिर भएका थिए । उनको सोही दिन थुनछेक बहस भयो । र, अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो । 

बहुविवाहबाट बच्न दोस्रो नागरिकता 
३३ वर्षीय विनोदराजले सपना श्रेष्ठसँग प्रेमविवाह गरेका थिए । विनोदराज अर्कै युवतीसँग लागेपछि दुईबीचको सम्बन्ध राम्रो भएन । विवादकै क्रममा विनोदराजले कविता हिङमाङ दोस्रो विवाह गरे । सपनाले ४ फागुन ०७८ मा जिल्ला अदालत काठमाडौमा बहुविवाहको मुद्दा हालिन् । पक्राउ पर्ने डरले विनोदराज लुकीलुकी हिँड्ने गर्थे । यही क्रममा उनको दिमागमा नयाँ परिचयसहितको नयाँ नागरिकता बनाउने जुक्ति फुर्‍यो । नयाँ नागरिकता बनाउँदा बहुविवाहको झमेलाबाट मुक्त हुने मात्र नभई अस्टे«लिया जाने सपना पनि उनले देखे । यसका लागि उनलाई बिचौलियाको आवश्यकता थियो । खोजी गर्न उनी पटक–पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंआसपासका चिया अड्डा धाए । यहीक्रममा उनले २३ साउन ०७९ मा जिप्रका काठमाडौंको ठीक पछाडिस्थित चिया अड्डामा पर्शुरामलाई भेटे । उनी नक्कली कागजातका आधारमा नागरिकता बनाइदिने धन्दा चलाउँथे । 

उनले पर्शुरामकै सहयोगमा नयाँ नागरिकता झिके । अब उनी विनोदराज शिवाबाट नयन नेपाल बने । नयाँ नागरिकताबाट दोस्रोपटक भएको विवाह दर्ता गरे । बैंकमा खाता खोले । उनकी जेठी श्रीमती सपनाले दर्ता गरेको मुद्दा अदालतमा चल्दै थियो । बयानका क्रममा उनलाई अदालतले बोलायो । त्यसवेला उनले जब आफू विनोदराज शिवा नभई नयन नेपाल भएको भन्दै कागजात पेस गरे । उनकी श्रीमती सपना छाँगाबाट खसेझैँ भइन् । त्यसलगत्तै सपनाले विनोदराजको नागरिकता अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिइन् । जब प्रहरीले अनुसन्धान गर्‍यो, नक्कली कागजातका आधारमा लिएको नागरिकताको रहस्य बल्ल खुल्यो ।